
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी राष्ट्र भारत र पाकिस्तानले युद्व रोकेको प्रति धन्यवाद दिनुभएको छ । युद्व रोकिनुमा नेपालको भूमिका अहं रहेको पनि उहाँले जिकिर गर्नुभयो । सोमबार २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस-२०८२ को अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘भर्खर केही दिन अगाडि मात्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति बनेको थियो । तर, हात हालाहाल बढ्न पाएन । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो । यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्यौँ । उहाँहरूसँग पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।’
उहाँले अगाडि भन्नुभयो, ‘फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’ अर्थात्, बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिलाई छ, व्यक्तिको आफ्नो मनस्थितिको शान्तिको लागि छ, पारिवारिक शान्तिको लागि छ, सबै कुराको लागि शान्तिको महत्व छ ।’ उहाँले बुद्धले उपदेशहरूमार्फत दिएको शिक्षा विश्वका लागि धेरै महत्वपूर्ण रहेको जिकिरसमेत गर्नुभयो । अहिले विश्वमा आम विध्वंसका हतियार निर्माण गरिनु खतरनाक भएकाले त्यसबाट उन्मुक्तिका लागि पनि विश्व शान्तिको पक्षमा लाग्नुपर्नेमा उहाँको जोड छ ।
‘अर्काे वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्धजयन्ती मनाउँछौँ’
प्रधानमन्त्री ओलीले अर्को वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्धजयन्ती मनाउने घोषणा गर्नुभएको छ । उहाँले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन् । उहाँले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राख्नुभयो । ‘बुद्धका उपदेश छन्, शान्तिका उपदेश छन्, मानवताका उपदेश छन्, करुणाका उपदेश छन् । यी सबैलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्छ’ उहाँले भन्नुभयो ।
बुद्धको सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उहाँले बुद्ध दर्शन, बुद्धका सिद्धान्त, र ऐतिहासिक महत्वका बारेमा खुलेर चर्चा गर्नुभयो । उहाँले भिक्षु आनन्दप्रति आभार प्रकट गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखी लिपिबद्ध रूपमा सुरक्षित राखिएको स्मरण गर्नुभयो । त्रिपिटकको पहिलो लिपि म्यूजियममा अझै रहेको जानकारीसमेत दिनुभयो ।
प्रधानमन्त्री ओलीले बुद्धका शिष्यहरूको योगदानको प्रशंसा गर्दै शान्ति, करुणा र प्रेमजस्ता मूल्यको प्रचारमा उनीहरूले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । हिंसाबाट टाढा रहन र मैत्रीभाव तथा करुणाको विकास होस् भन्ने उद्देश्यले काम गरिएको उहाँको भनाइ थियो ।
सोही कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययनका साथै चिन्तन-मननको केन्द्र बनाउन प्रतिबद्व रहेको बताउनुभयो । ‘लुम्बिनी गुरुयोजना पूरा गर्न तत्पर छौँ,’ उहाँले भन्नुभयो, ‘लुम्बिनीका साथै बृहत्तर लुम्बिनी क्षेत्रको विकास योजना लागू गर्न प्रतिबद्ध छौँ ।’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध दर्शनको महत्व दिन प्रतिदिन बढिरहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच