
विवाहलाई हेर्ने दृष्टिकोण व्यक्ति, समाज, संस्कृति, भेग र देश अनुसार फरक-फरक हुन्छ । तर, समग्रमा विवाह एक सामाजिक, धार्मिक वा कानुनी तवरबाट एकअर्कालाई पति-पत्नीको रूपमा स्वीकार गरेरसँगै जीवन जिउनका लागि जोडिने सम्बन्ध हो । विवाहलाई प्राचीनकालदेखि नै चल्दै आएको एक संस्कार र सामाजिक परम्पराको रूपमा मानिन्छ । यसलाई अझै औपचारिक रूपमा दह्रो बनाउन तथा दस्तावेजीकरण गर्नका लागि राज्यले कानूनी रूपमा दर्ता गर्ने व्यवस्था गरिदिएको हुन्छ । नेपालको सन्दर्भमा, मुलुकी देवानी (संहिता) ऐन २०७४ को दफा ६७ ले विवाहलाई ‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति-पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिनेछ’ भनेको छ ।
विवाह दुई व्यक्तिबीच जोड्निे सम्बन्धमात्र नभएर दुवै व्यक्तिका परिवारसमेत जोडिने सम्बन्ध हो । समाजशास्त्रीय दृष्टिकोणले विवाहलाई एक संस्था मानेको छ । कुनै पनि व्यक्तिले विवाह गर्ने/नगर्ने, विवाह किन गर्ने र विवाह गर्दा कस्तो व्यक्तिसँग गर्ने भन्ने कुरा त्यो व्यक्तिको नितान्त व्यक्तिगत सोच तथा रोजाईको विषय मात्र नभएर यो उसको वैयक्तिक अधिकारभित्र पनि पर्दछ ।
यहाँ विशेषगरी अपांगता भएका महिलाहरूको विवाहको प्रसंगलाई उठाउँन खोजिएको छ । हुन त, छोरी-बुहारीले अलिकति ठूलो स्वरले बोल्दा वा केही विषयमा प्रश्न गर्दा औंला उठाउने परिवार तथा समाजको परिपाटीका अगाडि यो प्रसंग केही अजीव लाग्नसक्छ । तर, यो विषय उठाउँनै पर्छ भन्ने महसुस गरेर अझ भनौं यस विषयमा कलम चलाउँनैपर्छ भन्ने अन्तरबोधका साथ यहाँ अपांगता भएका महिलाहरूको विवाहसम्बन्धी सवाललाई उठाउने प्रयास गरिएको छ ।
समाजले बालापनदेखि नै थोपरिदिएको एक साँघुरो मानसिकता कारणले अपांगता भएका महिलाहरू पनि सफल वैवाहिक जीवन बिताउन, कुशल यौन साथी बन्न, सन्तान जन्माउन तथा उनीहरूको स्याहारसुसार र पालनपोषण गर्न सक्छन् र अवसर पाए आत्मनिर्भर भएर आर्थिक रूपमा समेत पारिवारिक उत्तरदायित्व बहन गर्न सक्षम हुन्छन् भन्ने चेतना जगाउन सकिएकै छैन् । यसैगरी अपांगता भएका महिलाहरू अपांगता नभएका महिलाहरू जस्तै घरायसी कामकाज काम गर्न, खेतबारी र मेलापातलगायतका काम गर्न सक्छन् भन्ने विश्वास दिलाउँन सकिएकै छैन् ।
नेपाली समाजमा अपांगतालाई असक्षम, कमजोर, अपूरो तथा बोझको रूपमा हेर्ने जुन सोच तथा परिवारका धेरैजसो क्रियाकलापमा सहभागी गराउन नचाहने प्रवृत्तिले गर्दा अपांगता भएका महिलाको विवाहको विषयमा परिवारले सोच्नै सक्दैन् । त्यसैगरी अपांगता भएको महिलालाई अपांगता नभएको पुरुषसँग विवाहका लागि प्रस्ताव आउँदा वा सन्दर्भ निस्कँदा ‘ओ..हो..यसको पनि विहे...!’ भन्ने खालको आश्चर्यको विषय बन्दछ । त्यतिमात्र नभएर अपांगता नभएको पुरुषले अपांगता भएको महिलालाई विवाहको प्रस्ताव राख्यो भने सो व्यक्ति समाजका लागि ‘अचम्मको’ वा ‘अनौठो’ व्यक्ति ठहरिन्छ । किनकी समाजले व्यक्तिलाई बालापनदेखि नै यसरी सामाजिकीकरण गरिदिएको छ कि व्यक्तिले आफ्नो छनौट के हो भनेर थाहा पाउँदा-नपाउँदै नै ‘छनौट यस्तै हुनुपर्छ’ भनेर एकखालको बनिबनाउँ चित्र मनमष्तिष्कमा भरिदिइसकेको हुन्छ । त्यसैले आफ्नो सोच, रहर, आवश्यकता र रोजाइलाई एकातर्फ राखेर व्यक्तिले सोही बनिबनाउँ चित्रलाई नै सही मानेर अगाडि बढ्दछ । तर, कालान्तरमा उसले समाजले कोरिदिएको चित्र भन्दा आफ्नो सोच र मन नै सही छ भन्ने बुझ्यो र सोहीअनुसार ग¥यो भने सो व्यक्ति समाजका लागि ‘अचम्मको’ वा ‘अनौठो’ व्यक्ति ठहरिन्छ । अपांगता नभएको पुरुषले अपांगता भएको महिलालाई विवाह गर्ने अवस्था पनि उक्त समाजका लागि अजीव वा अचम्मको विषय बनेको हुन्छ ।
जब मानिसहरूले अपांगता भएको महिला र अपांगता नभएको पुरुषको वैवाहिक जोडि देख्छन् तब अधिकांश व्यक्तिको मनमष्तिष्कमा ‘लौ के देखेर यसले यस्ती केटी बिहे गरेको होला..?’ वा ‘यस्तो अवस्था भएको देखीदेखी केटी नै नपाएजस्तो किन अपांगता भएको केटी विवाह गरेको होला...?’ भन्ने प्रश्न उब्जिन सक्छ । त्यही भएर यो विषयमा कतिपयले सकारात्मक रूपमा जिज्ञासा व्यक्त गरेर जान्न चाहन्छन् भने कतिपयले व्यंग्यात्मक दृष्टिले हेर्ने गर्दछन् । यसैगरी धेरैले जिज्ञासा भए तापनि मनमै मात्र राखेका हुन्छन्, झट्ट सोधिहाल्न् हिम्मत गर्दैनन् । तर जे होस् अधिकांशका लागि ‘अचम्म’को सवाल बनेको देखिन्छ यो ।
यस सवाल एक प्रकारले नउठोस् पनि कसरी ? हाम्रो परिवार तथा समाजले विवाहको सन्दर्भलाई लिएर एउटा निश्चित रूपरेखा वा परिकल्पना व्यक्तिको दिमागमा छपाइ दिएको छ जस्तैः श्रीमती ‘सुन्दर वा शारीरिक रूपमा देख्दा चिटिक्क परेकी, उमेर मिल्ने वा आफूभन्दा कम उमेरकी’ तथा बुहारी ‘घरधन्दा सर्लक्कै एक्लै धान्न सक्ने र सकेसम्म कुलघरान मिल्ने’ । त्यसैले यस बनिबनाउ रूपरेखा वा परिकल्पनाले अपांगताको अवस्था त परै जाओस् कुनै केटी शारीरिक रूपमा हेर्दा त्यो परिकल्पनाभन्दा अलिकति दायाँबायाँ देखिए भने उनीहरू सो सुन्दरताको परिभाषा तथा घरधान्न सक्ने बुहारीको कोटीमा नपर्न सक्छन्, जुन अत्यन्तै विडम्बना तथा विविधतालाई स्वीकार्न नसक्ने साँघुरो मनस्थितिको उपज हो भन्ने बुझ्न सकिन्छ ।
हुनत, सृष्टि वा प्रकृतिले सबै मानिसलाई जन्मदा नै फरकफरक बनौट, रूपरंग, शारीरिक अवस्था, क्षमता तथा चेतना दिएर पठाएको हुन्छ । व्यक्ति फरक भएपछि उसको सोच तथा छनौट फरक नै हुन्छ । त्यसैगरी सबैको पारिवारिक पृष्ठभूमि र भूगोल समान नहुनसक्छ । यो सबैले देखेको, बुझेको, जानेको र भोगेको कुरा हो, अर्थात् संसार विविधतायुक्त छ भनेर सबैलाई थाहा हुँदाहुँदै पनि अपांगताको अवस्थालाई स्वीकार्न नसक्दा उनीहरू एउटा बोझ, लाजको विषय, विचरा, दयाको पात्र नै मानिन्छन् । समग्रमा भन्नुपर्दा, समाज अहिलेको आधुनिक, विकसित तथा प्रविधियुक्त अवस्थामा आइपुगेको भए तापनि अपांगताप्रतिको दृष्टिकोण भने साँघुरो तथा पुरातन सोचले ग्रसित छ । त्यसमा पनि अझ अपांगता भएकी छोरी जन्मिइन् भने त झन् काम नै पुगिहाल्यो ।
यसैगरी अपांगता भएका महिलाको हकमा पनि यही सूत्र लागू हुन्छ । ‘ऊ अपांग छ, उसको विवाह हुन सक्दैन् वा ऊ जस्ती केटीलाई कसले विहे गर्छ ?’ भन्ने जस्ता वाक्यांश बालपनदेखि नै उनीहरूको कानमा परिरहेको हुन्छ । जसले गर्दा एक प्रकारले अपांगता भएको महिलाले बच्चैदेखि नै ‘ए मेरो चै विवाह हुँदैन् वा मैले विवाह गर्नुपर्ने आवश्यकता रहेनछ अथवा शारीरिक रूपमा म असक्षम रहेछु’ भन्ने खालको मानसिकता बनाएका हुन्छन् । यस परिस्थितिमा एउटा अपांगता भएको महिलालाई अपांगता नभएको पुरुषसँगले मन परायो भने वा विवाहको प्रस्ताव राख्यो भने सो महिलालाई उक्त कुरा विश्वास गर्न अत्यन्तै गाह्रो हुन्छ । यो विषय उनले न त सोच्न सक्छिन न त परिवारको सामु राख्न नै सक्छिन् । महिलालाई अझै पनि पुरुषसरह पारिवारिक सदस्यको रूपमा समान हैसियत दिन सकस महसुस गर्ने नेपाली समाजका अगाडि अपांगता भएका महिलाको विवाहको विषय त सोच्नै नपर्ने अझ भनौं लज्जाको विषय बन्न जान्छ ।
यद्यपि समयको परिवर्तन सँगसँगै मानिसको विचारधारा पनि परिवर्तन तथा फराकिलो हुँदै जान्छ । त्यसैले समाजमा अपांगताप्रतिको नकारात्मक धारणाका बाबजुद पनि यस्ता थुप्रै सफल उदाहरण छन् जसले अपांगता भएका महिलाहरू पनि सफल वैवाहिक जीवनयापन गर्न सक्छन् भन्ने प्रमाण दिन्छ । अपांगता नभएका पुरुषहरूले अपांगता भएकी महिलाको अपांगताको अवस्थाभन्दा उनीभित्रको सक्षमता देखेर विवाह गर्न कुनै हिच्किचाहट नभई खुशीसाथ विवाह गरेको अनुभव साट्ेका छन् ।
एउटा अपांगता भएको महिलालाई अपांगता नभएको पुरुषसँगले मन परायो भने वा विवाहको प्रस्ताव राख्यो भने सो महिलालाई उक्त कुरा विश्वास गर्न अत्यन्तै गाह्रो हुन्छ । यो विषय उनले न त सोच्न सक्छिन न त परिवारको सामु राख्न नै सक्छिन् । महिलालाई अझै पनि पुरुष सरह पारिवारिक सदस्यको रूपमा समान हैसियत दिन सकस महसुस गर्ने नेपाली समाजका अगाडि अपांगता भएका महिलाको विवाहको विषय त सोच्नै नपर्ने अझ भनौं लज्जाको विषय बन्न जान्छ ।
झापाका मोतीराज क्षेत्रीले २०६६ सालमा सुनसरीकी सरिता थुलुङलाई काठमाडौंमा दैनिक कामकाजको सिलसिलामा भेट्भइरहने क्रममाः आफूले उनलाई असाध्यै मनपराएको तथा विवाह गर्न चाहेको प्रस्ताव राख्दा सरिताले मोतीराजलाई ‘वाहियात कुरा गर्ने’ भनेर बेस्सरी हप्काएकी थिइन् । तर, सरितामा रहेको कला तथा क्षमता देखेर उनलाई सरिता असाध्यै मनपरेको र उनको शारीरिक अपांगतातर्फ कहिल्यै पनि आफ्नो ध्यान नगएको मोतीराज सुनाउँछन् । उनी भन्छन्, ‘सरितालाई देखेको पहिलो नजरमै उनीसँग माया बस्यो र उनको अपांगतातर्फ न त मेरो ध्यान गयो न त उनको अपांगतालाई मैले नकारात्मक रूपमा लिए । बरू सरितासँग विवाह भएपछि मलार्ई सबैले झनै माया तथा सम्मान गर्ने गरेका छन् । उनको कारणले मेरो जीवनमा ठूलो परिवर्तन आएकाले म असाध्यै खुशी छु, कुनै गुनासो छैन । उनी एक असल श्रीमती तथा आमा बन्न सक्षम भएकी छन् । परिवारले पनि एक सक्षम बुहारी पाएकाले सबै खुशी हुनुहुन्छ ।’ आजसम्म कसैले पनि मोतीराजलाई ‘यस्ती अपांगता भएको केटी विवाह गरिस्’ भनेर वचन लाएको थाहा छैन । सरिता र मोतीराजको १४ वर्षकी छोरी छन् । उनीहरू काठमाडौंमा व्यापार गरेर बसेका छन् । पछिल्लो केही वर्षयता सरिताले अपांगता महिलातर्फको खेलाडीको रूपमा पनि सक्रियता देखाएकी छन् । उनी बेलाबखत विभिन्न खेलमा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा भाग लिइरहन्छिन् ।
सरिता र मोतीराज एक प्रतिनिधि पात्र हुन् । यदि हामीले खोज्दै गयौं भने हाम्रै अगाडि यस्ता धेरै उदाहरण भेटिन्छन्, जसले अपांगता भएकी महिलासँग अपांगता नभएको पुरुषको विवाह भएको र उनीहरूले राम्रोसँग आफ्ना सन्तानमात्र नभई परिवारको समेत जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने पुष्टि गर्दछ । यसमा साहसी तथा चेतनशील धेरै युवाहरूले अपांगता भएका महिलाहरूमा रहेको अन्तरनिहीत क्षमता र विशिष्टता देखेर उनीहरूलाई हौसला दिन तथा अगाडि बढाउन जीवनसाथीको रूपमा साथ दिइरहेका छन् । जसले सुन्दरताको बनिबनाउँ चित्र तथा परिभाषालाई नै नयाँ ढंगले चित्रितसमेत गरिदिएको छ । यतिमात्र नभई ‘श्रीमती र बुहारी शारीरिक सक्षमताको आधारमा छनौट गर्ने प्रवृतिलाई समेत चुनौती’ दिँदै एक ‘आदर्श तथा उत्प्रेरणाको’ नमुना स्थापित गरिदिएका छन् । यसको अर्को ज्वलन्त उदाहरण र प्रत्यक्ष प्रमाण म आफैं हुँ । म एक शारीरिक अपांगता भएको महिलालाई अपांगता नभएको पुरुषले आफैं प्रेम तथा विवाहको प्रस्ताव राखेर तथा दुवै परिवारको सहमति जुटाई विवाह गर्नुभयो । हाम्रो १७ वर्षकी छोरी छन् र खुसी साथ हाम्रो जीवन चलिरहेको छ ।
यहाँ अपांगता भएका महिलाहरूको विवाहको प्रसंग उठाउँदा अपांगतालाई कसरी परिभाषित गरिएको छ भनेर चर्चा गर्नुपर्ने हुन्छ । अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ ले अपांगतालाई दश प्रकारमा वर्गीकरण गरेको छ । जसमा ‘शारीरिक अपांगता, दृष्टिसम्बन्धी अपांगता, सुनाइसम्बन्धी अपांगता, श्रवण दृष्टिविहीन अपांगता, स्वर र बोलाइसम्बन्धी अपांगता, मानसिक वा मनोसामाजिक अपांगता, बौद्धिक अपांगता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया)सम्बन्धी अपांगता, अटिजमसम्बन्धी अपांगता र बहु अपांगता’ पर्दछन् भने सो ऐनले अपांगताको परिभाषालाई विशेषगरी अशक्तताको आधारमा तथा चिकित्सकीय दृष्टिकोणले परिभाषित गरेको पाइन्छ । जसअनुसार ‘अपांगता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रिय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनुपर्छ’ भनेर व्याख्या गरेको छ ।
तर, अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिले अपांगताप्रतिको पराम्परागत सोच, अवधारणा तथा परिभाषालाई नै बदलेर मानव अधिकारको दृष्टिकोणबाट हेर्नका लागि प्रेरित तथा निर्देशित गरेको छ । महासन्धिका अनुसार ‘अपांगता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सृजित विभिन्न अवरोधसँगको अन्तक्र्रियाको कारणले समाजमा अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगमा सहभागी हुन बाधा भएको व्यक्ति’ भनेर स्पष्ट पारेको छ । यसरी सो महासन्धिले शारीरिक वा मानसिक अवस्थाको क्षतिको आधारमा गरिने परिभाषा वा मान्यतालाई परिवर्तन गर्दै अपांगताप्रतिको एक नयाँ दृष्टिकोण दिएको छ ।
अपांगताप्रतिको यो नयाँ दृष्टिकोण त्यसै आएको भने पक्कै होइन् । यसमा अपांगता भएका व्यक्तिहरू, अपांगतासम्बन्धी काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा अपांगताको सवालमा आवाज उठाउने अभियन्ताहरूको ठूलो योगदान छ अर्थात् यो अपांगता अधिकारका लागि अहोरात्र अनि निरन्तर वकालत, पैरवी तथा संघर्ष गर्ने सबैको प्रयासको संयुक्त परिणाम हो । त्यसैले केही वर्ष पहिलेको तुलनामा अपांगताप्रति हेर्ने दृष्टिकोणमा धेरै सकारात्मक परिवर्तन आएको पाइन्छ ।
अन्त्यमा, समाजले बालापनदेखि नै थोपरिदिएको एक साँघुरो मानसिकता कारणले अपांगता भएका महिलाहरू पनि सफल वैवाहिक जीवन बिताउन, कुशल यौन साथी बन्न, सन्तान जन्माउन तथा उनीहरूको स्याहारसुसार र पालनपोषण गर्न सक्छन् र अवसर पाए आत्मनिर्भर भएर आर्थिक रूपमा समेत पारिवारिक उत्तरदायित्वबहन गर्न सक्षम हुन्छन् भन्ने चेतना जगाउन सकिएकै छैन । यसैगरी अपांगता भएका महिलाहरू अपांगता नभएका महिला जस्तै घरायसी कामकाज काम गर्न, खेतबारी र मेलापातलगायतका काम गर्न सक्छन् भन्ने विश्वास दिलाउन सकिएकै छैन् । त्यसैले समाजमा अपांगता भएका महिलाप्रति हेरिने भ्रमपूर्ण दृष्टिकोण चिर्न तथा उनीहरूका बारेमा सकारात्मक ढंगले हेर्न प्रेरणा मिलोस् र यस विषयमा चर्चापरिचर्चा गर्न आवश्यक छ भन्ने उद्देश्यका साथ थालिएको यो प्रयासले कहीँ न कहीँ, केही न केही बहस चलाउन पक्कै मद्धत गर्नेछ भन्ने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच