
सोमबारको अंकबाट
२०४६ सालको जनआन्दोलन :
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको कार्यकाल २०१६ सालमा स्व.जगन्नाथ आचार्य भक्तपुरबाट निर्वाचित सांसद बन्नुभएको थियो । तत्कालीन राजाले संसद भंग गरी ३० वर्षसम्म निर्दलीय व्यवस्था लागू गरेपछि बहुदलीय व्यवस्थाको प्राप्तिका लागि उहाँ देशभित्रका विभिन्न जिल्लामा पुगेर कमाण्डरको काम गर्नुभयो । बीपीको विश्वास पात्र भएकोले पञ्चायती व्यवस्थाका विरुद्ध गोप्यरूपमा संगठन बिस्तार गरी प्रजातन्त्रको दस्ता निर्माण गर्नुभएकोे थियो भनेर उहाँका समकालीन नेता ढुण्डिराज शास्त्रीले पंक्तिकारलाई बताउनुभएको छ ।
२०४६ सालको जनआन्दोलनको नेतृत्व सर्वमान्य नेता गणेशमानले गरेपछि उहाँको सल्लाह मुताविक उपत्यका र पूर्वीनाकासमेत गुरुले कब्जा गर्ने आदेश हामीलाई दिनुभएको थियो । उहाँको नेतृत्वमा भक्तपुरलाई बहुदलीय व्यवस्थाको जिल्ला घोषणा गरेका थियौं भनेर स्व.राधेश्याम जोत्छेले सुनाउनुभएको थियो । बुद्धिजीवी र पत्रकारका तर्फबाट माथवरसिंह बस्नेतले निकै सहयोग गर्नुभएको थियो भन्नुहुन्थ्यो स्व.रुद्रमणि भण्डारी । यसरी जनआन्दोलन २०४६ सफल पार्न उहाँको भूमिका कहिल्यै भुल्न नसकिने खालको थियो ।
भूमिसुधार मन्त्रीका रूपमा सेवा :
विसं २०४८ सालमा भक्तपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएपछि उहाँ गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा भूमिसुधार मन्त्रीका रूपमा सेवारत रहनुभयो । भूमिसम्बन्धी विशेष जानकार हुनुहुन्थ्यो । उपत्यकाका गुठीजग्गा कहाँ कति छन, दरबारले अर्चेको जमीन कति छ ? आदिबारे हाँलाई जानकारी थियो । तराईको मोहियानी हक, सुदूरपश्चिम कमैया मुक्ति, खलो प्रणाली, भाग्याप्रथा र हलीप्रथासम्बन्धी कानुन बनाउन जरुरी छ भन्नुहुन्थ्यो । सायद आफ्ना अवधारणा लागू गर्न असफल भएर हो कि ? विसं २०५० साल वैशाखमा मन्त्रीबाट उहाँले राजीनामा दिनुभयो । एकजना पाको र वरिष्ठ मन्त्रीले राजीनामा दिएपछि मन्त्रिमण्डलमा हलचल त हुने नै भयो ।
ने.का.पार्टीभित्रको आन्तरिक कलह एकमना सरकारमा प्रष्टै देखा प¥यो । ३६ र ७४ जनाको समूहले राजनीतिमा विग्रहको रूप लियो । ११४ जना सांसद संख्या रहेको सरकार नीति तथा कार्यक्रममा आफ्नै सरकारविरुद्धमा लाग्दा असफल भयो । गिरिजाप्रसाद कोइरालाको सरकारले ल्याएको नीति तथा कार्यक्रम असफल भएपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरे । नेपालको राजनीतिको अस्थिरता त्यहीँबाट सुरु भयो । अस्थिर राजनीतिको शृंखलाका कारण विसं २०५१ देखि वर्तमान कालसम्म राजनीतिले अनेक रूप लिइरहेछ ।
गणेशमान र जगन्नाथ आचार्यको नेतृत्वमा २०५१ को मध्यावधि निर्वाचनमा जनजागरणको नाममा केही जिल्लामा नेपाली कांग्रेसका उम्मेद्वारहरू स्वतन्त्र रूपमा चुनावी मैदानमा आए । सार्थक परिणाम निस्केन । जगन्नाथ दाइले बझाङबाट जनजागरणका नामबाट पंक्तिकारलाई उम्मेदवार बनाउन निकै कोसिस गर्नुभयो । सुकेधारास्थित मेरो घरमा आफैं आउनुभयो । चाक्सीबारी गणेशमान सिंहको घरमा लगेर यसबारे कुरा राख्नुभयो तर मैले असहमति जनाए । पार्टीले घोषणा गरेका उम्मेदवारलाई विजयी गराउन रुख चिहृमा छाप लगाउन बस्ती बस्तीमा घुमे ।
जगन्नाथ आचार्य स्मृति प्रतिष्ठान :
राष्ट्रियता समाजवाद र लोकतन्त्रका प्रणेता र बीपी कोइरालाका सच्चा अनुयायी जगन्नाथ आचार्यको घाँटीको क्यान्सरका कारण ८१ वर्षको उमेरमा निधन भयो । उहाँका पाँच छोराहरू रघुराज, विनोदराज, महेश्वर, ईश्वर र किशोर आचार्य र निशा, उर्मिला लगायत पाँचजना छोरीहरू हुनुहुन्छ । कान्छी धर्मपत्नी विमला आचार्यको सक्रियतामा विसं २०६५ सालमा जगन्नाथ आचार्य स्मृति प्रतिष्ठान स्थापना गरिएको छ । प्रत्येक वर्ष उहाँको नाममा सामाजिक कार्य सम्पन्न गरिँदै आएका छन् ।
यसभन्दा अघि भक्तपुरका पुराना कांग्रेस नेता लेखनाथ न्यौपानेलाई सार्वजनिक अभिनन्दन गरिएको थियो । १०२औं जन्मजयन्तीको उपलक्ष्यमा लोकतन्त्र दिवसको पनि सन्दर्भ पारेर प्रतिष्ठानले जगन्नाथ आचार्यका समकालीन प्रजातन्त्र प्राप्तिका योद्धा ढुण्डिराज शास्त्री, तीलकप्रकाश कायस्थ र गोविन्दकृष्ण जोशीलाई भक्तपुर कौशलटारमा सार्वजनिक रूपमा अभिनन्दन गरियो । यसैगरी स्व.आचार्यले स्थापना गरेको भक्तपुर कलेजकी छात्रा डिना दुवाललाई नगद पच्चीस हजार पनि प्रदान गरियो ।
अन्त्यमा :
एक युग थियो महामनाहरूको । जसको जिन्दगी देशको भलाइ, प्रगतिको लागि र पूर्णप्रजातन्त्र प्राप्तिका लागि त्यिो । कार्यकर्तालाई छोराछोरी समान व्यवहार गर्ने, पूरै मुलुकलाई घरपरिवार सम्झिने, खाद्यान्न सामग्री बाँढेर खाने, दुःख पर्दा साथ दिने नेताहरूको सद्गुण थियो । नेपाली कांग्रेस देशको भरपर्दो राजनीतिक पार्टी थियो । सामान्य गुट त थियो, बीपी र मातृका दाजुभाइका कीचमा तर बीपीका अगाडि सबै नतमस्तक हुने गथ्र्ये रे । इतिहासमा हामीले यही पढ्यौं, नेताहरूबाट यही सुन्यौं । कांग्रेस पार्टीको आदर्श बोकेर लाखौं कार्यकर्ता जन्मिए, जन्मदैछन् तर पार्टीभित्र सँगसँगै गुट, उपगुट पनि जन्मियो । साथै भ्रष्टाचार पनि सँगैपछि लाग्यो । समाजवादका सच्चा हिमायती जगन्नाथ आचार्य आफू मन्त्री पदमा रहँदा कतै पनि एक पैसा राज्यकोषबाट दुरुपयोग गरेको देखिएन ।
स्वाभिमानी भएर आचार्यले देशैभरि, उपत्यका खाल्डो र विशेष गरी भक्तपुर कांग्रेसलाई बचाएर राखे । कोटेश्वरस्थित जडिबुटीदेखि सानोठिमी हँुदै भक्तपुर सल्लाघारीसम्मको राजमार्गलाई जगन्नाथ आचार्य मार्ग नामकरण गर्दा उहाँप्रति न्याय होला कि ? नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुच्छे, तत्कालीन बामनेता नीलाम्बर आचार्य र विष्णुबहादुर मानन्धरले नख्खु कारागारमा जगन्नाथ आचार्यको आचरण, व्यवहार, सिद्धान्त र इमानदारीताको खुलेर राम्रो चर्चा गरेको पंक्तिकारले सम्झिरहेको छु । नेपाल सरकारले नै बीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु, सुशील कोइराला, जगन्नाथ आचार्य, महेन्द्रनारायण निधि, शेख इन्द्रिस, सिके प्रसाईं, रामबाबु प्रसाईं, शैलाजा आचार्य, द्वारिकादेवी ठकुरानी, भीमबहादुर तामाङ जस्ता महामनाको नाममा विशेष कार्यक्रम ल्याउनुपर्छ । उहाँहरू परिवारभन्दा राष्ट्रका साझा सम्पत्ति हुनुहुन्छ । विसं २००७ सालको जनक्रान्तिदेखि विसं २०४३ को जनआन्दोलनसम्म उहाँले विभिन्न समयमा गरी ७ वर्षसम्म कारागार जीवन बिताउनुभएको थियो । समाप्त
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच