
काठमाडौं । नेपाल सरकारले जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा १७५ विदेशी पाहुना सहभागी हुने भएका छन् । परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै संख्यामा नेपाली सहभागी हुने जानकारी दिनुभयो । उहाँले संवादमा करिब ३५० जना सहभागी हुने जसमा १२ देशको उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुने बताउनुभयो ।
संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूको उपस्थिति रहने उहाँले बताउनुभयो । संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभयो । उहाँले सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको बताउनुभयो ।
पहिलो संस्करणको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’
सगरमाथा संवादको पहिलो संस्करणको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ । सगरमाथा संवाद नेपालले स्थापना गरेको एउटा अन्तर्राष्ट्रिय मञ्च हो । मानव जगत्का विभिन्न समस्या र मुद्दाबारे संवाद गर्ने, छलफल गर्ने तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्ने यसको उद्देश्य रहेको छ । ‘संवादको तयारी अन्तिम चरणमा पुगेको छ । हामीले तयारीका विभिन्न चरण पार गरी यहाँसम्म आइपुगेका छौँ । हामीले १० वटा जति पूर्वसंवाद लगायतका तयारी पूरा गरेका छौँ,’ मन्त्री डा. राणाले भन्नुभयो । जसअन्तर्गत जुम्लामा हिमाली डायलग, काठमाडौंमा वायु संवाद, प्री-संवादलगायत रहेका छन् ।
प्रधानमन्त्री ओलीबाट सम्बोधन हुने
प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने सगरमाथा संवाद समारोहमा परराष्ट्रमन्त्री डा. राणाले स्वागत मन्तव्य दिने कार्यक्रम छ । उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ । भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप-२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ ।
१२ छुट्टाछुट्टै विषयमा कार्यक्रम सञ्चालन
कार्यक्रममा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिवले पठाउनुभएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिनेछ । उद्घाटनपछि १२ छुट्टाछुट्टै विषयमा कार्यक्रम सञ्चालन हुनेछन् । राजनीतिज्ञ, नीति निर्माता, विद्वान्, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढंगको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने कार्यक्रम रहेको मन्त्री डा. राणाले जानकारी दिनुभयो । १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैगिंक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा विभिन्न विषयमा छलफल हुनेछ । कार्यक्रमको मुख्य उद्देश्य जलवायु र पर्वतीय मुद्दामा क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल गर्नु रहेको डा. राणाले बताउनुभयो । सगरमाथा संवाद ‘जलवायु परिवर्तनः हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन हुनेछ ।
६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिने
सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिमस्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा शोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्था लगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिनेछन् । मन्त्री डा. राणाले नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने दृढ विश्वास रहेको उल्लेख गर्दै विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको बताउनुभयो ।
पाँच वर्षअघि रोकिएको थियो ‘सगरमाथा संवाद’
पाँच वर्षअघि कोभिड महामारीका कारण भन्दै रोकिएको ‘सगरमाथा संवाद’ अहिले हुन लागेको हो । प्रधानमन्त्री केपी ओलीले आफू यसअघि प्रधानमन्त्री रहँदा पनि नेपालको आफ्नै संवाद शृंखला आयोजना गर्ने तयारी अघि बढाउनुभएको थियो । तर, कोरोना भाइरस महामारीका कारण भन्दै अन्तिम समयमा स्थगित भएको थियो । गत असारमा प्रधानमन्त्री बन्नुभएका ओलीले आफ्नो कार्यकालमै सगरमाथा संवाद आयोजना गर्ने योजना बनाउनुभएको थियो । प्रधानमन्त्री ओलीले माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा सगरमाथा संवाद यसै वर्ष आयोजना गर्ने घोषणा गर्नुभएको थियो ।
भारतले दियो १५ युनिट कर्भ इभी उपहार
नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ इभी उपहार प्रदान गरेको छ । ती इभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणालाई हस्तान्तरण गर्नुभएको हो । मित्रता र सद्भावनाको एक महत्वपूर्ण संकेतका रूपमा इभी उपहार दिइएको भारतीय दूतावासले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच