
छिमेकी मित्र राष्ट्रहरू भारत र पाकिस्तानवीच भइरहेको युद्ध र आतंकवादका विषयमा ढिलै गरेर नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । भारतमा निरन्तर आतंकवादी घटनाहरू हुने गरेको पाँच दशक नाघिसकेको छ । अन्तर्राष्ट्रियस्तरमा फैलिएको आतंकवादी जालो कहिले हमास, कहिले तालिवान, कहिले अलकायदा, कहिले हिज्वुल्लाह, कहिले लस्करे तेइवा, जैस ए महमद, कहिले हुति अनेक नाममा संसारभर आतंकवाद फैलाउने धार्मिक समुदायको एउटा उग्र र उदण्ड पक्षले भारतीय भूमिमा अनेक पटक आतंककारी हमला गरिसकेको छ । चेचेन विद्रोहीको सामना एक पटक साम्यवादी रुसले र अहिले पनि पश्चिमी तिब्बतमा मुस्लिम विद्रोहीविरुद्ध चीन जुधिरहेको छ । विगत दुई वर्षदेखि हमासविरुद्धको लडाइँमा गाँजापट्टिमा बहेको दर्दनाक रगतको भल संसारले देखिरहेको छ । सिरियामा समेत जातीय र धार्मिक द्वन्द्व अझै सकिएको छैन । वर्मामा भने इस्लाम रोहिंग्याहरूको पीडा पृथक छ । त्यहाँका इस्लाम समूह सत्ताको दमनको सिकार भएका छन् । उनीहरू भारत, बंगलादेश र नेपालमा समेत शरणार्थी हुन बाध्य छन् । अन्तर्राष्ट्रिय समुदायले जति आहृवान गरे पनि रोहिंग्यालाई फिर्ता गर्न बर्मेली सैनिक शासन सहमत देखिएको छैन । प्रत्यक्षमा यी सबै हिंसाका पृष्ठमा इस्लाम धर्मावलम्बीहरूको असन्तुष्ट उग्रवादी जत्था सक्रिय देखिन्छ । रुस र युक्रेनको युद्ध जातीय वा धार्मिक नभएर राजनीतिक र भूगोल सम्बद्ध रहेको छ । युद्धका फरक रूपहरू फरक भूगोलमा जनताको नियति भएका छन् र ती सत्ता उन्मादमा केन्द्रित छन् ।
नेपाल पञ्चशीलका सिद्धान्तका आधारमा संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्न राष्ट्रहरूले प्रतिपादन गरेका सिद्धान्त र दक्षिण एसियाली सहयोग संगठनको अवधारणामा विश्वास गर्छ । आफैं भूपरिवेष्ठित, अविकसित वा विकासशील नेपालले यतिखेर अरु कुनै भूमिका खोज्नु सम्भव छैन् । नेपालले गृहयुद्धको पीडा भोगिरहेका देश र जनता वा दुई पक्षीय युद्धको विभीषिका झेलिरहेका नागरिकहरूलाई सुरक्षित गर्ने अन्तर्राष्ट्रिय शान्ति मिसनमा काम गर्न सक्छ । लेवनान, कोसोभो, धेरैतिर नेपालको योगदान शान्तिका पक्षमा थियो र छ । अहिले पनि सुडानदेखि लेवनानसम्मका शान्ति मिसनमा नेपाली सेना र प्रहरीहरू संलग्न छन् ।
नेपालका लागि यी सबैभन्दा निर्णय गर्न कठिन हुन्छ भारत र पाकिस्तानको विवादमा । इजरायलमा नेपालको स्ट्यान्ड सही थियो । साना देशको स्वतन्त्र सार्वभौमसत्ताको रक्षार्थ युक्रेनका पक्षमा बोल्न पनि सही थियो । महाशक्ति वा ठूला राष्ट्रहरूले साना देशहरूप्रति गर्ने अपमानपूर्ण व्यवहार वा आक्रमणलाई नेपालले समर्थन गर्नु हुँदैन । तर, आतंकवादको प्रश्नमा ठूलो वा सानो भन्नु हुँदैन । यतिखेर इजरायल र भारत प्रत्यक्षतः आतंकवादविरुद्ध युद्धमा देखिएका छन् । तर, बाह्र सयको ज्यानको बदला लिने इजरायलले पनि पचास हजारको जीवन लीला समाप्त पारिसकेको छ र लाखौं मानिसहरूरूको श्रीसम्पत्ति स्वाहा पारिसकेको छ । लाखौं मानिसहरू घरबारविहीन भएर विस्थापित छन् । प्रतिदिन गााजापट्टिको आक्रमणमा बालक, वृद्धहरूको घाइतेहरूको र भोकले छटपटाएकाहरूको क्रन्दन सुनिन्छ । यसको मूल जिम्मेदार हमास नै हो । तैपनि इजरायलले बदलाको सीमा तोक्नु आवश्यक छ । केही उद्दण्ड संहारकारीहरूको प्रतिशोधमा लाखौं निर्दोष मानिसहरूको ज्यान जानु गलत हुनेछ ।
जम्मुकश्मीरको पहलगाममा भएको आतंकारी हमलामा एकजना निर्दोष नेपालीसहित २६ जना भारतीय नागरिकको ज्यान गएको छ । पहिलोपटक व्यक्तिको धर्म छुट्याएर क्रूर हत्या गर्ने काम आतंककारीहरूले गरेका हुन । ती आतंककारीहरू हिन्दु धर्मविरुद्ध, जातीय पहिचानविरोधी, इश्लाम धर्मका पक्षधर आतंककारी थिए । यद्यपि आतंकवादको कुनै धर्म र जात हुँदैन । इस्लामिक आतंकवादी जत्थाले अमेरिकाको न्यूयोर्कमा गरेको हवाई विष्फोटनमा पर्नेहरू कुनै एक जात र थरका मात्रै थिएनन् । तर, पहलगाममा भएको आतंककारी प्रहारमा हिन्दु र केवल हिन्दुहरू मात्रैले ज्यान गुमाएका छन् । धर्म सोधीसोधी हत्या गर्ने काम भएको हुनाले यो आतंकको नयाँ रूप हो भनेर बुझ्नुपर्ने हुन्छ । यस्तोमा नेपाल जस्तो ९० प्रतिशत भन्दा बढी हिन्दु समुदाय रहेको देश प्रतिक्रियाविहीन हुनसक्दैन । जहाँ भए पनि आतंकवादको निन्दा गर्ने भाषाले मात्रै पर्याप्त हुँदैन । किटानीकासाथ नेपालले आतंकवादविरुद्धको अडान र कारबाहीलाई समर्थन गर्नु आवश्यक छ । त्यो आतंकवादी कृत्य पाकिस्तान प्रशिक्षित वा प्रायोजित हो कि होइन ? प्रश्न गर्न सकिन्छ । तर, बाईस अप्रैलको त्यो दुर्दान्त घटनामा संलग्नहरू पाकिस्तानतिर भागेको अनुमानलाई बल पुग्ने गरी पाकिस्तानी नेतृत्व भारतविरुद्ध युद्ध गर्न तयार भएको देखिन्छ । पाकिस्तानी सेनाप्रमुख मुनिरले तीन दिनअघि आतंकवादी कारबाहीलाई उक्साउने गरी चर्को भाषण दिनु र आतंकवादीहरूले पहलगाममा नरसंहार गर्नु बाघ कराउनु र बाख्रो हराउनु जस्तो मात्रैको संयोग नहुनसक्छ ।
यतिखेर पाकिस्तानमा सेना र नागरिकबीच राम्रो सम्बन्ध देखिँदैन । बलुचिस्तानमा दिनहूँ विद्रोह भइरहेको छ । आर्थिक रूपमा पनि पाकिस्तान कमजोर भएको अन्तर्राष्ट्रिय विशेषज्ञहरूको कथन छ । भारत-पाकिस्तानभन्दा जनसंख्या, सामरिक क्षमता र आर्थिक सामथ्र्यले निकै सबल मानिएको छ । पाकिस्तानलाई टर्की र अप्रत्यक्षमा चीनको सहयोग होला । तर, चीन महाशक्ति राष्ट्रको प्रतिस्पर्धी हो । अहिले पनि दोस्रो अर्थव्यवस्था भएको शक्ति मानिन्छ । दक्षिणतिर यी दुई छिमेकीहरूको द्वन्द्वमा गहिरोसँग हातहाल्ने सम्भावना देखिँदैन । भारतले प्रजातान्त्रिक विश्वको समर्थन पाएको देखिन्छ र खाडी राष्ट्रको समेत सहानुभूति लिएको देखिन्छ । तर, जसरी बाह्र सयको बदलामा इजरायलले निर्दोष मानिसहरू विरुद्धसमेत कारबाही गरिरहेको छ, त्यस्तो बदलापूर्ण कारबाही भारतले गर्नुहुँदैन । निरन्तर आतंकारीहरूलाई पाल्ने, पक्षपोषण गर्ने र प्रशिक्षित गर्दै सीमापार आक्रमण गर्न लगाउने कार्यलाई पाकिस्तानले पनि छाड्नु आवश्यक छ । तीन दशकअघि नेपाली भूमिमा समेत राजनीतिका नाममा आतंकका अनेक शृंखला नेपालीहरूले सहनुपरेको थियो । भारतीय भूमिमा बसेर र भारतीय गुप्तचरहरूबाट तालिम लिँदै नेपालमा कारबाही चलाउनेहरू अहिले नेपालको प्रमुख राजनीतिक शक्ति मानिएको अवस्था छ । भारतको वर्तमान राजनीतिक नेतृत्वले त्यो विगतको समीक्षा गर्न भुल्नु हुँदैन ।
पहलगामको दुर्दान्त घटना प्रसंगमा नेपाल सरकारको अडान स्पष्ट भएको छ । आतंकवादविरुद्ध नेपाल रहेको छ र सदा रहनेछ । यो अडानप्रति सम्पूर्ण नेपालीहरू एकमत हुनुपर्छ भन्ने हाम्रो विश्वास छ । यसै पनि नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक समुदायले भरिपूर्ण र सद्भावपूर्ण रहेको हुनाले आतंकवादलाई आतंकवादकै रूपमा सबैले हेरिरहेका छन् । जसरी भारतका एक अर्ब चालीस करोड जनता आतंकवादविरुद्ध गोलबद्ध देखिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच