
विदेशमा पैसा जम्मा गर्ने केही नेपालीहरू छन् । आफ्नो पसिनाको कमाइभन्दा पृथक रूपले आर्जन गरेको रकम विदेशी बैंकमा जम्मा गर्नेहरूबारे समय-समयमा चर्चा हुने गरेको छ । त्यस्तो सम्पत्ति फिर्ता ल्याउन नेपालको प्रयास हुने आश्वासन पर्याप्त हुने गर्दछ । तर अख्तियार अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईका अनुसार सरकार यसमा उत्साहित कहिल्यै देखिएको छैन । राई अख्तियारको नेतृत्वमा पुग्नु भएपछि धेरै कारबाहीहरू भएका छन् । सक्रिय छ उहाँको आयोग । तर भ्रष्टाचार गरेर विदेशमा जम्मा गरिएको सम्पत्ति फिर्ता गर्ने कुरामा सरकार नै उत्साहहीन भएपछि उहाँका प्रयासहरूको कुनै अर्थ सिद्ध हुँदैन । भ्रष्टाचार गर्दै विदेशमा सम्पत्ति जम्मा गर्ने को हुन् ? ती भाग्यमानी नेपालीहरूको कुनै अत्तोपत्तो छैन । अत्तोपत्तो हुनेहरू बताउन र चिनाउन चाहँदैनन् वा सक्दैनन् । नेपालको जनसंख्या पछिल्लो जनगणना अनुसार करिब तीन करोड रहेको छ ।
जनसंख्या वृद्धिदरलाई हेर्ने हो भने कुनै-कुनै समुदाय र कुनै स्थान विशेषबाहेक घट्दो क्रममा छ । यसैकारण विगत ०६८ को भन्दा पछिल्लो दश वर्षमा जनसंख्या वृद्धिदर सामान्य रहेको हुनसक्छ । तर यिनै तीन करोडभित्र अनेकथरी नागरिक छन् । पहराको फेदमा बसेर जीवनमृत्युको निरन्तर आहट सुनिरहनेहरू पनि तीन करोडभित्र छन्, नदी किनारमा बसोवास गर्दै अथवा कुनै भित्तो मुनि घर बनाउनेहरू वर्षाको त्राहीमाम् खेप्नेहरू पनि तीन करोडभित्र नै छन्, तराईका फाँटमा बस्दै गर्दा माथिबाट आउने भलबाढीले पुरिने भय पाल्ने र डुबान भोग्ने नेपालीहरू पनि तीन करोडभित्रै छन् । निरन्तर राति जून-तारा गन्नुपर्नेदेखि दिनमा घामको तीव्र प्रहार खेप्नुपर्ने नेपालीहरू पनि तीन करोडभित्रै पर्छन् । तीन करोडभित्र पर्ने नेपालीहरूको ठूलो संख्या यतिखेर खाडीको तातो घाममा पसिना चुहाइरहेको छ । कहिल्यै पनि अधिकतम चालीस डिग्री तातो नखेपेका करिब चालीस लाख नेपालीहरू खाडी राष्ट्रदेखि श्रम बजारका अन्य अनेक देशमा कार्यरत छन् र उनीहरू परिवारको सेवामात्रै गरिरहेका छैनन् रेमिट्यान्समार्फत देशको अर्थतन्त्रलाई धानी रहेका छन् । श्रम बजारमा पुगेका अनेक युवायुवतीहरूको घर भताभुंग हुने गरेको सुनिन्छ, देखिन्छ । तीन करोडभित्रका यी नेपालीहरूको भाग्यभित्र विदेशी बैंक सपनाको फल हुने गर्छ ।
अरू करिब दश लाख शिक्षित युवायुवती विदेशका कलेजमा पढ्ने, आधुनिक शिक्षा र सीपको उपयोग गर्दै दिनरात नभनी श्रम गरिरहेका छन् । तिनीहरूको योगदान देशभित्र र बाहिर समान छ । पहाडका कन्दरादेखि तराईका मैदानसम्म जीवन गुजार्न विवशहरूका लागि राजधानीका महल, करोडौंका गाडी अकल्पनीय छ । तर ठीक उल्टो गाउँका तिनै विपन्न, किसान, मजदुर र श्रमबजारमा पसिना चुहाउनेहरूको मत थापेर राजधानीको सत्तामा पुग्ने वा स्थानीयदेखि प्रदेश सत्तामा पुग्ने, अथवा सत्ताका वरिपरि गणेश परिक्रमा गर्दै जीवन चलाउनेहरूको शान, सौख, सुविधा, न्यूयोर्कका गगनचुम्बी टावरभन्दा अग्लो देखिन्छ । विपन्नताको आँकडा र राष्ट्रले लिएको ऋण हेर्दा कुनै पनि तहमा बस्ने नेपाली शासकहरूले दश बीस लाखको सवारीसाधनसमेत प्रयोग गर्ने हैसियत बनाउन सक्दैनन् । तर, रिक्सा चलाएर परिवार धान्ने समाजमा पाँच करोडबराबरका साना गाडीमा चढ्ने नायक नेतृत्व नेपालको छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद, सरकारी कर्मचारी,आयोग, विकास संस्थान, सुरक्षा निकाय, विश्वविद्यालय, सरकारी प्रतिष्ठान, न्यायालय सर्वत्रबाट विपन्नलाई उखु पेलेझै पेलेर चुहेको रसास्वादन गर्दै सुविधा र सम्पत्तिको समुद्र निर्माण हुने गरेको छ । यसरी सुविधा र सम्पत्तिको समुद्रमा पौडी खेल्नेहरू पनि तीन करोडभित्रैका नेपालीहरू हुन् ।
किन चाहियो करौंडौं मूल्य पर्ने गाडी ? विदेशबाट झिकाएर ल्याउनुपर्ने त्यस्ता गाडीको साटो स्वदेशमा नै वनेका साधन प्रयोग गर्ने हो भने कुनै दिन नेपालमा नै मूल्यवान् गाडीहरूको काराखाना खुल्दैन र ? तर अहिले नै चाहिएको सुविधा र सम्पत्ति । आफू प्रधानमन्त्री भएको समय डा.बाबुराम भट्टराईले नेपालमै फिटान गाडी चढ्न सुरु गर्नुभएको थियो । तर उहाँको कार्यकालमा सुगन्ध दिने कुनै काम हुनसकेन । अरू जस्तै दुर्गन्धको वाछिटा छरेर उहाँ पनि बिदा हुनुभएको इतिहासमा अंकित छ । जान्ने सुन्ने टाठाबाटाहरू यसरी निरन्तर सुविधा र सम्पत्तिकै पछि लाग्ने हो भने देश कसरी उँभो लाग्ने र जनता सन्तुष्ट हुने हो ? अनुमानभन्दा निकै परको विषय हो यो । विदेशको ऋण वा लगानीमा हुने ठूला आयोजनाहरूको कमिसन विदेशकै कुनै बैंकमा जम्मा गर्ने प्रचलन व्यापक छ । जसलाई कालो कमाई भन्ने गरिन्छ । कुनै विदेशी दाता वा ऋण खोजेर नेपालमा विकास आयोजनाको सोच बनाए पनि नेपाली राजनीतिक नेता र कर्मचारीतन्त्रलाई त्यो ऋण वा दानबाट समेत कमिसन नचढाएसम्म आयोजना सम्भव हुँदैन । विदेशी सरकार वा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट ऋण लिएर त्यही ऋणबाट कमिसन खाएको पछिल्लो उदाहरण भएका छन् पोखरा अन्तराष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ।
संसदीय छानविन समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अनुसन्धान प्रतिवेदनमा यस तथ्यलाई उल्लेख गरेको छ । विगतमा कतिपय विद्युत् आयोजनाहरूमा समेत अनेक यस्ता चलखेल भएका प्रशस्त उदाहरण छन् । निर्माण गर्ने हरेक आयोजनाहरूका पुराना कथा यसअतिरिक्त छैनन् । विदेशी ऋणमा समेत कमिसन खाने निकृष्ट नेतृत्व अन्त कता छ थाहा भएन तर नेपालको सन्दर्भमा शानकासाथ सवारी हुने, सडक र मञ्चमा देखिने, सभासमारोहमा नायक हुने अनुहारमा भने स्पष्ट देख्न सकिन्छ । कमिसन खोरको जालोले बन्दी भएका असल मानिसहरू पनि निरीह हुन्छन् । उनीहरूले गर्ने काम भनेको छेउमा अकस्मात् आइपुगेका मसीना कीरा फट्यांग्राको सिकारमात्रै हो ।
नेपालको सत्तामा बसेर अकूत आर्जन गरी अमेरिका, युरोप, अष्ट्रेलिया आदि पुगेकाहरूको भेउ पाउने कुनै संयन्त्र हामी कहाँ बनेको छैन । नेपालमै बसेका कर्मचारीतन्त्रका कतिपय अजिंगरहरू दिव्योपदेश दिदै अतिक्रान्तिकारितामा आफ्नो विगत छोप्न समर्थ भएको पत्ता लाउने संयन्त्र पनि नेपालमा बनिसकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईको कथन सही हो । तर उहाँले गर्नसक्नेभन्दा बढी उहाँबाट होस् भन्ने चाहना राख्नु गलत हुनेछ । जे गरिरहनु भएको छ त्यही नै पर्याप्त होला । विदेशको समुद्रमा पुगेका सार्क र हृवेलहरू राख्ने जलराशी नेपालमा अझै निर्मित छैन । तसर्थ अख्तियारले पनि भुरा माछामै सन्तोष लिनु उचित हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच