
काठमाडौं । बर्खा नलाग्दै गत सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाईस्थित त्रियुगा नदीले सप्तरीमा जन्ती पुर्याएर फर्किदै गरेको बस बगायो । नदीमाथि हृयुम लगाएर अस्थायी रूपमा सञ्चालन भइरहेको सडक पानीले कमजोर बनेपछि सिवाईबाट बेल्टार आउँदै गरेको को१ख ४७५३ नम्बरको बस बगेको हो । नदीमा एक्कासि बस भासिँदै गएपछि बस चालकले हाम फालेर ज्यान जोगाएका थिए । चौदण्डीगढी-५ सिवाई र बेलहा जोड्न अस्थायी रूपमा लगाइएको हृयुम पाइप बेमौसमी बाढीले बगाएपछि बेल्टारसँगको सिधा सम्पर्क टुटेको थियो । त्रियुगा नदीले बगाएको पक्कीपुल २०७८ असार १९ गतेको बाढीले क्षतिग्रस्त बनाएदेखि हालसम्म पुनर्निमाण सुरु भएको छैन ।
जसकारण यसपालिको वर्षामा पनि त्यस क्षेत्रका नागरिकले सास्ती पाउने निश्चित छ । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको काठेपुल बाढीले बगायो । मंगलबारकै बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या भएको हो । बाँसबाट बनाइएको काठेपुलबाट दैनिक सयौँ मोटरसाइकल तथा स्थानीयवासी ओहोरदोहोर गर्ने गरेका थिए । करिब १३ वर्षदेखि निर्माणाधीन पक्की पुल अझै अधुरो छ ।
यी दुई प्रतिनिधि घटना हुन् । यस्तै, समस्या कान्ति लोकपथमा समेत पटक-पटक दोहोरिने गरेको छ । अघिल्लो साता परेको वर्षासँगै यो सडक पूर्णरूपमा बन्द गर्नुपरेको थियो । काठमाडौं उपत्यकामा पनि गत साता परेको एकदिनको बर्षाले करिडोर क्षेत्र सडक अस्तव्यस्त भएको थियो । काठमाडौं उपत्यकालाई जोड्ने मुख्य राजमार्ग नागढुंगा-मुग्लिनको अवस्था पनि दयनीय छ । अहिले दाउन्ने खण्डमा सडक विस्तार तीव्र बनाउन रातको समयमा सडक नै बन्द गरेर काम भइरहेको छ । नौबिसे-नागढुंगा सडक खण्डसमेत अहिले राति ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर काम थालिएको छ । मनसुन अघिबाटै सुरु भएको यो सास्ती मनसुनमा अझ बढ्ने निश्चित छ ।
गत वर्षको बाढीपहिरोले क्षति गरेका सडक कुनै पनि सद्दे छैनन् । पृथ्वी राजमार्ग अन्तर्गतको नागढुंगा-मुग्लिङ सडकमा घुम्ती नै पिच्छे पहिरोको जोखिम छ । झ्याप्ले खोला, कृष्णभीरलगायत ठाउँमा पनि जोखिम उस्तै छ । अरनिको राजमार्ग, हेटौँडा जाने कान्ति लोकपथ, त्रिभुवन राजपथ र हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौं आउने सडक ठाउँ-ठाउँमा क्षतिग्रस्त र मर्मतका लागि भत्काइएको अवस्था छ । महेन्द्र राजमार्गको पूर्वीखण्ड पनि विस्तारकै क्रममा छ । बुटवल-नारायणगढ खण्डमा पर्ने दाउन्नेमा सडक विस्तार भइरहँदा यात्रुले छोटो दूरीका लागि पनि घण्टौँ कुर्नुपर्छ ।
नौबिसे-नागढुुंगा सडकमा रातमा काम
नौबिसे-नागढुुंगा सडक अहिले रातको समयमा बन्द गर्ने गरिएको छ । संघीय राजधानी काठमाडौं आवतजावत गर्ने मुख्य मार्ग मानिने सडक वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो । त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्र गतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा सूचनामा उल्लेख गरिएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारी साधनलाई राति नागढुंगा चेकपोष्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई खत्रीपौवा पुलमा रोकिने गरिएको छ । त्यस समयमा सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न नागढुंगा-मुग्लिन सडक योजना कार्यालयले आग्रह गरेको छ । साना तथा मझौला सवारी साधनले सीतापाइला-भीमढुंगा-रामकोट-धार्के सडक प्रयोग गरिरहेका छन् । त्यस्तै, वैकल्पिक बाटोका रूपमा सामाखुसी-टोखा-गुर्जेभञ्ज्याङ-छहरे-त्रिशूली-गल्छी सडक हुँदै जान सकिनेछ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन । ओभरट्याक नगरी बन्दको समयमा नियमपालना गरिदिन कार्यालयले अनुरोध गरेको छ ।
बिपी राजमार्गलाई पुनर्निर्माण गर्न कम्तीमा दुई वर्ष लाग्ने
गत वर्षको विनाशकारी बाढीले बिपी राजमार्गको करिब नौ किलोमिटर खण्ड पूरै बगाएको थियो । बाढीले क्षतिग्रस्त बीपी राजमार्ग आगामी बर्खामा के होला भन्ने सर्वाधिक चासोको विषय बनको छ । अहिले खोलाबाटै अस्थायी सडक बनाइएका कारण बर्खामा राजमार्ग बन्द हुने चिन्ता धेरैको छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भने बर्खामा पनि आंशिक सञ्चालन गर्नेगरी तयारी भइरहेको बताउँछ । मन्त्रालय र सडक विभागले बर्खामा पनि सडक पूर्ण बन्द नहुने गरी संरचनाहरू तयार गर्ने काम भइरहेको जनाएका छन् । मन्त्रालयका सह-सचिव तथा प्रवक्ता भीमार्जुन अधिकारीले सडक कम समय बन्द गर्नेगरी संरचनाहरू तयार गर्ने काम भइरहेको बताउनुभयो । बर्खामा हुनसक्ने सम्भावित अप्ठेरोलाई ध्यानमा राखेर त्यहाँ विभिन्न उपकरणहरू तयारी अवस्थामा राख्ने उहाँको भनाइ छ । बाढी आउँदा एकछिन–एकछिन बन्द भए पनि लामो समय बन्द हुन नदिने उहाँले बताउनुभयो । मन्त्रालयले वैकल्पिक सडकहरू पनि प्रयोगमा ल्याएर राजमार्ग भएर गुड्ने सवारी साधनलाई व्यवस्थित गर्ने योजना रहेको दाबी गरेको छ । सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार बिपी राजमार्गलाई बाढी अघिको अवस्थामा ल्याउन कम्तीमा पनि दुई वर्ष लाग्ने देखिएको छ । क्षतिग्रस्त सडकलाई विभिन्न खण्डमा विभाजन गरेर छुट्टाछुट्टै ठेक्काको प्रक्रिया अघि बढिरहेको सडक विभागका उपमहानिर्देशक अर्यालले जानकारी दिनुभयो । एउटा खण्ड पुनर्निर्माणका लागि राजमार्ग निर्माणमा सहयोग गरेको जापानी सहयोग नियोग (जाईका)लाई अनुरोध गरिएको छ । जापान सरकारको सहयोगमा १५८ किलोमिटर लामो उक्त राजमार्ग झण्डै दुई दशक लगाएर विसं २०७१ सालमा पूरा भएको थियो । परम्परागत रूपमा भित्तो काटेर नभई पर्खाल उठाएर बनाइएको सडकको केही भाग २०७२ सालको भूकम्पका कारण पनि प्रभावित भएको थियो ।
मनसुन सुरु हुनै बाँकी
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्री-मनसुन चलिरहेको छ । अंग्रेजी महिनाको मार्च, अप्रिल र मेलाई प्री-मनसुनको अवधि मानिन्छ । यो अवधिमा पनि देशैभर पानी परिरहेको छ । प्री-मनसुनको सुरुआतमा पानी नपरे पनि अप्रिलको बीचदेखि पानी परिरहेको छ । अहिले भइरहेको वर्षाका कारण कतिपय सडकमा दुर्घटनाको जोखिम छ भने, घन्टौँसम्म जाम हुने गरेको छ । सामान्यतः मनसुन नेपालमा जुन १३ मा भित्रिन्छ र अक्टोबर २ मा बाहिरिन्छ । यो अवधिमा वर्षाको सम्भावना अन्य सिजनभन्दा ज्यादा हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतः मनसुनमा वर्षभरि पर्नेको ८० प्रतिशत पानी पर्छ । मनसुन सुरु हुन अझै केही समय बाँकी छ । त्यसैले अहिले नै मनसुनको अवस्थाबारे पूर्वानुमान गर्न नसकिने मौसमविद् बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच