
‘प्रसाद र प्रसन्नता’ कवितासङ्ग्रह प्रा.पीताम्बर शर्मा दाहालको कृति हो । दाहाल त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक हुनुहुन्छ । नेपालीका प्राध्यापक हुनुहुन्छ भने लेखनमा छन्दका कवितामा उहाँको दक्षता छ । उहाँको यो पुस्तक साहित्य पोष्टले प्रकाशन गरेको छ । सर्वाधिकार कवि स्वयम्मा रहेको यो कृति पहिलो संस्करण हो जो २०८० सालमा प्रकाशित भएको छ । पुस्तकमा पहेँलो हलुका कागजको प्रयोग भएको छ । छपाइ स्तरीय छ र अशुद्धि भए पनि कमै पाइन्छन् । पुस्तकमा भूमिका खण्ड र पाठ्यखण्डमा समेत गरी जम्मा १८८ पृष्ठ छन् र पुस्तकको मूल्य ३५० रुपैयाँ छ । आवरण साहित्य पोष्टका राज सिटौलाले तयार पार्नुभएको छ ।
मानव जीवनका हर्ष, विस्मात, दुःख, पीडाजस्ता भाव यहाँका कविताले समेटेका छन् भने मानिसमा अन्तरनिहित संवेग कवितामा समेटिएका छन् । मानव समाजमा निहित गुनासा, पीडा, आक्रोश र मर्यादालगायत भाव केही कवितामा समेटिएका छन् भने केही कविताले प्रकृति चित्रण गरेका छन् ।
आवरण आकर्षक छ, बीचमा रातो रङको गोलाइभित्र कविको हिँडिरहेको फोटो राखिएको छ । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक ‘प्रसाद र प्रसन्नता’ दिइएको छ भने तल साना अक्षरमा कवि दाहालको नाम दिइएको छ । आवरणको भित्रपट्टि कविको पारिवारिक फोटो राखिएको छ । पृष्ठ आवरणमा पनि फोटोसहित कविको चिनारी, उहाँबारे केही भनाइ, तल प्रकाशक संस्था साहित्य पोष्टको लागोसहित नाम छ । पृष्ठ आवरणको भित्रपट्टि पनि कविका छोरा, बुहारी र श्रीमतीसहितको फोटो राखिएको छ । यसैगरी भूमिकाखण्डमा उहाँका केही पारिवारिक फोटा राखिएका छन् र प्रकाशक संस्था साहित्य पोष्टको प्रकाशकीय ‘साहित्य पोष्टको अहो भाग्य’ शीर्षकमा राखिएको छ ।
यही खण्डमा कविका केही कुराहरू ‘आफ्नै कुरा’ शीर्षकमा आएका छन् । त्यसपछि विषयसूची छ । पुस्तकमा कविताहरू प्रस्तुत भइसकेपछि अन्तिममा कविको व्यक्तिगत चिनारी छ ‘स्रष्टा परिचय’ शीर्षकमा । पुस्तकमा ७५ वटा कविता समेटिएका छन् । शीर्षकका आधारमा यहाँका कवितामा वैविध्य छ । शीर्षकको आकारमा पनि वैविध्य पाइन्छ भने कविताको आकारका आधारमा पनि समानता छैन । शीर्षक छोटा एक शब्दकादेखि धेरै लामा सात शब्दसम्मका छन् । कविताको फैलावटका आधारमा हेर्दा एक पृष्ठका छोटा कवितादेखि ११ पृष्ठ र ६१ श्लोकसम्मको फैलावट भएका लघुकाव्य समेटिएका छन् । विषयवस्तुका आधारमा यस पुस्तकका कविताहरूमा विविधता पाइन्छ ।
मानव जीवनका हर्ष, विस्मात, दुःख, पीडा जस्ता भाव कविताहरूले समेटेका छन् भने मानिसमा अन्तरनिहित संवेगहरू पनि कवितामा समेटिएका छन् । मानव समाजमा निहित गुनासा पीडा आक्रोश मर्यादालगायत भाव केही कवितामा समेटिएका छन् भने केही कविताहरूले प्रकृति चित्रण गरेका छन् । कवि राजनीतिक चेतनालेयुक्त व्यक्ति भएका कारण केही कविताहरूमा राजनीतिक विचार अन्तरनिहित भएको पाइन्छ । चाडपर्व संस्कार संस्कृतिका विषयमा लेखिएका कविता यस सङ्ग्रहमा छन् साथै अग्रजहरूप्रतिको मानमर्यादा दर्शाएका कविता छन् । साथै आफ्नो वार्धक्य, अनुज पुस्ताहरूप्रतिको आशिर्वाद, शुभकामना र प्रेम पनि यहाँका केही कविताहरूले झल्काएका छन् ।
साथै उत्प्रेरणा, जागरण र क्रान्तिचेतका कविताहरूले पनि यहाँ स्थान पाएका छन् । कतिपय कविताहरू राष्ट्रियताको भाव संप्रेषण गर्ने खालका छन् । पुरातात्विक महत्वका स्थान र वस्तुहरूको महिमागान गरेर लेखिएका केही कविता यहाँ छन् । यस कृतिका लागि कवि दाहाललाई हार्दिक बधाई तथा पुस्तकको सफलताका लागि शुभकामना । प्रा.दाहालको सेवानिवृत्त जीवन अझै ऊर्जाका साथ सक्रिय बनोस्, यसका लागि उमेर तगारो नबनोस्, उहाँबाट यस्ता अन्य पुस्तक आइरहून्, यसका लागि उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच