
पाल्पा । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा अहिले पनि विभिन्न समस्या भोग्दै आएका छन् । नीतिगत व्यवस्था कार्यान्वयन फितलो हुँदा समस्या भोग्नु परेको उनीहरुको गुनासो छ ।
नेपालको संविधानले धारा १२ नागरिकताको हक, धारा १८ समानताको हक र धारा ४२ सामाजिक न्यायको हकमा यौनिक तथा लैङ्गिक अल्पङ्ख्यकको हक सुरक्षित गरेको छ । संविधानको धारा ३५(४) मा समावेशी र समानुपातिक सहभागिताको विषय उल्लेख छ । सरकारका हरेक नीति तथा कार्यक्रमले पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको विषय समावेश गरेको छ । तर ति कार्यान्वयन नहुँदा समस्यामा परेको यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ताहरु बताउँछन् । यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका विषयमा जिल्लाको रामपुरमा सरोकारवालासँग भएको अन्तक्रिया कार्यक्रममा उनीहरुले संविधानमा व्यवस्था भएअनुसार पहिचानसहितको अधिकार प्राप्त गर्न नसकेको भन्दै अझै सङ्घर्ष गर्नुपरेको बताएका छन् ।
साहसी कदम नेपालको आयोजना, रामपुर नगरपालिका र टेवा नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा सहासी कदम नेपालका केन्द्रीय सदस्य इन्द्रादेवी सारुले सरकारले पहिचानसहितको अधिकार संविधानमा उल्लेख गरे पनि प्रभावकारी कार्यान्वयन नगर्दा आफूहरूले समस्या भोग्नु परिरहेको गुनासो गर्नुभयो । आफूहरूको मुख्य लडाइँ पहिचान र समावेशिता भएको उहाँको भनाइ छ । उहाँले परिवारबाट पनि अपहेलित भएर टाढिनु पर्ने बाध्यता रहेको भन्दै यौनिक अल्पसङ्ख्यकका लागि सरकारले फरक नीतिगत व्यवस्थासहित कार्यान्वयनको पक्ष बलियो बनाउन आवश्यक रहेको औल्याउनुभयो । अभियन्ता भूमिका श्रेष्ठले यौनिक अल्पसङ्ख्यक समुदायका मानिसलाई समाजको फरक दृष्टिकोण र गलत बुझाइका कारण अपहेलनाको सिकार बन्नु परेको बताउनुभयो ।
संस्थाका प्रबन्ध निर्देशक रेश्म न्यौपानेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथिको बुझाइमा केही परिवर्तन आए पनि अझै विभेद र लाञ्छनाको अन्त्य नभएको बताउनुभयाे । यो समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा कानुनमै विभेद खेपिरहनुपरेको उहाँको गुनासो छ । “नेपालको नागरिक भए पनि अन्य नागरिक जस्तै समान हक पाएका छैनौँ । फरक पहिचान भएकै कारण घरपरिवार र समुदायबाट अपहेलित हुनुपरेको छ । सङ्घर्षपश्चात् विवाह गर्ने अधिकार स्थापित भए पनि सन्तानको हकमा कानुनी समस्या कायमै छ । नागरिकता पाउन लिङ्ग पुष्ट्याइँ गर्नुपर्नेजस्ता विभेदकारी अवस्थाहरू छन्”, न्यौपानेले भन्नुभयो ।
सामान्यतयाः कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्र पर्ने गरेको उहाँको भनाई छ । कार्यक्रम संयोजक सुरज थापाले रामपुर नगर भित्र पनि यौनिक तथा अल्पसङ्ख्यक समुदाय भन्न नसक्ने र खुल्न नचाहने धेरै रहेको बताउनुभयो ।
रामपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख बालकुमारी थापाले स्थानीय तहको सिमित स्रोत र साधनकाबीच पनि यौनिक तथा अल्पसंख्यक समुदायको हितका लागि नीतिगत व्यवस्थासहित कार्यान्वयनका लागि बजेट र कार्यक्रमको व्यवस्था गरेको बताउनुभयो । नगर भित्र रहेका यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चतताका लागि नगर सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ । थापाले नगरपालिका भित्र पनि यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु रहे पनि खुल्न नचाहेको उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच