
आतंकवादी कारबाही र त्यसविरुद्ध प्रतिरोधात्मक कारबाहीले निम्त्याएको युद्ध सुरु भएको तीन दिनमा नै विराममा पुग्नु सबैका लागि सुखद् विषय हो । भारतले आतंकवादविरुद्ध थालेको प्रतिरोधात्मक कारबाही आतंकवादविरुद्ध मात्रै केन्द्रित भएको देखिए पनि पाकिस्तानी भूमि प्रयोगका कारण सिधा दुई देश आमने-सामने भएको अवस्था थियो । भारत र पाकिस्तानले युद्धको औपचारिक घोषणा गरेका थिएनन् । युद्धलाई औपचारिक नगरिनु मात्रैले तात्विक फरक थिएन । दुई पक्षीय युद्धका सबै अस्त्र प्रयोग गर्न लागेपछि युद्ध घोषणा हुनु र नहुनुमा भिन्नता हुँदैन । भारतको पश्चिमी सीमावत्र्ती गुजरात, राजस्थान, पञ्जाव, हरियाणा, जम्मु कस्मीर क्षेत्रमा आमनागरिकहरूले आफ्नो निवास छाड्ने र सुरक्षित स्थानमा जाने क्रम तीव्र भएको थियो । साँझ पर्नासाथ ब्ल्याक आउटका साइरनदेखि हवाई हमलाका साइरनहरू बज्नु सामान्य मानिएको थियो । आमनागरिकलाई युद्धको कला सिकाउन दुवैतिरका सरकार सक्रिय देखिन्थे । पक्ष र विपक्षमा अन्तर्राष्ट्रिय समुदायका मतहरू सञ्चारमाध्यमहरूमा आउनु स्वाभाविक थियो । हतियारबजार तात्ने, हतियारका उत्पादनका कारखानामा सक्रियता तीव्र थियो । प्रतिदिन सूचना, भ्रमपूर्ण सूचना, सूचनामा नियन्त्रण युद्धमा खासशैली हो । भारत पाकिस्तान यसै पनि सन् १९४७ देखि नै एकअर्कामा प्रतिस्पर्धा गरिरहेका हुनाले यस्तो शैली निरन्तर छ । यही स्थिति पाकिस्तानको थियो । पाकनियन्त्रित कस्मीर, लाहोर, पञ्जाव, कराचीमा रात पर्नासाथ नागरिकले अन्धकारमा बस्नुपर्ने भएको थियो । रातभरी मिसाइलका ड्रोनका, तोपका बन्दुक र गोलावारुदको कर्कशध्वनिले आमनागरिक आहत थियो नै । अव युद्धविरामको घोषणाले यी सबैमा विराम लाग्ने आशा पलाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गहिरो चासो र सक्रियताबाट अहिले दुवै देशहरू युद्धविराम गर्न सहमत भएका छन् । दुई दिन पहिलेमात्रै उपराष्ट्रपति जेडी भान्सले भारत पाक युद्धप्रति अमेरिकाको कुनै चासो नभएको विचार सार्वजनिक गर्नुभएको थियो । तर, अर्को दिन-रात अमेरिकी राष्ट्रपति र उपराष्ट्रपति भारत र पाक तनाव घटाउन सक्रिय हुनुभएको परिणामले देखाएको छ । भारत र पाकिस्तानी नेतृत्वलाई सहमत गराउन सउदी अरेबिया र इरानको समेत प्रयास देखिएको थियो । तर, प्रश्न उठ्छ : यो युद्धविराम दीर्घकालसम्म टिक्ला कि नटिक्ला ? यो प्रश्नको सान्दर्भिकताको पृष्टमा केही महत्वपूर्ण कारण छन् । युद्धविराममा सहमति गर्नु ठीक केही घण्टा पहिले भारतले कुनै पनि आतंकवादी कारबाहीलाई युद्धको घोषणा मानिने निर्णय सार्वजनिक गरेको थियो । जसकसैको भूमिमा रहेका जुनसुकै नामधारी आतंकवादीहरूले भारतको जमिनमा आतंकवादी कारबाही गरे वा भारतीय नागरिकमाथि आक्रमण गरे भने त्यसलाई युद्ध नै मान्ने भारतको निर्णय निकै गम्भीर छ । यो निर्णयबाट साना छिमेकी देशहरूसमेत सचेत हुनुपर्ने देखिन्छ ।
वर्तमानमा पाकिस्तानको जमिनमा बसेर भारतविरुद्ध कारबाही गर्नेहरू हुन् वा अरू कुनै देशमा बसेका कुनै पनि मानिसहरू भारतविरुद्ध आतंककारी काममा संलग्न रहेको पुष्टि भएमा भारतले सिधा युद्ध घोषणा गर्ने चेतावनी दिएको छ । अर्थात् जम्मुकश्मीर क्षेत्र, पाकिस्तानी भूमिमात्रै होइन यो निर्णय निकै गम्भीर चेतावनी हो भन्ने स्पष्ट छ । तर, भारतमा बसेर अरू देशविरुद्ध कुनै त्यस्तो हिंसात्मक कारबाहीहरू कसैले गरे वा आतंकको छायाँ विकसित भएमा भारतको दृष्टिकोण के हुने हो ? त्यो स्पष्ट छैन ।
दक्षिण एसिया निरन्तर भारत र पाकिस्तानका बीचको द्वन्द्व, अविश्वास र शत्रुतापूर्ण सम्बन्धको शिकार भइरहेको छ । द्वन्द्वको सामना गर्दै भारतले प्रविधि र आर्थक क्षेत्रमा गरेको विकास प्रशंसनीय छ । भारतको भौतिक विकास पनि उत्तिकै छ । क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रको हैसियतले भारतीय राजनीतिक नेतृत्वले यस क्षेत्रका अरू साना र पछाडि परेका देशहरूको प्रगतिका लागि अत्यन्त सकारात्मक सोच राख्नुपर्ने थियो । पाकिस्तानबाहेकका सबै साना देशहरू नेपाल, बंगलादेश, श्रीलंका, माल्दिब्स, भुटान, अफगानिस्तानको विकास हुनुको अर्थ, यी देशहरूमा राजनीतिक स्थायित्व हुनुको अर्थ भारतका लागि समेत सकारात्मक हुनेमा सन्देह छैन । तर, भारतले जहिले पनि यी साना देशहरूप्रतिको सोचमा ब्रिटिशकालीन रणनीतिकै छायाँ पारिरहेको अनुभव धेरैको छ । भारतको सुरक्षासंवेदना यी सबै साना छिमेकी देशहरूले बुझेका छन् । भारतको सहयोग यी साना देशहरूको विकासका लागि अनिवार्य छ । जतिसकै भने पनि स्रोतसाधन, प्रविधि, भूगोल सबैको बाध्यात्मक अवस्थाको परिणाम साना छिमेकीहरू एक्लै केही गर्ने अवस्थामा पनि रहेका छैनन् । तर, साना छिमेकी मित्रराष्ट्रहरूप्रति भारतको दृष्टिकोण बढी सकारात्मक हुनु आवश्यक छ ।
भारतको र यो क्षेत्रको भूमहत्व कति छ भन्ने यथार्थतालाई युद्ध विरामका लागि अमेरिकी प्रयासले आफँं पुष्टि गरेको छ । यद्यपि अमेरिकामा राष्ट्रपति ट्रम्पको कार्यकाल नै युद्धहरूको अन्त्य गर्न आहृवान गर्दै आरम्भ भएको थियो । उहाँले युक्रेन-रुसको युद्ध अन्त्य तत्काल गर्न र इजरायल हमास युद्ध अन्त्य गर्न हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई छाड्न आहृवान गर्नुभएको थियो । अत्यन्त आक्रामकशैलीमा निर्वाचित र पदासीन ट्रम्प निरन्तर युद्धका विपक्षमा देखिनुभएको छ । तर, उहाँले युक्रेनसँग व्यापारिक सम्झौताका लागि दिनुभएको दबाब फरक प्रकृतिको देखिएको छ । अमेरिका विगत लामो समयदेखि पाकिस्तानको सहयोगी र शुभेच्छुक रहेको भए पनि भारतमा भारतीय जनता पार्टीको सरकार र प्रधानमन्त्री नरेन्द्र मोदीको उदयपश्चात् भारतप्रति निकै सहृदयी देखिएको छ अमेरिका । मोदी र ट्रम्पका अभिव्यक्तिहरू एकआपसमा निकै शालीन र सहयोगी रहेका छन् । अमेरिकाले पाकिस्तान र भारत विवादमा दुवै देशलाई मित्र भनेर सम्बोधन गर्नुको बेग्लै महत्व छ र मोदी रणनीतिको सफलता यसै अर्थमा देखिन्छ । रुससँग भारतको परम्परागत सम्बन्ध थियो र अझै यथावत् देखिन्छ । तर, चीनसँगको सम्बनध १९६० को दशकयता निकै कटूतापूर्ण रहेको छ । यद्यपि दुवै देशले व्यापार सम्बन्धलाई कसिलो बनाएका छन् । सीमा क्षेत्रमा देखिने केही विवादहरूबाहेक अहिले चीन-भारत सम्बन्धमा अप्रिय अवस्था छैन । क्षेत्रीय अखण्डता र स्थायी शान्तिका लागि यो अनुकुल अवस्था हो ।
अहिंसा र शान्तिका पूर्वीय चिन्तक, साधक भगवान् गौतम बुद्धको जन्मदिनको पूर्वसन्ध्यामा दक्षिण एसियाली क्षेत्रमा यसरी शान्तिको किरण देखिनु अत्यन्त सुखद् मान्नुपर्ने हुन्छ । बुद्धका उपदेशहरूको सम्मान युद्धबाट हुँदैन शान्ति र अहिंसाबाट नै हुन्छ । कमसेक मभारत र पाकिस्तानका जनता र नेतृत्वले बुद्धको सम्मान गर्नु भएमा युद्धको पीडा आमनागरिकले भोग्नु पर्दैन । अहिलेलाई युद्ध विराम गर्न पहल गर्ने र सहमत हुने सबै बधाईका पात्र हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच