
पृष्ठभूमि :
लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता जगन्नाथ आचार्य (विसं १९९८ वैशाख-२०६१ वैशाख २६ गते) समाजवादका शिखरपुरुष बीपी कोइरालाका सच्चा अनुयायी हुनुहुन्थ्यो । काठमाडौं खाल्टोभित्र विशेषगरी भक्तपुर र ललितपुर जिल्लामा जगन्नाथ आचार्यलाई किसानका पुराना नेता भनेर सम्मान गर्ने गर्दछन् । भूमिसम्बन्धी विशेष ज्ञान भएका कारण जनमानसले उहाँलाई यस्तो भनेको पनि हुनसक्छ । किसानको नेता त हुँदै हो तर उहाँ समाजवादको व्याख्याकार, आध्यात्मिक चिन्तक ज्योतिषशास्त्रको ज्ञाता र भरपर्दो नैतिकवान नेता पनि हुनुहुन्थ्यो ।
सदैव सरल भाषा प्रयोग गरी शुभेच्छुक र कार्यकर्ता माझ अत्यन्त लोकप्रिय रहेका कारण आचार्यको राजनीतिक छवि उच्च थियो । सबै प्रजातन्त्र, लोकतन्त्रमा विश्वास राख्ने व्यक्तिले उहाँलाई गुरु मान्ने गर्दथ्ये । गुरु शब्द आफैंमा गरुंगो र गहकिलो शब्द भएकाले राजनीतिमा जिन्दगीभर सेवा गर्नुभएको उहाँका प्रति हजारौंले सम्बोधन गरेको शब्द न्यायोचित नै लाग्दछ । सत्यवादी, निडर र स्पष्ट नेता रहेका कारण पार्टीभित्र केही चाकडीवाज कांग्रेसजन उहाँदेखि केही टाढा हुने गरेको पनि देखेको थिएँ त्यसबेला तर उहाँ सबैलाई सद्भाव राख्ने गर्नुहुन्थ्यो । त्यसैले उपत्यका खाल्टोमा सर्वमान्य नेता गणेशमानसिंह पछि उहाँको स्थान उच्च रहेको थियो भनेर कांग्रेस नेता ओमकार श्रेष्ठले पंक्तिकारलाई बताउनुभएको याद छ ।
पहिलोपटक परिचय र विद्यार्थी आन्दोलनको सन्दर्भ :-
लोभी र दुराचारी कर्मबाट टाढा बस्न रुचाउने नेता जगन्नाथ आचार्यसँग पंक्तिकारको परिचय विसं २०३६ साल जेठमा भएको थियो । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई तानाशाह राष्ट्रपति ज्याउल हकले फाँसी दिएपछि उक्त कदमको विरोधमा काठमाडौंमा त्यसबेलाका हामी विद्यार्थीले लैनचौरस्थित पाकिस्तानी दूतावासमा कालो झण्डा देखाउँदै विरोध गरेका थियौं । त्यो विद्यार्थी आन्दोलन तत्कालीन निर्दलीय पञ्चायती व्यवस्थाको खिलाप र बहुदलीय व्यवस्थाको पुनःस्थापनाका लागि केन्द्रित थियो । परिवर्तनकारी हामी विद्यार्थीहरूको त्यो आन्दोलन वास्तवमा ऐतिहासिक थियो । विद्यालय, विश्वविद्यालय, कलकारखाना पूरै बन्द रहे ।
नेपाल हड्तालमय मुलुक बन्यो । राष्ट्रसेवक अधिकांश कर्मचारीले पनि हातमा कालोपट्टी बाँधेर आंशिक सेवा गरे । कति दिन त पेन डाउन गरे । ऐतिहासिक गोरखापत्र संस्थान र तत्कालीन शाही नेपाल वायुसेवा निगममा आगजनी भएको, त्यसबेलाका मण्डलेहरूले हामीहरू धेरैजसोलाई काठमाडौं उपत्यकाका शहरका गल्ली गल्लीमा खोजी खोजी पिटेको, घाइते बनाएको, साथमा रहेको पैसा लुटेको जस्ता घृणित अमानवीय कार्य गरेको पनि त्यही बेला थियो । आखिर त्यसबेलाका राजा वीरेन्द्रले विसं २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेका थिए । जुन प्रजातान्त्रिक कदम थियो । विसं २०३७ साल वैशाख २० गते देशभर जनमतसंग्रह सम्पन्न भयो ।
स्वर्गीय जगन्नाथ आचार्य निरंकुश पञ्चायती व्यवस्थाका विरुद्धको एक योद्धा हुनुहुन्थ्यो । त्यस बेलाको शासकले प्रायः प्रत्येक दिन उहाँको निगरानी राख्नेगथ्र्यो । सो कुरा उहाँलाई राम्ररी थियो तैपनि उहाँ निर्भिक भएर भक्तपुर कौशलटार घरबाट खुल्ला रूपमा काठमाडौं आइरहनु हुन्थ्यो ।
आफैं धामी, आफैं बोक्सी भने झैँ पञ्चहरूको नेतृत्वमा जनमतसंग्रह गराइएको थियो । बहुदलवादीको पक्षमा बीस लाख र सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा चौबीस लाख मत खसेको थियो । बहुदलको चुनाव चिहृन नीलो र पञ्चायतको पहेँलो चुनाव चिहृन छुट्टयाइएको थियो । राजनीतिक सरगर्मी त्यसबेला निकै तातेको थियो । बीपी कोइराला भारत प्रवासबाट स्वदेश आइसकेका थिए । काठमाडौंको मित्रपार्कस्थित एक घरमा उहाँको बसाइ थियो । नेपाली कांग्रेसका देशभरिका नेता कार्यकर्ता र हामी विद्यार्थीहरू पनि बीपीलाई भेट गर्न भनी उहाँको निवासमा गइरहन्थ्यौं ।
२०३६ सालको सुरुवातीमा नेता जगन्नाथ आचार्यसँग मेरो पहिलो भेट भएको थियो । दौरासुरुवाल र भादगाउँले कालो टोपीमा मैले उहाँलाई देखेको थिए । उहाँ सादगी र खाइलाग्दो हँसमुखी देखिनुभएको थियो । परिचयको क्रममा बझाङ जिल्लाबाट आएको, तीनधारा संस्कृत छात्रावासमा बस्दै आएको भन्ने जानकारी गराएको मैले सम्झेको छु । बझाङ भन्ने बित्तिकै उहाँले स्व.लोकराज जोशी र स्व.ज्योतिप्रकाश जोशीको नाम लिनुभएको थियो । निकै चाख मानी त्यस बेलको पश्चिम क्षेत्रको राजनीतिक अवस्थाका बारे चर्चा गर्नुभएको थियो । नेतामा हुनुपर्ने राष्ट्रिय भाव र जानकारी लिने शैली देखेर उहाँसँग नजिक हुन मन लागेकाले पछिका दिनहरूमा उहाँसँग केही नजिक भएको थिए । जनमतसंग्रहको घोषणापछि हामीहरू पर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा सुदूरपश्चिमतिर लाग्यौं ।
बीपीको निधनमा जगन्नाथ आचार्यको आश्वासन :
स्व.जगन्नाथ आचार्य निरंकुश पञ्चायती व्यवस्थाका विरुद्धको एक योद्धा हुनुहुन्थ्यो । त्यस बेलाको शासकले प्रायः प्रत्येक दिन उहाँको निगरानी राख्नेगथ्र्यो । सो कुरा उहाँलाई राम्ररी थियो तैपनि उहाँ निर्भिक भएर भक्तपुर कौशलटार घरबाट खुला रूपमा काठमाडौं आइरहनु हुन्थ्यो । बत्तीसपुतलीस्थित तत्कालीन सभामुख दमननाथ ढुंगानाको घरमा आइरहने, राजनीतिक चर्चा गरिरहने नेताका रूपमा मैले देखेको छु । चाबहिल मित्रपार्क बीपी निवासमा त उहाँ दिनहुँजसो आइरहने, राजनीतिक विचार विमर्श गरिरहने नेताका रूपमा पाएको स्मरण ताजा छ । बीपीको स्वास्थ्यप्रति उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । अमेरिकाबाट घाँटीको क्यान्सर उपचार गरेर स्वदेश पर्केपछि बीपीको स्वास्थ्यमा सुधार नभएको रूपमा हामीले पनि देखेका थियौं ।
एकपटक विसं ३०३८ साल साउन महिनाको कुरा हो जस्तो लाग्छ बिहानीको बेला बीपीबीचमा खाटमा बसिरहनु भएको थियो । दौरासुरुवालमा दायाँ जगन्नाथ आचार्य र बायाँतिर कुर्ता र धोतीमा महेन्द्रनारायण निधि बस्नुभएको थियो त्यसबेला विद्यार्थी नेता इन्द्रमणि अधिकारी, विश्वनाथ गौतम (पछि हवाई दुर्घटनामा निधन भयो) ले बीपीको गिर्दो स्वास्थ्यका बारे प्रश्न गर्दा मसिनो स्वरमा बीपीले देशको राजनीतिक स्वास्थ्य जस्तै छ आफ्नो स्वास्थ्य तर धैर्य गर्नुहोस् भन्नुभयो । उपस्थित सयौं शुभेच्छुक त्यस खबरले चिन्तित भयौं । जगन्नाथ दाइले भगवान पशुपतिनाथ छन् दया गर्लान् नि भन्दै उठेर जनमानस नजिक पुगेर आश्वासन दिनुभएको पनि हिजो जस्तै लाग्छ ।
विसं २०३९ साल साउन ६ गते बीपी कोइरालाको महाप्रस्थान भयो, देशभरिका हजारौं हजार मानिसहरू अन्तिम बिदाइका लागि काठमाडौं ओइरिए । संस्कृत छात्रावासका हामी विद्यार्थीहरूले चौबीसै घण्टा मित्रपार्क कु¥यौं, आर्यघाटमा बीपीको लास दनदनी आगोले जलाइरहेको हेरिरहृयौं । त्यसबेला आचार्यले एकदिन हामीले पनि जानैपर्छ तर बीपीको जस्तो श्रद्धासुमन नेपालमा कुन नेताले पाउन सक्लान् र खोइ ? त्यसैले सकेसम्म न्यायका लागि, प्रजातन्त्र प्राप्तिका लागि र बीपीका अर्तिउपदेश मान्दै अगाडि बढ्ने हो । तपाईं युवाहरूले हरेस कदापि नखानु होला भन्दै अर्ति दिएको म सम्झिरहेछु । राजनेताको निधनमा हामी सबैले कपाल खौरिनु राम्रो भन्दै कपाल खौरिनुभयो, हामी केही विद्यार्थीहरूले पनि कपाल खौरियौं, एक छाक खाना पनि छोड्यौ । इतिहासका यी कुराहरू, घटना भएर गए, गर्भमा गए ।
विसं २०४२ सालको सत्याग्रह र जगन्नाथ आचार्यको सक्रियता :
सन्त नेता कृष्णप्रसाद भट्टराई कार्यबाहक सभापति हुनुहुन्थ्यो गणेशमान सिंह सर्वोच्च नेता र गिरिजाप्रसाद कोइराला महामन्त्री हुनुहुन्थ्यो । सत्याग्रह गर्ने या तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रवेश गरी विद्रोह गर्ने भन्नेबीच पार्टीमा गहन छलफल भयो । त्यसबेला प्रतिबन्धित नेपाली कांग्रेसको कार्यलय जमलको एक घरमा भाडामा थियो । आखिर सत्याग्रहको आन्दोलनमा जाने निर्णय ग¥यो । सत्याग्रह गर्नुपर्छ, पञ्चायतका अगाडि झुक्नुहुँदैन भन्ने नेतामा जगन्नाथ आचार्य, रामचन्द्र पौडेल, भीमबहादुर तामाङ, शेरबहादुर देउवा, शेख इन्द्रिस, महेन्द्रनारायण निधि, खुमबहादुर खड्का, चीरञ्जीवी वाग्ले, तारानाथ रानाभाट, ओमकार श्रेष्ठ, शैलजा आचार्यलगायत दोस्रो पंक्तिका नेता हुनुहुन्थ्यो ।
सबैले आफ्नो विचारलाई साथ दिएको भनेर गणेशमान, किसुनजीले सबैलाई धन्यवाद दिनुभयो । उपत्यकाको नेतृत्व जगन्नाथ आचार्य, ओमकार श्रेष्ठ, पीएल सिंह आदिले गर्नुभएको थियो । विद्यार्थीका तर्फबाट बलबहादुर केसी, पुरुषोत्तम दाहाल, पूर्णबहादुर खड्का, डा.सुरेश मल्ल, ज्ञानेन्द्रबहादुर कार्की आदिले गरेका थिए । संस्कृत छात्राबासको नेतृत्व नवराज कट्टेल, पंक्तिकारले गरेका थियौँ ।
जेठ १० गते डिल्लीबजार चारखाल अड्डा अगाडि सडकपेटी बिहान नौ बजेदेखि नै माखेसाङ्लोद्वारा कब्जा गर्यौं । आधा घण्टापछि हामीलाई लछारपछार गर्दै प्रशासनले पक्राउ गर्यो । दिनभर महेन्द्र पुलिस क्लबमा राख्यो । सात दिनसम्म जाउलाखेलस्थित महिला प्रशिक्षण केन्द्रमा सास्ती दिएर थुन्यो । त्यसपछि नख्खु कारागारमा चलान गर्यो । जहाँ भक्तपुर जिल्लाबाट जगन्नाथ आचार्यको नेतृत्वमा राधेश्याम जोन्छे, लेखनाथ न्यौपाने, रामप्रसाद दवाडी, रुद्रमणि भण्डारी, मदनकृष्ण श्रेष्ठ, जानकी कुइँकेल, गणेशमान चक्रधर, रामगोपाल न्यौपानेलगायत साथीहरू अभियानमा थुन्निनुभएको थियो ।
देशभरका ८३ जना सत्याग्रही एकै ठाउँमा बस्यौं, भात भान्सा गर्यौँ । कहिले जानकी कुइँकेल, कहिले सागर मुल्मी र कहिलेकाहिँ प्रकाश नेपालीले खाना पकाउनु हुन्थ्यो । जगन्नाथ आचार्य, योगप्रसाद उपाध्याय, बासु रिसाल, ओमकार श्रेष्ठ, कुबेर शर्मा, रामबाबु प्रसाई (खनुपरुदे), ग्याल्जिन लामा, तुलसीनारायण श्रेष्ठ, लेखनाथ न्यौपाने, राधेश्याम जोन्छेलाई खाना थालमा पस्कने गथ्र्यौं भने बाँकी हामीहरू बिर्को, काठको फल्याक, कागजका बाक्ला कभरमा खाना खान्थ्यौं । सधैँभरि भतेर जस्तै हुन्थ्यो ।
कारागारभित्र शिवजीको सानो मूर्ति थियो । पंक्तिकार प्राय बिहानीपख गीताको पुस्तक पाठ गर्र्थेें । जगन्नाथ दाइ अक्सर धोती फेरेर अगाडि आउनुहुन्थ्यो । किसुनजी सात वर्षसम्म बसेको कोठाको ठीक अगाडि माथिल्लो तलामा दाइ बस्नुहुन्थ्यो । सँगै ठूलो रेडियो राखेको थियो । बिहान ११ः०० बजेसम्म सुन्ने गथ्यौं । रेडियो नेपालमा मैले गाएका गीतहरू पनि लोकगीतको कार्यक्रममा अक्सर बजिरहन्थे । जगन्नाथ दाइ खुशी मानेर सबैलाई जनाउ दिनुहुन्थ्यो । अस्कल कलेजमा शिक्षासम्बन्धी केही अकर्म गरेकाले माग पूरा गर्नका लागि होमराज दाहाल अनशन बस्नुभयो । भक्तपुरबाट खानेकुरा आइरहन्थ्यो । जुजुधौ, चिउरा, कुखुराको मासु, फलफूल आदि खानेकुरा सबैलाई बाँड्न लगाउनुहुन्थ्यो । एकदिन दालमा बेस्सरी किरा सल्बलाई रहेको देखेर खाना बहिष्कार गर्न अह्राउनुभयो जगन्नाथ दाइले । जेलरको सातो लिनुभयो । उसले माफी मागेपछि भोलिपल्ट नियमित जस्तै खाना खायौं ।
वास्तवमा कारागारभित्र पनि उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो । सुदूरपश्चिमबाट त्यस ठाउँमा बन्दी जीवन बिताउने पंक्तिकार मात्र थिएँ । त्यसैले पनि मलाई धेरै माया गर्नुहुन्थ्यो । त्यहाँको जमिनका बारे, शासनशैली बारे, खलोप्रथा, भाग्याप्रथा र नारी उन्मुक्ति बारे जिज्ञाषा राख्नुहुन्थो । झण्डै ६ महिनासँगै बस्यौं । पछि उहाँ छुट्नुभयो । पंक्तिकार भने लगभग १० महिना जति बसेँ । उहाँहरू छुटेपछि नरमाइलो भयो । सत्याग्रहको बेला रामराजाप्रसाद सिंहको समूहले दरबारमार्ग अगाडि बम पड्कायो साउन ७ गते । अन्नपूर्ण होटल अगाडि एकजनाको ज्यान गयो । हाम्रो अहिंसात्मक आन्दोलनमा हिंसा भएकोले बीचैमा सत्याग्रह पार्टीले बन्द गर्यो । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच