
पञ्चाङ्ग साधनमा अनेक सिद्धान्त र पद्धति प्रचलित पाइन्छन् । देश काल र परिस्थितिले पनि पञ्चाङ्मा प्रभाव पार्ने गरेको पाइन्छ । यसका साथै गणना विधि र प्रक्रियाका हिसाबले पनि विभिन पद्धति प्रचलनामा रहेका छन् । हिजोको समय कम्प्युटरजस्ता चाँडो गणना गर्ने पद्धति थिएनन् । यसैले ज्योतिषीय परिगणनामा सारिणी, तन्त्र एवं करण पद्धति प्रचलनमा रहे । ती पद्धतिले केही क्षेपक पनि दिँदै गएका पाइन्छन् । सिद्धान्त भनेको मूल हो । जसमा त्रुटिदेखि प्रलय सम्मको गणना प्रक्रिया र पद्धतिको उपपत्तिसहित उपस्थापन गरिएको हुन्छ ।
सारिणीमा तिनै सिद्धान्तलाई आधार मानी निश्चित कालखण्डसम्म गणना गर्ने छोटा विधि राखिएको हुन्छ जसबाट सहजतः पञ्चाङ्ग वा पात्रो तयार गर्न सकिन्छ । नेपालमा पनि विसं २०६४ पूर्व यस्तै पद्धतिको प्रयोग हुने गर्दथ्यो । सिद्धान्त सारिणीबाट पञ्चाङ्ग गणना गरिन्थ्यो । सौरपरम्पराको मकरन्दसारिणीबाट अझै कतिपयस्थानमा पञ्चाङ्ग बनिरहेका छन् । जुन हाते गणना प्रक्रियाका लागि सहज हुन् । सूक्ष्म गणना नभए पनि व्यवहारका दृष्टिले विना कम्प्युटर सजिला प्रक्रिया हुन् ।
पञ्चाङ्ग गणनाका मूल पाँच सिद्धान्त प्रसिद्ध छन् । सूर्यसिद्धान्त, पितामह (ब्राहृम) सिद्धान्त, वसिष्ठ सिद्धान्त, रोमक सिद्धान्त र पौलिश सिद्धान्त । यस अतिरिक्त सोमसिद्धान्त, आर्यसिद्धान्त पनि पाइन्छन् । जसमध्ये सूर्यसिद्धान्त र पितामह (ब्राहृम) सिद्धान्तको प्रयोग अधिक भएको पाइन्छ । अन्य सिद्धान्तबाट पञ्चाङ्ग गणना न्यून भएको पाइन्छ ।
तन्त्र युगादिबाट गणना गरी पञ्चाङ्ग तयार गरिने पद्धति हुन् । कलियुगको आरम्भबाट सूर्यसिद्धान्तीय गणना गर्ने पद्धति निकै प्रचलित पाइन्छ । जसमा सिद्धान्तः वा सृष्ट्यादितः गणनाको हाराहारीमा प्राप्त हुन्छ । युगको गणना पनि लामो पद्धति हुने, निकै गणितका प्रक्रिया पार गर्नुपर्ने भएकाले पञ्चाङ्ग साधनमा सरल विधिको खोज हुँदै गयो । यसै सन्दर्भमा अनेक करण ग्रन्थ प्रतिपादन भए । कुनै निश्चित् संवतलाई आधार मानी उक्त संवपत्पूर्वका ग्रह गणना गरी क्षेपक राख्ने, सटिकताका निम्ति निश्चित वर्षका ध्रुवक दिने र उक्त वर्षबाट आगमी वर्षको गणनामा दैनिक गतिलाई ध्रवकले गुणा गरी क्षेपक जोड्ने छोटा प्रक्रिया करणअन्तर्गत हुने गर्दछन् । जसमा ज्याचापको गणित पनि गर्नु नपर्ने भएकाले निकै प्रयोगयोग्य रहेका पाइन्छन् । जसको परम्परामा भास्कराचार्यको करण कुतूहल, शतानन्दको भास्वती, गणेशदैवज्ञको ग्रहलाघवं करणम्, केतकरको केतकी ग्रहगणितम्, गोविन्दगणकाको सर्वानन्दकरणम् आदि पाइन्छन् ।
पञ्चाङ्ग गणनाका मूल पाँच सिद्धान्त प्रसिद्ध छन् । सूर्यसिद्धान्त, पितामह (ब्राहृम) सिद्धान्त, वसिष्ठ सिद्धान्त, रोमक सिद्धान्त र पौलिश सिद्धान्त । यस अतिरिक्त सोमसिद्धान्त, आर्यसिद्धान्त पनि पाइन्छन् । जसमध्ये सूर्यसिद्धान्त र पितामह (ब्राहृम) सिद्धान्तको प्रयोग अधिक भएको पाइन्छ । अन्य सिद्धान्तबाट पञ्चाङ्ग गणना न्यून भएको पाइन्छ । सर्वप्राचीन सिद्धान्त सौरोक्त सूर्यसिद्धान्त भएकाले यसमै आधारित भएर हाम्रा सनातन पद्धति प्रचलनमा रहेका छन् । सिद्धान्त तत्वविवेककारले पनि यही सर्वप्राचीन पद्धति भएकाले भाष्कराचार्य (ब्रहृमसिद्धान्त)का विषयमा खण्डन राखेर सूर्यसिद्धान्तको मण्डन गरेका हुन् ।
अधिकतम रूपमा सौर पद्धतिलाई नै मान्ने हाम्रो दीर्घ परम्पार पाइन्छ । धर्मशास्त्रका ग्रन्थ पनि यसै पद्धतिमा आधारित छन् । ब्रहृमसिद्धान्तले पनि खासै त्यस्तो मतभेद राखेको पाइँदैन । सौरोक्त मूल विषयलाई नै पुष्टि गरेको पाइन्छ । क्षयकार्तिकादित्र..अर्थात् क्षय कार्तिकादि मंसिर, पुस र माघमा हुनसक्छ भन्ने मतलाई ब्रहृमसिद्धान्तवादीले पनि स्वीकारेका छन् । जसको समीक्षा कमलाकर भट्टले गरे पनि मूलमा सौरोक्त पद्धतिलाई नै पक्षपोषण गरेको पाइन्छ ।
कतियका मतामा सूर्यसिद्धान्त अब निष्क्रिय भएको र गणना दृग्योग्य नभएको भन्ने मत पनि पाइन्छ । समय अनुसार परिमार्जन गर्ने अर्थात् बीजसंस्कार दिने परम्परा सौरोक्त नै हो । बीजोपनयनाध्यायलाई सूर्यसिद्धान्तबाट अलग गरेर कुनै कालखण्डमा प्रकाशित गरिएका पुस्तकको अध्ययनले यस्तो भाष्य तयार भएको हो । मूलतः सूर्यसिद्धान्तमा पनि बीजसंस्कार दिन सकिन्छ । यही मान्यतालाई अङ्गिकार गरी मकरन्दकारले मकरन्द सारिणी तयार गरेका हुन् । मकरन्द विवरणमा सोको उल्लेख छ । यही कुरालाई इतिहासका अध्येता शङ्कर बालकृष्ण दीक्षितले पनि पुष्टि गरेका छन् । आजसम्म नेपालमा भएका सूर्यसिद्धान्तीय गणना पनि यही बीजोक्त हुन् । समयअनुसार थप बीजसंस्कार पनि दिन सकिने शास्त्रीय आधार पाइन्छन् । शास्त्रीय मूल सिद्धान्तलाई पाखा लगाएर अन्य पद्धति अपनाउनु अझ भनौँ सिद्धान्तलाई छोडेर पौरस्त्य सिद्धान्त भिन्न करणग्रन्थका आधारमा गणना गरिनु श्रेयष्कर देखिँदैन ।
केतकी सिद्धान्त होइन करणग्रन्थ हो किनकि यसले कुनै निश्चित समयको गणनालाई मात्र प्रतिनिधित्व गर्दछ, कल्पोक्त विषयवस्तुलाई समेट्न सक्दैन । जुन एक एकालिक वा कुनै निश्चित समयका लागि मात्र दृग्योग्य रहेको करण ग्रन्थ हो । केतकीग्रहगणितले पौरस्त्य सिद्धान्तलाई अङ्गिकार गर्दैन । फ्रान्सेली अल्मानकका आधारमा निर्माण गरिएको ग्रन्थ भएकाले यसमा कल्पोक्त विषयवस्तु समावेश छैनन् । गणना गर्न सकिन्छ त भनेका छन् तर त्यहाँ बताएका गणनालाई कल्प वा सृष्ट्यादि दिनमा राखेर हेर्दा मेल खाँदैन । यसरी कल्पादि विषयवस्तुमा मेल नखाने पद्धतिले हाम्रो सनातन पद्धतिलाई संरक्षण गर्न सक्दैन ।
यसैगरी सूर्यसिद्धान्तको विज्ञानभाष्यकार महावीर श्रीवास्तवले पृ.६५८ मा ‘केतकरको ज्योतिर्गणित भारतीय ज्योतिषसिद्धान्तका आधारमा बनाइएको होइन, पाश्चात्य सिद्धान्तको आधारमा निर्माण गरिएको हो जहाँ आधुनिक आविष्कारको पनि सहायता लिइएको छ’ भनी बताएका छन् । ग्रहलाघव पौरस्त्य ज्योतिषशास्त्रका आधारमा तयार भएको करण ग्रन्थ हो । त्यसमा दिइएका विषयवस्तु ज्योतिषशास्त्रका सिद्धान्तले पुष्टि हुन्छन् । उपपत्ति लाग्छ तर केतकीमा यस्तो पाइँदैन । यसरी हेर्दा केतकी ग्रहगणित पौरस्त्य पद्धति सापेक्ष होइन भन्न सकिन्छ ।
यसका साथै केतकी ग्रहगणित शक १८०० को क्षेपकमा दृक्सिद्ध भनी दाबी गरिएको थियो । तर, शक १८२६ मा सर्वानन्दकरणकार गोविन्दगणकले सोही कुरालाई खण्डन गरी त्योभन्दा दृक्सिद्ध सर्वनन्दकरण रहेको दावीसहित ग्रन्थ सम्पादन गरेका छन् । जसमा सूर्यको मन्दोच्चकै कुरा गर्ने हो भने पनि लगभग २१ अंशको अन्तर बताइएको छ । गोविन्द गणक पनि वेधशालाका अधिकारी नै हुन् उनले पनि वेधसिद्ध कुरा नै उल्लेख गरेका हुन् । छोटो समयको अन्तरालमा यति धेरै अन्तर पाइनु दृश्य पक्ष अत्यन्त चल रहनु हो । जसबाट हाम्रा कल्पसम्मका विषयवस्तुको सही आँकलन हुन सक्दैन । अनि यति छोटो समयमा अन्तर देखिएको केतकी ग्रहगणित र आजको समयमा १९४७–१८००=१४७ वार्षसम्म पनि त्यही पद्धतिमा ग्रह देखिन्छन् भन्ने हुँदैन । आजको जेपीयलबाट देखिने र केतकीबाट देखिने ग्रहमा निकै अन्तर परिसकेको छ ।
हाम्रा पञ्चाङ्ग अध्यात्म साधनाका निम्ति तयार गरिन्छन् न कि भौतिक विषयवस्तुको प्रतिपादन होस् । यसैगरी तिथि, योग, करण दृश्य कुरा होइनन् । यद्यपि यसो भन्दै गर्दा केही संस्कार नै गर्नु हुँदैन भनेको होइन । कालअनुसार बीजसंस्कार दिएर गणनापद्धतिलाई जीवन्त राख्न सकिन्छ । अनि देखिनु नै पर्छ भन्ने पनि छैन ।
केतकी गणित अपनाउनु भन्दा सूर्यसिद्धान्तमा बीज संस्कार दिनु शास्त्रीय दृष्टिले पनि उपयुक्त देखिन्छ । आजको सौरगणित र दृश्य गणितमा केही भिन्नता पाइन्छन् । सौरगणितमा केही बीज संस्कार आवश्यक देखिन्छ । यसको मतलव सूर्यसिद्धान्त पुरानो भएको भने होइन । यसमा खोज अनुसन्धाको आवश्यकता छ । बीज दिँदै दिँदै पुनः पूर्ववत् अवस्थामा पुग्ने हुन्छ । केतकरले हेरेर जे देखे त्यही अनुसारका बीज दिएर पाश्यचात्य पद्धति अवलम्बन गरी करणग्रन्थ दिए । सूर्यसिद्धान्तमा पनि हेरेर तदनुसारको बीज संस्कार दिन सकिन्छ । यसमा व्यक्ति भन्दा पनि संस्थागत प्रयास आवश्यक हुन्छ । जो सर्वमान्य होस् ।
केतकी पद्धतिले कल्प सृष्टि आदि परम्परालाई स्वीकारेको पाइँदैन । हुन त जोडे भइगयो नि भन्ने मत पनि पाइनसक्छ । जोड्न पनि उपयुक्त माध्यम चाहिन्छ । पाश्चात्य पद्धतिमा जोडेर स्वकीय सुदीर्घ शास्त्रपरम्परालाई भाँच्नु सर्वथा गलत हुन्छ । सृष्टितो गताब्द केतकी पद्धतिमा आवश्यक छैन । जबर्जस्ती जोड्नु उपयुक्त हुँदैन । त्यसको उपादेयता रहँदैन भने जोड्नुको कुनै अर्थ छैन । अब केतकीको पद्धतिलाई अवलम्बन गर्दा हामीले गर्ने नित्य नैमित्तिक एवं काम्य कर्मको सङ्कल्पमा खण्डित हुन्छ किनकि केही वर्षसम्म त यस्तो अनुभव नहोला कालान्तरमा यसले सम्बन्ध जोड्दैन ।
अनि कल्प, मन्वन्तर, मनु, महायुगको परम्परा पनि यो पद्धतिमा छैन । करणग्रन्थमा हुने कुरा पनि भएन । सिद्धान्त पनि पौरस्त्य पद्धतिको कुनै अवलम्बन छैन भने यो पद्धतिले हाम्रो इतिहास एवं सनातन परम्परालाई वहन गर्न सक्ने सामथ्र्य राख्दैन । यसको सैद्धान्तिक उपपत्ति हुँदैन । जे देखियो त्यही हो भन्ने हो भने भोलि अर्कै देखिन्छ अर्कै हुन्छ जसले शास्त्रीय परम्परा पद्धतिमा खण्डित गर्ने निश्चित छ ।
हाम्रा पञ्चाङ्ग अध्यात्म साधनाका निम्ति तयार गरिन्छन् न कि भौतिक विषयवस्तुको प्रतिपादन होस् । यसै गरी तिथि, योग, करण दृश्य कुरा होइनन् । यद्यपि यसो भन्दै गर्दा केही संस्कार नै गर्नु हुँदैन भनेको होइन । कालअनुसार बीजसंस्कार दिएर गणनापद्धतिलाई जीवन्त राख्न सकिन्छ । अनि देखिनु नै पर्छ भन्ने पनि छैन । आसन्नमा देखिनु नै दृष्टियोग्य हुनु हो । वर्तमानको सौर गणना पद्धति पनि त्यति फितलो छैन । मूलतः गणना एउटाबाट गर्ने र उदयास्तादि अन्य पद्धतिबाट गर्ने परम्परा बसालेका कारण यस्तो स्थिति सिर्जना भएको हो । सौरोक्त पद्धतिबाट तिथि गणना गर्ने अनि केतकोक्त विधिबाट ग्रहण गर्ने । अनि सौरोक्त तिथ्यान्तमा ग्रहण नदेखिन सक्छन् । यसरी देखिँदैन भनी शास्त्रलाई नै पन्छाउने प्रवृत्ति उचित होइन ।
यसरी हेर्दा अध्यात्म साधनाका निम्ति सौरोक्त पद्धति सर्वप्राचीन हो । वर्तमानसम्म चलेका सारिणी, करण ग्रन्थले यो परम्परालाई धान्दै आए । आजको कम्प्युटरको युगमा सिधै सिद्धान्तबाट गणना गर्न सकिन्छ । सिद्धान्तपरक करणभन्दा मूल सिद्धान्तको प्रयोग नै श्रेयष्कर हो । जसमा सूर्यसिद्धान्त सनातन परम्परादेखि चलिआएकाले र यसमा बीजसंस्कार पनि दिन सकिने भएकाले पञ्चाङ्ग निर्माण एवं प्रयोगमा यही सिद्धान्त उपयोग गर्नु शास्त्रोक्त रहने देखिन्छ । अन्य पद्धतिको पनि अभ्यास भने निरन्तर गर्नु नै पर्दछ । नेतृत्व भूमिकामा सूर्यसिद्धान्त रहनु दीर्घपरम्पराको संरक्षण गर्नु पनि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच