पोखरा । निबन्धकार मुकुन्दराज शर्माको निबन्ध संग्रह ‘धोबीघाट मेलोडी’ माथि परिचर्चा कार्यक्रम शनिबार रिडर्स कर्नर पोखरामा भएको छ । कामना न्यूज पब्लिकेसन्स्द्वारा प्रकाशित पुस्तकमाथि भएको परिचर्चा कार्यक्रममा साहित्यकार शर्माले आफूलाई प्रश्न आएपछि मात्रै सफल भएको महसुुस गरेको सुनाउनुभयो । वास्तवमै निबन्ध लेखन चिया गफ भएको र त्यो चिया गफ सामान्य नरहेको सुनाउँदै उहाँले आफूले गीतिसंग्रह निकाल्ने तयारी गर्दागर्दै निबन्ध संग्रह निकालेको बताउनुभयो । ‘मेरो विचारमै सबै रमाए त्यसको के अर्थ ? मैले जे बुझेँ सबैले त्यही बुझेर पनि भएन । आज यहाँ प्रश्न आए, म धेरै खुशी छु कि मेरो विचारभन्दा फरक विचारसमेत दिनसकेको रहेछु’, उहाँले भन्नुभयो– ‘निबन्धमा प्रश्न जब आउँछ तब नै लेखकलाई सफल भएको महसुुस हुन्छ जुन आज मलाई पनि भएको छ । प्रश्न सोधेपछि त्यसमा हेर्ने दृष्टिकोणमा पृथकता आउनेछ जसले लेखकलाई अझ गहन भएर लेख्नसमेत प्रभावित गराउँदछ ।’ निबन्धमार्फत शर्माले जीवन सुरमा पनि र बेसुरमा हुने कुरा दर्शाउनुभएको छ । उक्त निबन्धमा रघुनाथ वाग्लेले परिचर्चा गर्दै आफ्नो अवधारणासमेत प्रस्तुत गर्नुभएको थियो ।
‘नमस्तुभ्यम्मा लेखकले जोगी शैलीको भनुन् या भोगी शैलीको । विचार विमर्शमा प्राडा.दयाराम श्रेष्ठले जतिसुकै फन्को मारुन्, सीके श्रेष्ठले यो निबन्ध संग्रहलाई जोगीको कमण्डलु भनुन् या अरू केही भनुन् । यी सबै पछि हेरौंला भनेर म लागें, लेखकका क्षणिकीहरूतर्फ । ‘क्षणिकी’ नेपाली शब्दकोशको शब्द होइन, यो लेखकले नै क्वाइन गरेको शब्द हो’, यस पछाडिको आफ्नो तर्कलाई मुडे तर्क भन्दै उहाँ भन्नुहुन्छ, ‘समयबाट सामयिकी, वर्षबाट वार्षिकी, मासबाट मासिकी, दिनबाट दैनिकी हुन्छ भने क्षणबाट क्षणिकी भनिदिए कसुर कत्रो होला ?’ ‘क्षणिकी’ लाई सबल शब्द बनाउन लेखकले धेरै विज्ञहरूसँग राय लिनुभएको थियो ।
नेपाली विषय प्राध्यापन गर्दै आएका कवि विप्लव ढकाल, बहुसम्मानित व्यक्तित्व प्राडा.दयाराम श्रेष्ठ, कालेबुङका कवि राजेन्द्र भण्डारी, डा विष्णुविभु घिमिरे, अशेष मल्ल, डा.माधवप्रसाद पोखरेललगायतले सहमति जनाएपछि नेपाली कर्पसमा एउटा नाम पियो, क्षणिकी । लेखकले क्षणलाई समयको कणिका भन्नुभएको छ ।
‘सामान्यभन्दा पनि सामान्यदेखि कुनै पनि आकारको घटनाबाट उठेको झिल्कोबाट विचार र चेतनाको डँढेलो सल्काउनु नै क्षणिकी हो । अझ भन्नुपर्दा क्षणिकी विचारको त्यो ज्वाला हो जसको पहिलो झिल्को क्षण र घटनाको घर्षणबाट निस्कन्छ’, लेखक भन्नुहुन्छ, ‘मेरो ठेगाना के हो, डस्टिङ डटकम, मेरो रेडियो फुट्यो, होर्ता, भाषण गर्न जानु छ, जीवनः एक मास्टर पिस रचना, अनि हामीले भोज खायौ, यी सबै क्षणिकीहरू हुन् । क्षणिकीहरू नै निबन्धहरू हुन् । क्षणिकी निबन्धभन्दा पृथक् विषय त हुँदै होइन । जुन क्षणिकी पढ्छु आफ्नै क्षणिकी पढेजस्तो लाग्छ, आफ्नै कथा भनेजस्तो लाग्छ ।’
क्षणिकी विमर्शमा लेखकले थप भन्नुभएको छ-‘एउटा स्वैरकल्पनाबाट पनि निबन्ध बन्नसक्छ । हर हर महादेव एउटा स्वैरकल्पनाबाटै । बनेको निबन्ध हो जसमा मानव र महादेवको वार्तालाप, महादेवको नागरिकता बनाउने प्रक्रियालगायतका काल्पनिक प्रसंग प्रस्तुत गरिएको छ । यसलाई ‘न्यारेटिभ एस्से’ अथवा ‘ड्रामाटिक एस्से’ भन्न सकिन्छ ।’ अन्त्यमा परिचर्चाकारले प्रश्न गर्दै भन्नुभएको छ, ‘समग्रमा धोबीघाट मेलोडी एक जीवन मेलोडी हो । पृथ्वीलोकबाट स्वर्गलोकमा पुस्तक समर्पण गर्नु भनेको आफ्नै कृति आफैंसँग फर्किएर नआउने गरी पठाउनु होइन ? डेथ अफ द अथर त पढेकै हो, डेथ अफ द टेक्स्ट, यो तपाईंको कस्तो सिद्धान्त हो ? तपाईंका क्षणिकीहरू, अनुभूतिहरू र अन्तर्दृष्टिहरू किन धेरै नकारात्मकतामा केन्द्रित छन् ? यसरी तपाईंले के स्थापित गर्न खोज्नुभएको हो ?’
साहित्यकार शरुभक्तले निबन्धमा लेखक बढी स्वतन्त्र हुने सुनाउँदै पछिल्लो समय नेपालको संविधानले दिएको स्वतन्त्र मुख छाड्ने स्वतन्त्र रहेको स्पष्ट पार्नुभयो । उहाँले एक साहित्यकारलाई आफ्नो नैतिकतामा रहेर स्वतन्त्र लेख्न कसैले नरोक्ने सुनाउनुभयो । शरुभक्तले निबन्धमा विचार राख्दा स्वतन्त्र रूपमा लेख्न नैतिकता राख्नु संघर्षपूर्ण काम रहेको सुनाउँदै लेखकलाई शुभकामना दिनुभएको छ ।
त्यस्तै, डा.जीवनलाल बस्यालले लेखकमा निबन्ध लेख्ने क्षमता रहेको र अबका दिनमा निबन्ध लेखनमै लाग्न आग्रह गर्नुभयो । र्यान्डम रिडर्स सोसाइटी नेपालको आयोजनामा उक्त कार्यक्रम भएको हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर