
काठमाडौं । प्रेस युनियन नेपालले पहिलोपटक लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको आयोजना गर्ने भएको छ । समिटबारे जानकारी दिन शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष शिव लम्सालले नागरिक समृद्धि र समृद्ध नेपालका लागि बहुआयामिक परिवर्तन र समाज रूपान्तरणमा योगदान दिनु समिटको उद्देश्य भएको बताउनुभएको हो । समिट वैशाख २७ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि पोखरा हुँदै मुस्ताङसम्म सञ्चालन हुनेछ ।
उहाँले समिटमा विश्वको बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नुपरेका समस्या र दक्षिण एसियामा पत्रकारिताको प्रभावबारे विभिन्न ६ मुलुकका विषयविज्ञहरूको प्रस्तुति रहने जानकारी दिनुभयो ।
समिटमा ‘जलवायु संकट र पत्रकारिता’, ‘एआई र न्यु मिडिया इन साउथ एसिया’ तथा ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा छलफल हुने अध्यक्ष लम्सालले जानकारी दिनुभयो । साथै मुस्ताङको आमसोममा स्थानीयवासीको सहभागितामा ‘जलवायु संकटमा मिडियाको भूमिका’ बारे अन्तरक्रिया हुने अध्यक्ष लम्सालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको इतिहासमा पहिलोपटक लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ । नागरिक समृृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाज रूपान्तरणमा केही योगदान पु¥याउन सकिन्छ भन्ने हेतुले नेपाल प्रेस युनियनले यो समिट आयोजना गर्न लागेको हो ।’
आज(शनिबार) ललितपुरको होटल हिमालयमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले समिटको औपचारिक उद्घाटन गर्नुहुनेछ भने उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न मुलुकका पत्रकारहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि राजनीतिक दल, नागरिक समाज लोकतन्त्र र पत्रकारिता को कति नजिक को कति टाढा भन्ने विषयमा प्रस्तुति तथा छलफल हुनेछ । विदेशी पत्रकारसहित करिब १५० जना पत्रकार सहभागी हुने बताइएको छ । उहाँले लोमान्थाङ घोषणा–पत्र जारी गर्दै कार्यक्रम समापन गरिने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच