
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन २०२५ अर्थात रेडपाण्डा–थार–हिमालयन जैविक विविधता सम्बन्धी सम्मेलन गर्ने तयारी गरेको छ ।
गत चैत २५ गतेको नगर कार्यपालिका बैठकको निर्णय र विज्ञहरुको सल्लाह सुझावमा आउने पुष १५ गतेदेखि १७ गतेसम्म उक्त सम्मेलनको आयोजना गरिने सोमबार नगरपालिकामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको छ ।
जलवायु परिवर्तनसँगै मानव तथा प्राणीको अस्तित्वलाई सुरक्षित राख्न, जैविक विविधताको संरक्षण गर्न, हरियाली प्रवद्र्धन गर्न, प्लाष्टिकको न्यून प्रयोगतर्फ सबैलाई अग्रसरता दिलाउन र विश्वभरी नगरपालिकालाई स्थापित गराउने उद्देश्यले बायो–रेथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने टुंगोमा पुगिएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो।
कोशी प्रदेशले पर्यटन वर्ष मनाउन गईरहेकाले प्रदेशको कार्ययोजना सफल बनाउँदै पर्यापर्यटनमा टेवा पुर्याउनका लागि “जैविक विविधताः रेडपाण्डा र थार संरक्षण संवद्र्धन, समृद्धिको आधार” भन्ने नाराका साथमा मनाईने सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न सरोकारवालाबाट पूर्ण साथ, सहयोग र समर्थन रहने विश्वास गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
बाँसको प्रवद्र्धन गर्ने कामको नेतृत्व गर्दै नेपालमा पहिलो पटक प्रथम राष्ट्रिय बाँस सम्मेलन र रेडपाण्डा तथा थार महोत्सव गरी वन, वातावरण र पर्यावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनिकरणमा योगदान गरेकामा नगरपालिका सगरमाथा संवादमा छनौट भएको छ। देशभरीबाट छनौट भएका ११ वटा स्थानीय तहभित्र नगरपालिका छनोट भएको मेयर भट्टराईले बताउनुभयो ।
सगरमाथा संवादको पूर्वसन्ध्यामा हुन गईरहेको लोमान्थाङ इन्टरनेशनल मिडिया समिट कार्यक्रममा नगरका प्रेस सल्लाहकार कृष्ण आचार्यलाई निमन्त्रणा गरिएकोमा पत्रकार आचार्य मिडिया समिट कार्यक्रममा जानुभएको र सन् २०२५ मे १६ देखि १८ सम्म बहुपक्षीय उच्चस्तरीय अन्तर्राष्ट्रिय संवाद मञ्च सगरमाथा संवादमा नगरप्रमुखलाई अख्तियारी प्रदान गरिएको जानकारी दिईएको छ।
नगरपालिकाले गत बैशाख १ र २ गते हुर्लुङमा आयोजना गरेको रेडपाडा तथा थार महोत्सवमा विभिन्न स्टलहरु तथा आसपासका पसलहरुमा करिब ३० लाख बराबरको आर्थिक कारोबार भएको जानकारी दिएको छ।
यसैबीच, नगरपालिका र प्रदेश सरकारको लागत सहभागितामा बुईपामा निर्माण सम्पन्न भएको यलम्बरको प्रतिमा सहितको यलम्बर पार्कको उद्घाटन यथासक्य चाँडो प्रमुख अतिथिको टुंगो लगाई उपयुक्त मिति र समयमा उद्घाटन गर्ने तयारी भईरहेको मेयर भट्टराईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच