
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको समाजवादी मोर्चा पुनः गतिहीन बनेको छ । नेपाली कांग्रेसँगको गठबन्धनको समयमा सहयात्री दललाई साइजमा राख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा समाजवादी मोर्चा गठन भएको थियो । नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) नेपाल र संसदीय प्रक्रिया बाहिर रहेको नेपाल कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा गठन भएको थियो । आफूले सरकारको नेतृत्व गरिरहेको बेला प्रचण्डले मोर्चालाई तत्कालीन सत्तासहयात्री दल कांग्रेसलाई साइजमा राख्न प्रयोग गर्नुभयो । गत असार ३१ गते सरकारबाट बाहिरिएपछि मोर्चालाई सरकारमाथि दबाब बढाउने हतियारको रूपमा प्रयोग गर्ने प्रयास भयो । कांग्रेस र एमाले सम्मिलित वर्तमान गठबन्धनलाई टुटाउन प्रयासमा पनि मोर्चालाई उपयोग गर्ने प्रचण्डले अधिकतम् प्रयास गर्नुभएको थियो । संसद्मा समेत विपक्षी दलहरूलाई समाजवादी मोर्चाकै नेतृत्वमा गोलबन्द गर्ने प्रयासले केहीसमय अघिसम्म पनि निरन्तरता पाएको थियो ।
सडकमा राजावादीहरू सक्रिय हुन थालेपछि चैत १५ गते काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा गरेको विपक्षी चार दलीय समाजवादी मोर्चा फेरि निष्क्रिय बनेको छ । मोर्चाको विरोध सभालाई चुनौती दिँदै त्यसदिन तीनकुनेमा राजावादीले गरेको कार्यक्रम हिंसात्मक भएको थियो । राजावादीले नेकपा एसको कार्यालयमा समेत आगजनी गरी क्षति पुर्याएको थियो । चैत १८ गते समाजवादीको पार्टी कार्यालयमा पुगेको क्षति अनुगमनपश्चात् बसेको मोर्चाको बैठकले घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह भएको निष्कर्ष निकाल्यो । क्षतिपूर्ति ज्ञानेन्द्रबाट नै भराउने गरी सरकारको ध्यानाकर्षण गराउन डेलिगेसन गर्ने निर्णय गर्यो । तर, मोर्चाले सक्रियतालाई निरन्तरता दिन सकेन । त्यसयता मोर्चाले गति लिन सकेको छैन ।
मोर्चामा आबद्ध दलका नेताहरू आ-आफ्नो पार्टीगत गतिविधिमा केन्द्रित भएका छन् । मोर्चाको नेतृत्वकर्ता दल माओवादी केन्द्रले हालै तराई-मधेस हुलाकी मार्ग केन्द्रित जागरण अभियान सम्पन्न गरेको छ । हुलाकी मार्ग केन्द्रीय अभियानबाट उत्साही बनेको उसले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दै छ । मोर्चामा आबद्ध अर्का दल नेकपा एस पनि पार्टीको संगठनात्मक गतिविधिमा केन्द्रित छ । एसले अहिले पार्टीको महाधिवेशनबाट पारित पार्टीको नीति तथा सिद्धान्त र सांगठनिक गतिवधिको समीक्षा अभियान चलाइरहेको छ ।
अर्को दल नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव पार्टीको योजनाअनुसार कृषि क्रान्ति भन्दै देशका विभिन्न ठाउँमा पुगेर कृषि कर्म गरिरहनु भएको छ । मोर्चा स्थापनाको एक मुख्य घटक जनता समाजवादी पार्टी नेपाल मोर्चाबाट बाहिरिएको धेरै समय बितिसकेको छ । मोर्चामा आबद्ध अर्को घटक महिन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) माओवादी केन्द्रसँग पार्टी एकता गर्नमै केन्द्रित छ । मोर्चाका संयोजक तथा नेकपाका महासचिव विप्लवले केही दिनअघि एक दुई दिनमै बैठक बसेर आगामी योजना र कार्यक्रम तय गर्ने बताउनुभएको थियो । तर, मोर्चा घटकका शीर्ष नेताहरू आन्तरिक काममै व्यस्त हुँदा बैठक बस्न नसकेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको भनाइ छ । प्रवक्ता विश्वकर्माका अनुसार तत्काल मोर्चाको बैठक बस्न सक्ने अवस्था पनि छैन् । जेठ १५ गते संसद्मा सरकारले बजेट पेस गर्ने हुँदा बजेट अधिवेशनमा ध्यान दिनुपर्ने भएकाले मोर्चाको बैठक बस्ने सम्भावना छैन । केन्द्रमा बैठक बस्न नसकिए पनि जिल्ला स्तरमा संगठन विस्तार भइरहेको प्रवक्ता विश्वकर्माको दाबी छ । हालसम्म ७७ जिल्लामध्ये ७३ जिल्लामा मोर्चाले जिल्लास्तरीय समिति गठन गरिसकेको बताइएको छ ।
नेपाली विशेषताको समाजवादी क्रान्तिको आधार तयार पार्न मोर्चा गठन गरिएको दाबी नेताहरूले गरेका थिए । यद्यपि, मोर्चा गठन भएको दुई वर्ष पूरा हुन लाग्दासमेत प्रभावकारी काम गर्न सकेको छैन । २०७९ सालको आमनिर्वाचन अगाडि वामपन्थी समाजवादी शक्तिहरूबीच एकता, रूपान्तरण र धुव्रीकरणको अभियान चलाएको थियो । पछिल्लो समय आएर एकता प्रक्रिया नै रोकिएको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पहिला पार्टीलाई एकताबद्ध बनाएर लगेपछि मात्र त्यसपछि अन्य वामपन्थी पार्टीसँग एकता प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ । २०८४ को निर्वाचनसम्म वामपन्थी शक्तिबीच एकता हुने उहाँको दाबी छ ।
जेठभित्र एकता प्रक्रिया टुंगोमा पु¥याउने माओवादी र नेसपाबीच सहमति
नेकपा माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच जेठ मसान्तभित्र एकता प्रक्रियालाई टुंगोमा पु¥याउने सहमति भएको छ । माओवादीका अध्यक्ष प्रचण्ड र यादवबीच खुमलटारमा पछिल्लोपटक भएको छलफलमा जेठ मसान्तभित्र नै पार्टी एकता टुंगो लगाउने सहमति बनेको दाबी गरिएको छ । नेसपाको शनिबार शंखमूलमा बसेको कार्यकारिणी बैठकले पनि जेठ मसान्तभित्र एकता प्रक्रियालाई टुंगोमा पुर्याउने निर्णय गरेको स्रोतले बतायो । यद्यपि, माओवादीको फुर्को हटाउने विषयमा प्रचण्ड र यादवबीच कुरा मिलिसकेको छैन । पूर्वदेखि पश्चिम तराईलाई पार्टीमा एकताबद्ध बनाउनका लागि महाधिवेशनअघि नै माओवादी हटाउनुपर्ने यादवको मत छ । तर, प्रचण्डले पार्टी एकताका लागि १४ महिना अगाडि नै सहमति भइसकेकाले अब सबै कुरा महाधिवेशनबाट नै टुंग्याएर जाने अडान राख्नुभएको स्रोतको दाबी छ ।
लोकतान्त्रिक मोर्चाको बैठक जेठ १ गते
समाजवादी मोर्चा गतिहीन भइरहेको बेला मधेस केन्द्रित राजनीतिक दलहरू आबद्ध संघीय लोकतान्त्रिक मोर्चा भने सक्रिय हुन खोज्दै छ । संघीय लोकतान्त्रिक मोर्चाको पहिलो बैठक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बस्ने भएको हो । लोसपा नेपालका महासचिव मनीष मिश्रका अनुसार जेठ १ गते लोसपाको पार्टी कार्यालयमा बस्ने बैठकले मोर्चाको अगामी कार्यदिशा तथा योजनाहरू तय गर्नेछ । संविधान संशोधनको एजेण्डामा दबाब बढाउने उद्देश्यले मधेसकेन्द्रित सात राजनीतिक दलले चैत २१ गते मोर्चा घोषणा गरेका थिए । त्यसयता मोर्चाको औपचारिक बैठक बसेको छैन । वैशाख २४ गते एउटा अनौपचारिक बैठक बसेर मोर्चाले भारत–पाकिस्तान बीचको द्वन्द्व तथा वैशाख १७ गते रेशम चौधरीलाई गरेको पक्राउ लगायतको विषयमा विज्ञप्ति जारी गरेको थियो । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा, सिके राउत नेतृत्वको जनमत पार्टी,रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा आबद्ध छन् ।
राजावादीको आन्दोलन निस्तेज पार्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले जेठ १५ गते घोषणा गरेको आन्दोलनलाई निस्तेज पार्नेगरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ । सोमबार वाइसिएल नेपाल कर्णाली प्रदेशको पहिलो सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले सबै पूर्वपञ्चहरू मिलेर जेठ १५ देखि आन्दोलन गर्ने भनेर घोषणा गरेका छन् । म विशेष अपिल गर्न चाहन्छु । उनीहरूको त्यो गतिविधिलाई निस्तेज पार्नका लागि हर गाउँमा, हर टोलमा जानुपर्ने छ । उनीहरूको प्रतिक्रान्तिकारी षड्यन्त्रको भण्डाफोर गर्नुपर्ने छ ।’ वर्तमान सरकार उल्टो दिशामा हिँडेका कारणले जनतामा निराशा देखापरेको र त्यो असन्तुष्टिको दुरुपयोग राजावादीले गरेको आरोप लगाउँदै प्रचण्डले भन्नुभयो, ‘वर्तमान सरकारका गलत क्रियाकलाप, उल्टो दिशा हिँडेको कारणले जनतामा निराशा देखाप¥यो । त्यो असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्ने कोसिस गरे । समाजवादी मोर्चासमेत भएर प्रहार गर्दा राजावादीको बेलुन फुट्यो । अझै पनि उनीहरू दुःस्साहस गर्ने कुचेष्टा गर्दै छन् । आफ्नै राजा र राजपरिवारको हत्या हुँदा, हत्यारा पत्ता लगाउने कुरामा आँ पनि गर्न नसक्ने कायर यिनै होइनन् ? यिनीहरूको घुर्कीविरुद्ध देशभरका जनताले प्रतिवाद गर्नैपर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच