
दाङ । जनताको तटबन्ध परियोजनाले लामो सयम बितिसक्दा पनि लय समाउन सकेको छैन । यसको हाल सम्मको भौतिक प्रगति ५३ प्रतिशत भएको देखिन्छ । आर्थिक प्रगति त त्योभन्दा १० प्रतिशतले कम छ । २०६६ सालमा सुरु भएको जनताको तटबन्ध कार्यक्रम परियोजनाले २०७३ सालदेखि आफ्नो कार्यक्षेत्र विस्तार गरेको थियो । तर, यो परियोजना बारम्बार हुने विवादले लयमा चल्न नसकेको हो ।
कहिले प्राविधिकको विवाद, कहिले निर्माण कम्पनीका सर्त त कहिले स्थानीय जनप्रतिनिधिहरूको मनोमानीका कारण यो आयोजना लयमा आउन नसकेको हो । बबई नदी, पातु खोला, ग्वार खोला लगायतका क्षेत्रमा यो परियोजना चालु छ । राष्ट्रिय गौरवको यो परियोजनामा प्रतिष्ठित कालिका कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधि आएनन् र पेटी ठेक्काको संस्कृति हाबी भयो । तोकिएको समयमा निर्माण कम्पनीले ढुंगाको अभाव देखायो तर जसोतसो स्थानीय प्रशासन, जिल्ला प्रशासन, स्थानीय सरकार र जिल्ला समन्वय समितिले कामका लागि ढुंगा उपलब्ध गराउने प्रतिबद्धता जनाएर व्यवस्थापन गरे पनि कम्पनीले काम द्रुत गतिमा अघि बढाउन सकेको छैन । त्यसो त ढुंगा उपलब्ध गराउन परियोजना कार्यालयका प्रमुखले पटक-पटक प्रयास गरे तर निर्माण कम्पनीको स्वार्थमा निःशुल्क ढुंगा वा नजिकको ढुंगा थियो । परियोजना डिपिआरमा ढुंगाको मूल्य पनि जोडिएको छ । निर्माण कम्पनी आफैँले ठेक्का लिने वा अन्य ठेकेदारबाट लिने हो । निर्माण कम्पनीले अहिलेसम्म ठेक्कामा सफल हुन सकेन भने उसले अन्य ठेकेदारबाट ढुंगा लिन तयार पनि छैन । समाधानबिनाका कुनै समस्या हुँदैनन् तर समाधान खोजिनुको साटो थप समस्या सिर्जना गर्दा जनताको तटबन्ध कार्यक्रम लक्ष्यमा पुग्न सकेन ।
सहमति प्रयास पनि बिना निष्कर्षमा
जनताको तटबन्धलाई जबरजस्त ढुंगा उपलब्ध गराए पनि पछिल्लो समयमा काम भइरहेको गढवा गाउँपालिका–४ र ५ वडामा जनताको तटबन्ध निर्माण भइरहँदा त्यो पहिले निर्धारण गरिएको नदीको ‘राइट अफ वे’का विषयमा विवाद भएको छ । लमही नगरपालिकाको रनियापुरवासीले आफ्नो कम्तीमा अढाई सय नम्बरी जग्गा खेर गएको र गढवाले भने ऐलानी जग्गासमेत बाँधभित्र पारेकोमा आपत्ति जनाउँदै यसलाई रोक्न र रनियापुरलाई न्याय दिन आहृवान गरेका छन् । परियोजनाको कार्ययोजना र मापदण्डका विषयमा भने कसैको आधिकारिक कानुनी अभिव्यक्ति आउन सकेन । खोलाको आधिकारिक क्षेत्र निर्धारण गर्न नदिएर खोला नदीलाई नै अतिक्रमण गर्ने लहड अहिले चलिरहेको छ ।
जोखिममा नागरिक
जनताको तटबन्धले लगाएको जाली बाढीले फालिदिएपछि अर्बांै लगानी गरिएको राप्ती तटबन्ध समेत जोखिममा परेको छ । नदीजन्य पदार्थकै प्रयोग गरेर निर्माण गरिएको तटबन्ध बाढीले भत्काएपछि गढवा गाउँपालिका-१ बडहरा, पत्रिङ्गा र जेठानगाउँका हजारौँ नागरिक बाढीको जोखिममा परेका छन् । त्यसैले उनीहरूले मर्मतको जिम्मेवारी लिएको जनताको तटबन्ध कार्यालय लमहीलाई पटक-पटक आग्रह गर्दा पनि कार्यालयले सुनुवाइ नगरेको स्थानीयको गुनासो छ । स्थानीयले पटक-पटक डेलिगेसन नै गएर दुःख पोखे तर कार्यालयले अहिलेसम्म मर्मत गरेको छैन । अघिल्लो वर्ष असारमा बोरामा बालुवा हालेर टालटुल पार्ने काम गरे पनि त्यसको उचित मर्मत नगर्दा जतिबेला पनि राप्तीको बाढी गाउँ पस्न सक्ने जोखिम बढेको स्थानीय कुलपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नवराज शर्माले बताउनुभयो ।
‘जाली फुटेको छ । त्यसभित्र राखिएका ढुंगा पनि बगेका छन् । एक तह मात्रै ढुंगा राखिएको जाली नै फुटेपछि बालुवा, माटोले बनाइएको तटबन्ध पनि खस्किँदै गएको छ,’ अध्यक्ष शर्माले भन्नुभयो- ‘हेर्दा थोरै र सामान्यजस्तो देखिन्छ तर यो एकसय मिटर क्षेत्रबाट राप्तीको बाढी पस्यो भने तीनवटा गाउँ बग्ने जोखिम छ । यसप्रति सरोकारवाला गम्भीर भएनन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच