हेटौंडा। मानसिक सन्तुलन गुमाएका मकवानपुरको मनहरीका हिरालाल थिङलाई परिवारसँग पुनर्मिलन गराइएको छ ।
हेटौंडा–९, लामसुरेहाइटस्थित सिआन पुनर्स्थापना केन्द्रले उद्धार गरी ९ महिना उपचारपश्चात् परिवारसंग पुनर्मिलन गराइएको हो ।
मानसिक सन्तुलन गुमाएका कारण लामो समयदेखि खोरमा थुनिएका थिङलाई सिआन पुनर्स्थापना केन्द्रले करिब ९ महिनाअघि उपचारको जिम्मा लिइ उद्धार गरेको थियो । मनहरी गाउँपालिका–१ का करिब २३ वर्षीय थिङको सम्पूर्ण उपचारको जिम्मेवारी लिएर केन्द्रले उद्धार गरेको थियो । उद्धारपश्चात् उनका लागि बनाइएको खोर भत्काइएको थियो ।
सञ्चारमाध्यममा पटकपटक हीरालालको विषयमा समाचार प्रकाशन गरी पालिका, मानवअधिकार आयोग र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण गराइएको थियो । लामो समय हीरालालको उद्धार हुन सकेको थिएन । उनको अवस्थाबारे सम्बन्धित निकायले गम्भीरतापूर्वक नलिएको अवस्थामा सिआन सञ्चालक सौजन डीसीले उनको उद्धार र उपचार गर्ने जिम्मा लिएर उद्धार गरेका थिए ।
९ महिना उपचारमा निकै उपलब्धि हासिल भएको सिआन सञ्चालक डीसी बताउनुभयो । परिवारले आश मारेर खोरमा थुनिएका हीरालाललाई उपचारपश्चात् घरमा बस्नसक्ने बनाउनु सिआनको ठूलो उपलब्धि रहेको उहाँले बताउनुभयो। हीरालाललाई निको बनाएरमात्र परिवारको जिम्मा लगाउने प्रतिबद्धता पूरा गरेकोमा निकै खुशी लागेको उहाँले बताउनुभयो । उहाँको अवस्था बुझ्न सोमबार मानवअधिकार टोली केन्द्रमा पुगेको थियो ।
हीरालालका बुबा भिमबहादुर थिङले छोरालाई नयाँ जीवन दिएको भन्दै सिआनलाई धन्यबाद दिनुभयो । उहाँ भन्नुहुन्छ–'अझै केही समय राख्न पाएको भने राम्रो हुने रहेछ । मैले आश मारेर खोरमा थुनेको छोरालाई नयाँ जीवन दिनुभयो । यसरी निको हुने थाहा पाएको भए मैले छोरालाई वर्षौं खोरमा थुन्ने नै थिइनँ ।' हीरालाई राखिएको खोर उहाँकै बाबुले भत्काइसकेका छन् । अब फेरि हीरालालका लागि त्यस्तो खोर बनाउनु नपर्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
हीरालालको मानसिक अवस्था ठीक नभएको र उपचार गर्दासमेत ठीक नभएको भनी परिवारले लामो समयदेखि घरनजिक ब्लकले बनाएको सानो खोरमा थुनेर राखेका थिए । मानसिकरुपमा अस्वस्थ्य भएका कारण उनले शरीरमा कपडा लगाउन नमान्ने र गाउँमा उच्छृंखल गतिविधि गर्दै हिड्ने समस्या भएकाले परिवार बन्द कोठामा थुनेर राख्न बाध्य भएको थियो । मानसिकरुपमा अशक्तताका कारण बत्तीसमेत नभएको सानो कोठामा हीरालालले खोरमा कष्टपूर्ण जीवन बिताएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच