काठमाडौं । आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गर्नुभएको छ । गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितिमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्न भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर, बिदा तथा अतिरिक्त सुविधालगायतका विषयमा सुझाव दिन कार्यदल गठन गर्ने सहमति भएको थियो । सोहीअनुसार सुझाव दिन भन्दै मन्त्री पौडेलले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बारकोटीको संयोकजत्वमा कार्यदल गठन गर्नुभएको हो ।
गठित समितिका सदस्यमा चिकित्सा शिक्षा आयोगका योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशक प्रा.डा. सुजनबाबु मरहठ्ठा, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहन शर्मा, मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल रहेका छन् । त्यस्तै, मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव ऋषिराज आचार्य, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर प्रा.डा. लोचन कार्की, काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा. मनोज हुमागाईं, निजी मेडिकल कलेजतर्फबाट डा. सुमेश मिश्र सदस्य तथा मन्त्रालयकी अधिकृत डा. सुनिता लम्साल सदस्य-सचिव रहनुभएको छ । कार्यदललाई आवासीय चिकित्सकको बिदा, ड्युटी आवर तथा अतिरिक्त सुविधालगायतका विषयमा वर्तमान अवस्था मूल्यांकन गर्ने कार्यादेश दिइएको छ ।
त्यसैगरी सो सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरूसँग तुलना गर्न र सुधारका लागि कार्यान्वयनयोग्य सिफारिसहरू तयार पार्न कार्यदललाई कार्यादेश दिइएको छ । कार्यदललाई दुर्र्ई साताभित्र प्रतिवेदन मन्त्रालयलाई दिन भनिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आवासीय चिकित्सकसँग मन्त्रालयले गरेको सम्झौता कार्यान्वयन गर्न कार्यदलको प्रतिवेदन महत्वपूर्ण हुने अपेक्षा गरेका छौं ।’






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच