
‘वडक्कम’ सुरुमा नौलो शब्द लाग्यो । तमिल भाषामा नमस्कारलाई ‘वडक्कम’ भनिँदोरहेछ । अर्थ बुझेपछि आफू पनि के कम ! दुई हात जोडी नमस्कारसूचक ‘वडक्कम’ भन्न थालियो । यो रैथाने होइन भन्ने थाहा पाएर पनि ‘वडक्कम’ सुनेपछि दंग नपर्ने बिरलै हुँदारहेछन् । लाममा, जाममा, कुनै पनि ठाममा ठूल्ठूला बहसले गर्न नसक्ने काम यही एउटा ‘वडक्कम’ ले सजिलै गर्नसक्दोरहेछ, उदाहरण अनेक देखिए । हामी ‘ट्रिची’ पनि भनिने ‘तिरुचिरापल्ली’ बाट काञ्चीपुरमको यात्रामा थियौं । ‘तामवरम’ जाने बस रहेछ । सोझै काञ्चीपुरम पुग्ने बसमा चढ्न निकै बेर कुर्नुपर्ने भएकाले यसैमा सवार हुनु बुद्धिमानी ठानियो ।
झण्डै साढे छ घण्टापछि हामीलाई ‘छेगलपट्टु’ मा झारी बस तामवरमतिर कुद्यो । अलिबेरमै आएको सिटीबसमा चढी हामी आधाघण्टा जतिमा काञ्चीपुरम पुग्यौं । काञ्चीपुरम भन्नासाथ अरू कतिका मनमा के के भावस्फुरण हुँदाहुन् तर आफ्नो सम्पर्कमा भएजति सबैले चाहिँ ‘साडी’ नै उच्चारण गरेका थिए । ‘एउटा साडी मलाई नि सम्झनुहोला’ भन्ने पनि थिए नै । यहाँको साडी प्रसिद्ध भएकाले काञ्चीपुरम भन्नासाथ सबैको पहिलो नजर त्यतै पुग्दोरहेछ । काञ्चीपुरमलाई स्थानीयहरू काञ्जीवरम भन्दारहेछन् । काञ्चीपुरममा साडी किन्नु भनेको उही ‘दिल्लीको लड्डु’ उखान जस्तै रहेछ । भन्छन् नि, दिल्लीको लड्डु जसले खान्छ, पछुताउँछ, जसले खाँदैन, ऊ पनि पछुताउँछ । काञ्चीपुरम साडी पनि त्यस्तै, सस्तोदेखि महँगोसम्म छ्यासछ्यासती पाइने तर पारखीबाहेक सक्कली, नक्कली छुट्याउने ल्याकत हामीजस्ता बबुरामा कहाँ हुनु !
काञ्चीको अर्थ ब्रहृमा र पुरमको अर्थ स्थानका आधारमा ब्रहृमाको थलोलाई ‘काञ्चीपुरम’ भनिएको रहेछ । छोटकरीमा काञ्ची पनि भन्दारहेछन् । काञ्ची, काञ्ची भनिएको सुन्दा हामीलाई चाहिँ कान्छी, कान्छी भन्या’ जस्तो लाग्दोरहेछ । धार्मिकजनका लागि काञ्चीपुरम ज्यादै महत्वको ठाउँ रहेछ ।
साथमा धर्मपत्नी पनि थिइन् । यहाँसम्म आइसकेपछि, अरूलाई नभने पनि एक, दुइटा साडी त लानैपर्छ नि भन्ने निधो भयो र राम्रै दुकानमा छिरियो । सामान्य त सामान्य भए, परम्परागत काञ्जीवरम साडीको त झन् कुरै नगर्नु, सुन र चाँदीका तार नजडी तयारै नहुने भएपछि यसको मोलतोल गरिरहनुपर्ने आवश्यकतै ठानिएन । झट्ट सुन्दा ‘काञ्चीपुरम’ साडीको संसार प्रतीत भए तापनि यसको मुख्यरूप बेग्लै भव्य, सभ्य र नव्य रहेछ । सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक आदि दृष्टिमा त झन् अद्भुत नगरी पो रहेछ यो काञ्चीपुरम । पौराणिककालमै पनि यसको महाप्रसिद्धि रहेछ । तब त भोग तथा मोक्ष दायक मानिने काशी, मथुरा, द्वारका, अयोध्या, हरिद्वार (माया), उज्जैन (अवन्तिका) को सप्तपुरी लहरमा काञ्चीपुरमको नाम पनि रहेको छ ।
काञ्चीको अर्थ ब्रहृमा र पुरमको अर्थ स्थानका आधारमा ब्रहृमाको थलोलाई ‘काञ्चीपुरम’ भनिएको रहेछ । छोटकरीमा काञ्ची पनि भन्दारहेछन् । काञ्ची-काञ्ची भनिएको सुन्दा हामीलाई चाहिँ कान्छी, कान्छी भन्या’ जस्तो लाग्दोरहेछ । धार्मिकजनका लागि काञ्चीपुरम ज्यादै महत्वको ठाउँ रहेछ । वैष्णव तथा शैव दुवैथरीका लागि ठूलो तीर्थस्थल रहेको दृष्टान्त यसको पुरातन नाम ‘हरिहरात्मक पुरी’ रहनुले पनि जनाएको छ । शिवकाञ्ची र विष्णुकाञ्ची गरी दुई भागमा बाँडिएको रहेछ काञ्चीपुरम ।
‘कामाक्षी अम्मन मन्दिर’ नजिकै दुई रातका लागि हामीले डेरा जमाएका थियौं । मदुरैको मीनाक्षी, काशीको विशालाक्षी र काञ्चीपुरमको कामाक्षी अर्थात् पार्वतीको मन्दिर बेग्लै महत्वका रहेछन् । यहाँ सतीदेवीको नाइटो पतन भएको थियो रे । आदिशङ्कराचार्यले देवी आराधना गरी प्रचारमा ल्याएको र यहीं बसी ‘सौन्दर्यलहरी’ को रचना गरेको कुरोले अक्षर खेलाउने म जस्ता मनुवालाई झन् उत्सुकता बढाउने नै भयो ।
‘दक्षिणको काशी’ भनिने काञ्चीपुरमलाई ‘हजार मन्दिरको स्वर्णिम नगरी’ पनि भनिँदोरहेछ । कतिपय मन्दिर त रहस्यमयी पनि रहेछन् ।
सुन्दै अनौठो लाग्ने ठाउँ पुग्न मन कुतकुतिइहाल्यो र भोलिपल्ट बिहानै लागियो ‘वरदराज पेरुमल मन्दिर’ तर्फ । यो विष्णुको मन्दिर अचम्मकै रहेछ । यहाँ एउटा पोखरी रहेछ, ‘अनन्त सरोवर’ । यही सरोवरभित्र भगवान् विष्णुको मूर्ति रहेछ । हरेक ४० वर्षमा बाहिर निकाली विशेष उत्सव मनाइएपछि मूर्ति फेरि त्यही सरोवरभित्रै राखिंदोरहेछ । त्यहाँ देवगुरु वृहस्पतिले पूजा गर्छन् रे । अन्जिरको काठको झण्डै नौफिटे यो मूर्ति ब्रहृमाको अनुरोधमा विश्वकर्माले बनाएको कथन पनि सुनियो । काठको मूर्ति त्यत्रा वर्ष पानीमा डुबिरहँदा पनि केही नहुनु रहस्यकै कुरो लाग्यो ।
पेरुमल अर्थात् विष्णुको यो मन्दिर स्थापनासम्बन्धी कुरो झनै रोचक रहेछ । रिसाएर यहाँ आएकी सरस्वतीलाई फकाउन नसकी ब्रहृमाले भगवान् विष्णु पुकार्दा उनले वरदराजका रूपमा आई घरझगडा मिलाइदिएका रहेछन् । त्यसपछि प्रसन्न ब्रहृमाले मूर्ति बनाउन लगाएका हुन् रे । सोह्रौं शताब्दीसम्म त गर्भगृहमै थियो रे यो मूर्ति । मुसलमानको हमलाबाट जोगाउन सरोवरमा लुकाइएको रहेछ । कालान्तरमा, मूर्ति भेटिई गर्भगृहमा राखिएछ तर ४८ दिनमै फेरि सरोवरमै पुग्यो रे । अनि, मान्छेले ईश्वरको इच्छा शिरोपर गरी प्रत्येक ४० वर्षमा बाहिर निकाली उत्सव मनाउने चलन चलाएछन् । अब सन् २०५९ मा मूर्ति निकाली उत्सव मनाइने पनि थाहा लाग्यो ।
विशिष्टाद्वेत वेदान्तका प्रवर्तक तथा श्रीवैष्णव सम्प्रदायका आचार्य श्रीरामानुजाचार्यले सेवा र साधना गरेको वरदराज पेरुमल मन्दिरमै एउटा अर्को अनौठो कुरो पनि देखियो । त्यो हो–छेपारोको पूजा । मन्दिरमा विष्णुलगायत विभिन्न देवी, देवताका मूर्ति त छँदैछन्, छेपारोको प्रतिमा पनि रहेछ ।
विशिष्टाद्वेत वेदान्तका प्रवर्तक तथा श्रीवैष्णव सम्प्रदायका आचार्य श्रीरामानुजाचार्यले सेवा र साधना गरेको वरदराज पेरुमल मन्दिरमै एउटा अर्को अनौठो कुरो पनि देखियो । त्यो हो-छेपारोको पूजा । मन्दिरमा विष्णुलगायत विभिन्न देवी, देवताका मूर्ति त छँदैछन्, छेपारोको प्रतिमा पनि रहेछ । मन्दिरको सिलिङमा झुन्ड्याइएको यो सुनको छेपारो छोइए वा पूजा गरिए मनोकामना पूरा हुने, पापमुक्त होइने भनाइले होला, अर्कालाई पालै नदिई त्यही झुम्मिइरहने पनि हुँदारहेछन् ।
गाई, गोरु, सर्प, काग, कुकुर आदि त पुज्दै आएका हौँ, छेपारो पुजिएको चाहिँ थाहा थिएन । तिलकधारी पण्डितजीले अप्ठ्यारो नमानी सुनाए अनुसार ग्वालाहरूले इनारमा देखेको ज्यादै ठूलो छेपारोलाई कृष्णले उद्धार गरेका रहेछन् । कृष्णले छुनासाथ मानिसको रूप धरी उसले आफूलाई राजा बताउँदै ब्राहृमणको श्रापले गर्दा छेपारो बन्नुपरेको व्यथा सुनाएछन् । त्यसैको स्मृतिस्वरूप यहाँ छेपारोको मूर्ति राखिएको हो रे ।
‘एकाम्बरेश्वर’ जाने हुटहुटी पनि कम रहेन । सुनेदेखि त्यता कहिले पुगिएला भन्ने लागिरहेको थियो । त्यसको कारण पनि फरक विशेषता नै हो । यहाँ शिवको विशाल अग्लो मन्दिर रहेछ । मन्दिरको पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व त आफ्नो ठाउँमा छँदैछ । मन्दिरको हाताभित्र रहेको एउटा आँपको रुख आकर्षणको केन्द्रबिन्दु रहेकोे पाइयो । भनिन्छ, पैंतीस सय वर्षभन्दा पुरानो रूख हो यो । यसमा हाँगैपिच्छे फरक रङ, रूप र स्वादका आँप फल्दारहेछन् । उहिले यही रुखमुनि तपस्या गरी पार्वतीले शिवलाई प्रसन्न तुल्याएकीले यस्तो हुनपुगेको भन्ने पनि भेटिए । कुरोको चुरो त खोइ के हो ? खोतल्न सकिएन, तर वानस्पतिक वैज्ञानिकताकै सन्दर्भमा हेर्दा पनि उतिबेलै यस्तो मगज रहनुलाई मान्नैपर्छ, भन्ने लाग्यो ।
‘विन भोजन, भजन न होई गोपाला’ भनेजस्तै खाली पेट कति डुलिरहनु, पेटपूजा पनि त गर्नुपर्यो नि । काञ्चीपुरममा रसम, पायसम, डोसा, साम्भर, गुलियो पोन्गल जहाँ पनि पाइन्छन्, इडली र बडा (बारा) त झन् नहुने कुरै भएन । वरदराज पेरुमल मन्दिरमा समेत चढाइने ‘कोविल इडली’ को कुरै बेग्लै ! मेदु बडा र पटानी सुन्डल खोज्दै हिँड्ने पनि बगे्रल्ती भेटिए । घुम्दाघुम्दा शरीर थाके पनि ‘कैलाशनाथ’ त पुग्नैपर्ने ठानियो र ‘अटो रिक्सा’ समाती गन्तव्यस्थलतिर लागियो । तमिल द्राविड स्थापत्यकलामा रुचि राख्नेका लागि यो अद्वितीय मन्दिर रहेछ तर जुन किसिमले मूर्तिहरू खिइँदै गइरहेका छन्, त्यो हेर्दा हाम्रा पनाति, खनातिका पालासम्म यसको अस्तित्व रहिरहनेमा शङ्कै रहृयो ।
कुनै जमानामा शिक्षाको केन्द्र रहेको ‘काञ्चीपुरम’ मा चोल र पल्लववंशी राजा, महाराजाले बनाएका र जीर्णोद्धार गरेका यस्ता कैयन् सम्पदा रहेछन्, केही दिने बसाइमा सबैतिर पुग्न के सम्भव ! थकथकिएको मनलाई नयाँ यात्राको मेसोले चकचकाइयो । सोझै तिरुपति जाने कि चेन्नई भएर जाने कुरामा चाहिँ थोरै बेर मथिङ्गल चलाइयो । सिधै जाँदा पाँच, छ घण्टामै तिरुपति पुगिने भए तापनि नजिकै रहेको चेन्नई छाड्न मन भएन । फेरि, कहिले यता आइएला, नआइएला ! कुनै बेला ‘मद्रास’ कहलिएको चेन्नईमा अर्थोक नभए पनि संसारकै लामो मानिने ‘मरिना बीच’ त हेर्न पाइनेछ, भन्ने लाग्यो । सबैभन्दा ठूलो कुरो मनमा लाग्नुरहेछ, जसै लाग्यो, तन पनि सुरिइहाल्यो । अनि, काञ्चीपुरमलाई हृदयदेखि ‘वडक्कम’ गर्दै चेन्नईका लागि दुईघन्टे बसयात्रामा आसन जमाइयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच