
नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ तत्काललाई स्थगित गरिएको छ । भारत र पाकिस्तानबीचको तनाव बढेपछि बिसिसीआईले यो निर्णय गरेको हो । बिसिसीआईले तत्काल एक साताका लागि खेल स्थगित गरिएको जनाएको छ । खेलको नयाँ तालिका र स्थान पछि सार्वजनिक गरिने पनि बीसीसीआईले जनाएको छ । बिसिसिआईका एक अधिकारीले पिटिआईसँग कुरा गर्दै भने, ‘देश युद्धको स्थितिमा हुँदा क्रिकेट खेलिनु राम्रो देखिँदैन । यही कारण देखाउँदै बोर्डले तत्कालका लागि आइपिएल रोकेको हो ।’
पाकिस्तानी आक्रमणका कारण बिहीबार पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि बीचमै रद्द गरिएको थियो । धर्मशाला रंगशाला तथा नजिकैका विमानस्थल बन्द भएपछि दुवै टोली शुक्रबार बिहान बिसिसिआईले उपलब्ध गराएको विशेष रेलबाट दिल्ली फर्किसकेका छन् । धर्मशालामा खेल चलिरहेकै बेला सुरक्षासम्बन्धी चेतावनी आएपछि बीच ओभरमै खेल रोकिएको हो । मिडिया रिपोर्टहरूका अनुसार दुई देशबीचको तनाव चर्किँदै जाँदा आइपिएल खेलिरहेका विदेशी खेलाडी त्रसित छन् । केही खेलाडीले स्वदेश फर्कनका लागि अपिलसमेत गरेका थिए ।
आइपिएलमा हाल ५८ खेल भएका छन् । जसमा धर्मशालामा रद्द गरिएको खेल पनि समावेश छ । अब लिग चरणका १२ खेल बाँकी छन् । प्रतियोगिताको लिग चरणमा गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पञ्जाव, दिल्ली, लखनउ सुपर जायन्ट्स, सनराइजर्स हैदराबादले समान तीन तथा मुम्बई इन्डियन्स, कोलकाता नाइट्स राइडर्स, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सले समान दुई खेल खेल्न बाँकी छ ।
प्रतियोगितामा गुजरात र बेङ्लुरु समान १६ अंकका साथ शीर्ष दुईमा थिए । पञ्जाव तेस्रो, मुम्बई चौथो, दिल्ली पाँचौं कोलकाता छैटौं र लखनउ सातौं स्थानमा थिए । चेन्नई सुपर किंग्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद भने प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।
क्रिकेट अष्ट्रेलियाले स्थगन समाचारअघि शुक्रबार एक वक्तव्यमा भनेको छ, ‘हामी पाकिस्तान र भारतमा स्थितिको नजिकबाट निगरानी गरिरहेका छौँ... र हाल क्षेत्रमा रहेका हाम्रा खेलाडी र सहयोगी कर्मचारीहरूसँग सञ्चार कायम गरिरहेका छौँ ।’ भारत र पाकिस्तानले सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि काश्मीरमाथि आफ्ना तीन पूर्ण युद्धमध्ये दुई लडेका छन् । काश्मीर एक विवादित क्षेत्र हो । काश्मीरमाथि दुवै देशले पूर्ण दाबी गर्छन् तर छुट्टाछुट्टै भागहरू प्रशासन गर्दछन् ।
पाकिस्तान सुपर लिग यूएईमा सारियो
भारत र पाकिस्तानबीचको युद्धको कारण पाकिस्तान सुपर लिग (पीएसएल) यूएईमा हुने भएको छ । पीएसएलले लिगका बाँकी आठ खेलको तालिका र स्थान केही समयपछि सार्वजनिक गर्ने बताएको छ । बिहीबारका लागि रावल पिन्डी स्टेडियममा तय भएको कराँची किंग्स र पेशावर जाल्मीबीचको खेल आकस्मिक बैठक बसेर नयाँ मितिमा गर्ने बताइएको थियो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नक्भीले पीएसएल यूएईमा सार्ने बताउनुभएको हो । यूएईमा कुन खेल कहाँ गराउने भन्ने तयारी भइरहेकाले लिग सुरु हुन केही समय लाग्ने जनाइएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच