
हिजोमात्रै मध्यरातमा भारतीय वायुसेनाले पाकिस्तान नियन्त्रित कश्मीरसहित पाकिस्तानको जमिनमा सक्रिय लस्कर, हिजवुल्लाह र हमास संगठनका कार्यालय ध्वस्त पारेको जनाएको छ । अन्तर्राष्ट्रिय समुदायले समेत आतंकवादी घोषित गर्दै खोजिको सूचीमा राखेको अजहर मसुदको ठेगानामा भएको आक्रमणमा उनका परिवारका १४ जना हताहत भएको सार्वजनिक भएको छ । समाचार अनुसार पाकिस्तान स्थित आतंककारीहरूको अड्डा मानिएको नौ स्थानका त्यस्ता केन्द्रहरूमा भारतीय वायु सेनाले आक्रमण गरी ध्वस्त पारेको र १२० भन्दा बढीको मृत्यु भएको दाबी भारतीय पक्षको छ । विगत १५ दिनयता हरक्षण सबैका मनलाई अनिश्चयको गर्तमा धकेल्दै र मुटुलाई कम्पीत गर्दै कुनै पनि क्षणमा भारत र पाकिस्तानबीच युद्ध सुरु हुने जुन आशंका थियो त्यसको अन्त्य भएको छ र यो आकस्मिक कारबाहीसँगै दक्षिण एसियाको समग्र क्षेत्रलाई तरंगित गर्दै युद्ध सुरु भएको छ । २२ अप्रैलका दिन भारतको पहलगाममा आतंकवादी आक्रमणबाट वगेको निर्दोष मानिसहरूको आलो रगतको प्रत्युत्तर दिनै पर्ने भन्ने भारतीय सरकारको कठोर प्रतिक्रिया आइरहेको थियो ।
पर्यटकीयस्थल पहलगाममा परिवारसहित दृश्यावलोकन गर्न पुगेका निर्दोष मानिसहरूमाथि भएका आक्रमणको प्रायोजन पाकिस्तान समर्थक र पाकिस्तानद्ववारा तालिम प्राप्त आतंककारीहरूबाट भएको भारतीय पक्षको ठहर अतार्किक थिएन् । पाकिस्तानी सेनापति जनरल मुनिरले हिन्दु र मुसलमानबीचको अन्तरवारे दिएको अभिव्यक्तिको जगमा आतंककारी आक्रमण भएको तर्क कमजोर छैन । भारतले पहिलो चरणमा कूटनीतिक, दोस्रो चरणमा आर्थिक, तेस्रो चरणमा सामरिक कारबाहीको तयारी गरेको विषयलाई भारतीय सञ्चारमाध्यमले निरन्तर सार्वजनिक गरेका थिए । पाकिस्तानले पनि भारतका हरेक कदमको गतिलो जवाफ फर्काउने रणनीति बनाएको सार्वजनिक भइरहेको थियो । अन्तर्राष्ट्रिय समुदायलेसमेत भारत र पाकिस्तानबीच सम्भावित युद्धका हरेक पहलुलाई अध्ययन गरिरहेका थिए । दुवैतिरका सञ्चारमाध्यमहरू एकअर्काविरुद्ध गलत सूचना दिने, भयभीत गराउने, आफ्नो देशको सामथ्र्यलाई सविस्तार जानकारी दिने काममा अत्यधिक सक्रिय हुँदै थिए । दुवै सरकारहरूले सेनालाई सम्पूर्ण अधिकार प्रदान गरेपछि युद्ध निश्चित भएको अनुमान गरिएको हो ।
पाकिस्तानी प्रधानमन्त्रीले सेनालाई युद्धबारे सम्पूर्ण अधिकार प्रदान गरेको जानकारी आएको लगत्तै भारतीय सरकारका विभिन्न तहको बैठकपश्चात् युद्धका विषयमा कारबाहीको तरीका तय गर्ने, लक्ष्य निर्धारण गर्ने, समय तोक्ने सर्वाधिकार सेनालाई दिएको सार्वजनिक भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाका तीनवटै अंग जलसेना, वायुसेना र स्थल सेनाका प्रमुखहरूसमेत सम्मिलित सुपर क्याविनेट बैठकलगत्तै पाकिस्तानविरुद्ध युद्धका लागि सेनालाई अधिकार दिइएको भारतीय सञ्चारमाध्यमहरूले बताएका थिए । यसरी गत दुई हप्तायता भारत र पाकिस्तान आफ्नो सम्पूर्ण शक्तिकासाथ एकअर्कालाई पराजित गर्ने योजना बनाइरहेको देखिन्छ र अक दुवै देशका सेना आमने सामने हुनपुगेका छन् । अहिले इजरायलमा हमासको आतंकविरुद्ध इजरायलको कारबाहीमा परी हजारौं नागरिकहरूको ज्यान गइरहेको सुनिन्छ । हमासले बाह्र सय मानिसलाई हत्या गरेको र तीन सय भन्दा बढीलाई अपहरण गरेको वदला इजरायल लिइरहेको देखिन्छ । हमासकैशैलीमा पहलगाममा पनि आतंककारीहरूले निर्दोष पर्यटकमाथि आक्रमण गरेपछि अहिले इजरायलीशैलीमा नै भारतले पाकिस्तानभित्र रहेका हमास, हिज्वुल्लाह लस्कर, आदिका कार्यालय वा आवास भवन ध्वस्त पारेको छ र ठूलो संख्यामा आशंकित आतंकारीहरूको ज्यान गएको छ ।
पाकिस्तानले भारतीय आक्रमणमा मारिनेहरूको शवमा पाकिस्तानी झण्डाले सम्मान गरेको हुनाले भारतीय पक्षलाई थप प्रमाण मिलेको देखिन्छ । यतिखेर पाकिस्तानलाई कुनै पनि अन्तर्राष्ट्रिय समर्थन देखिएको छैन । पाकिस्तानका पक्षमा उभिने परम्परागत शक्ति अमेरिकाले हात झिकेको छ भने चीन दुई पक्षीय सम्वादको प्रस्ताव गरिरहेको छ । टर्की खुलेर पाकिस्तानका पक्षमा भए पनि अन्य खाडी राष्ट्रहरू, सिंगो युरोप र रुससमेत भारतका पक्षमा खुलेको अवस्था छ । यसको प्रत्यक्ष फाइदा भारतलाई हुने निश्चित छ । आशंकित आतंकारीहरू, उनीहरूका परिवारका सदस्य वा समर्थकहरूको शवलाई पाकिस्तानले राष्ट्रिय झण्डासहित सम्मान दिएपछि अन्तर्राष्ट्रिय समुदाय भारतका पक्षमा झन् मजबुतिकासाथ उभिनसक्ने हुन्छ ।
यसै पनि पाकिस्तानको हालत कमजोर छ । भारत र पाकिस्तान आणविक शक्ति सम्पन्न भएको हुनाले आणविक हतियार प्रयोग गर्ने धम्की पाकिस्तानी नेता र सैनिक नेतृत्वबाट आउने गरेको सुनिन्छ । तर पाकिस्तानको आर्थिक हालत अत्यन्त खराब छ । वैदेशिक ऋणले पाकिस्तान चुर्लुंम डुबेको भए पनि आर्थिक भ्रष्टाचार कहाली लाग्दो उचाइ चढ्दै छ । पाकिस्तानमा स्वतन्त्रताको समयदेखि नै बलुचिस्तानमा पृथक राज्य स्थापनाको संघर्ष निरन्तर छ । सीमान्त गान्धीका नामले परिचित अव्दुल गफुर खाँनको स्वतन्त्र पस्तुनको विचारको प्रभाव वलुचिस्तानमा समेत छ । बलुच स्वतन्त्र मुक्ति सेना सक्रिय छ र पाकिस्तानी एकता र अर्थतन्त्रका लागि निकै घातक सिद्ध हुँदै गएको छ । भारत शासित जम्मुकश्मीरबाट धारा ३७० को खारेजीको तरंगले पाकिस्तान शासित कश्मीरमा पनि छोएको छ । बलुचिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरलाई कमजोर कडीका रूपमा भारतले हेर्नसक्ने धेरैको अनुमान छ । सिन्ध नदी सम्झौता निलम्बन गर्दै यसका सहायक नदीहरूको पानीसमेत भारतले रोकेपछि पाकिस्तानमा करिब तीन करोड जनतालाई प्रत्यक्ष असर हुनलागेको छ ।
कृषिसहित पिउने पानीमा पर्ने असरका कारण पाकिस्तानी जनतासमेत वर्तमान शासनका विपक्षमा रहने अनुमान गलत लाग्दैन । ठीक यसका विपरीत सिंगो भारत पाकिस्तानविरुद्ध उकमत देखिएको छ । वर्तमान भारतीय प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीका अनेक कामहरूविरुद्ध सशक्त आवाज उठाउने ओविसीका नेतादेखि कंग्रेस पार्टीसमेत सरकारका पक्षमा गोलबद्ध भएको देखिन्छ । नौ स्थानमा भएको भारतीय सैनिक कारबाहीबारे सबैले एक मुखले सेनाको प्रशंसा गरेका छन् र सरकारका साथमा रहेको प्रतिक्रिया दिएका छन् । तर पाकिस्तानमा सेनाको नेतृत्वप्रति नै आक्रोश पोखिँदैछ नागरिकको । पाकिस्तानी सेनामा लामो समय काम गर्दा सैनिक प्रवक्ता भएका अधिकृतहरूसमेत सञ्चारमाध्यममा उभिएर पाकसैनिक नेतृत्वविरुद्ध आगो ओकलिरहेको सुनिन्छ । तैपनि पाकिस्तानी सेना कुनै पनि समयमा भारतीय कारबाहीको प्रत्युतर दिन तयार रहेको जनाइरहेको छ । अर्थात् उत्तरको अर्थ युद्धबाहेक केही पनि हुनसक्दैन ।
भारतले सैनिक अड्डा, सरकारी भवन, आमनागरिक क्षेत्र कतै पनि कारबाही गरेको भए सिधा युद्ध हुने थियो । तर भारत आतंकारीको अड्डामा सीमित रहेको हुनाले पास्तिानले दिने कठोर जवाफ युद्धबाहेक केही हुनसक्दैन । दक्षिण एसियामा सन् १९७१ पछि दुई देशका बीच यो अर्को दुर्दान्त युद्ध हुनसक्छ । भारत र पाकिस्तानबीच मात्रै यो युद्धको असर सीमित हुँदैन । नेपाल जस्ता छिमेकी देशहरूमा समेत असर पर्ने निश्चित छ । हाम्रो आग्रह छ : युद्ध लम्याउनु घातक हुनेछ । अर्थात् युद्ध समाधान होइन विनाशको कारण हो । नेपालको पहल यही सिद्धन्तमा आधारित हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच