
सत्ता सहकार्यका लागि एमाले र कांग्रेसबीचको गठबन्धन धेरै सहज देखियो । अंकगणितीय एवं अन्य धेरै पक्षहरूमा सहज देखिए तापनि बजेट निर्माण तथा सरकारको मुख्य सेवा शर्त सुविधा जनतामाझ लैजाने कुरामा भने यी मुख्य राजनीतिक घटकहरूमा केही मौलिक भिन्नता भएको कारण बजेटको स्वरूप स्वभाव तथा लक्ष्य निर्धारणदेखि विनियोजनमा समेत निकै रस्साकस्सी हुने देखिन्छ । राजनीतिमा धेरै कुरा सत्तामा सहज पहुँच र स्रोतको उपलब्धताले निर्धारण गर्ने भएकाले धेरैले महसुस नगर्लान् । तर, पनि लामो राजनीतिक पृष्ठभूमि भएकाहरूका लागि भने कतिपय नीतिगत पक्षले निकै अप्ठ्यारो अवस्थाको सिर्जना गर्ने पक्कापक्की जस्तो देखिएको छ ।
कांग्रेस र एमाले बाहिर आमसर्वसाधारणको नजरमा र केही विधि व्यवहारमा समान जस्ता देखिएका आर्थिक, नीतिगत, सैद्धान्तिक, ऐतिहासिक, कार्यकर्ता एवं उनीहरूको अल्पकालीन तथा दीर्घकालीन दृष्टिकोण तथा विचारको हकमा फरक आधार भएका दुई प्रतिस्पर्धी राजनीतिक दल हुन् । नेपालको हकमा मात्र यी दुइ दलहरू मिलेर सरकार बनेको हो । अन्यथा हाम्रो जस्तो शासकीय स्वरूप भएको मुलुकको हकमा यो किसिमको गठबन्धन सम्भावना पनि नभएको राजनीतिक ठट्टा हो जस्तो देखिन्छ । एमालेको उत्थान समुदाय र कांग्रेसको फरक जनसमुदायहरू रहेका छन् ।
नेपाली कांग्रेसले आफूलाई आजका दिनमा पनि नेपाली समाजको उच्च मध्यम वर्ग तथा सो भन्दा माथिको समाजको सबैभन्दा वैभवशाली वर्गको हिमायतीको रूपमा उभ्याउन खोजेको देखिन्छ । यसरी हेर्दा वार्षिक बजेटले सम्बोधन गर्नुपर्ने क्षेत्र तथा जनताको समूह नै फरक पर्न सक्छ ।
मालेलगायत विभिन्न नाम हुँदै मदन भण्डारीद्वारा दीक्षित जनताको बहुदलीय जनवादामा आधारित हालको राजनीतिक दलको आर्थिक नीतिगत कुरामा मुलुकको सबैभन्दा पुरानो डेमोक्र्याटिक दलको हैसियतका रूपमा गठबन्धनमा बसेर काम गर्न सजिलो पक्का पनि छैन तर पनि कतिपय आन्तरिक तथा बाहृय कारणले यी दुई दलबीच सत्ता समीकरणका लागि तयार पारेको हो भन्न अप्ठ्यारो मान्नु पर्दैन । यी दुई दलबीच बनेको पहिलो समझदारी विगत आठ-नौ वर्षमा संवैधानिक रूपमा मुलुकले भोगेका अप्ठ्याराहरूको गाँठो फुकाउने रहेको थियो ।
त्यसैगरी दोस्रो मुख्य समझदारी राजनीतिक रूपमा मुलुकको सत्ता राजनीतिलाई स्थिर बनाउँदै लगानिको माध्यमले आर्थिक रूपान्तरणको बाटोमा हिँडाउने लक्ष्य रहेको थियो । तर, सरकार बनेका यत्तिक दिनहरूमा यी दुवै विषयमा सिन्को नभाँचिनुको कारण अब सर्वसाधारणले खोज्न थालिसकेका छन् । आर्थिक क्षेत्रमा अनावश्यक भागबण्डा र रोइलोभन्दा खासै उल्लेखनीय सुधारको बजारमा केही पनि छनक देख्न सकिएको छैन । राजनीतिक रूपमा पनि प्रत्येक दिनजसो मुलुकको कार्यकारी सत्ता गठबन्धनमा समस्या छैन भन्दै हिँड्नुले पनि कतिपय तिक्तताका कुराहरूको संकेत गरिरहेको छ । यी घटनाक्रमको कारण यिनीबीचको सहमति पनि खोइ के खोइ के हुने हो कि भन्ने जस्तो देखिन थालेको छ ।
यदि नेपाली राजनीतिमा हालको राजनीतिक गठबन्धन यत्तिकै बिना ठोस उपलब्धि यसै सेलाएर गयो भने पुनः लामो समयसम्म यस किसिमको गठबन्धन बन्नेवाला छैन र बन्नु पनि हुँदैन । किनभने राजनीति बुझेका कतिपय व्यक्तिले यो कुरा त्यस समयमा पनि भनेका थिए तर स्थायित्व र आर्थिक अग्रगमनको नाममा विश्वास गरिएको मात्र थियो । यसरी मूल जरोमा समस्या देखिएको कारण आउँदो बजेट यसले ल्याउने कार्यक्रम वा रणनीतिलगायत अन्य कतिपय मौलिक विषयमा मतभेद हुनसक्ने कुराको अन्दाज गर्न सकिन्छ ।
पहिलो आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेटको प्राथमिकतामा पर्ने विविध परियोजनाहरूको छनौट तिनका लगि गर्नुपर्ने स्रोतको विनियोजन एवं स्रोतको सुनिश्चितता जस्ता विषयमै गठबन्धनमा किचलो हुनसक्ने संकेत देखिएको छ । कार्यान्वयनको हकमा पनि गठबन्धनमा समस्या देखिन्छ । कारण नेपाली कांग्रेस र एमालेको आर्थिक क्षेत्रमा लागू गर्ने नीतिगत फरकपनले यो अवस्थाको सिर्जना गर्न सक्दछ । एमाले सहकारी र एनजिओ एवं आइनजिओको माध्यमले आफ्ना कार्यकर्ताको माध्यमले नेपाली समाजको निम्न तथा मध्यम वर्गीय नेपालीहरू माझ राजनीति तथा दलको संगठनात्मक काम एकसाथ गर्ने ध्येयका साथमा काम गरिरहेको हुन्छ ।
जबकि नेपाली कांग्रेसले आफूलाई आजका दिनमा पनि नेपाली समाजको उच्च मध्यम वर्ग तथा सोभन्दा माथिको समाजको सबैभन्दा वैभवशाली वर्गको हिमायतीको रूपमा उभ्याउन खोजेको देखिन्छ । यसरी हेर्दा वार्षिक बजेटले सम्बोधन गर्नुपर्ने क्षेत्र तथा जनताको समूह नै फरक पर्ने देखिन्छ । बजेटमा ल्याइने धेरै कार्यक्रम अन्तत्वगत्वा जनमानसको आवश्यकता तथा विकास एवं समृद्धिसँग जोडिने हुनाले पनि गठबन्धन सरकारको निम्ति थोरै समस्या निम्त्याउन सक्छ । गणितीय हिसाबमा कांग्रेस थोरै अघि भए तापनि राजनीतिक रूपमा नेतृत्व एमालेसँग भएकोले लगभग बराबरीको अवस्थामा भएको भान एमालेलगायतमा रहेकाले पनि थोरै समस्या आउन सक्छ ।
तर, वास्तविकता भने कस्तो भएको छ भने विगत ३०/३२ वर्षको निरन्तरको सत्ता यात्राले एमालेसँग भएका समूह तथा कार्यकर्ता कांग्रेसका कार्यकर्ताभन्दा स्रोतसाधनमा माथिल्लो स्तरमा छन् । त्यसैगरी सत्ता तथा शक्तिको नजिक भएका र नवप्रवेशी तर सधैँ शक्तिशाली कांग्रेसीहरूको एउटा तप्का एकाएक भुइँमान्छेबाट समाजको गन्नेमान्ने धनी हुन सकेको छ । बहुसंख्यक नेपालीहरूको हकमा कुरा गर्ने हो भने कांग्रेसको हातमा अब न हिजोका जमिनदार नै बाँकी छन् न त समाजको सबैभन्दा ठूलो हिस्साको रूपमा रहेको भुँइमान्छेहरू र सोभन्दा माथिको समूह नै बाँकी छ ।
यसको मुख्य कारण तल्लो तहका नेपालीहरूले नेपाली कांग्रेसलाई हाम्रा लागि बनेको दल होइन भन्छन् भने माथिल्लो तप्काका नेपालीहरूले आफ्नो जायजेथा संरक्षणमा नेपाली कांग्रेसले अब राजनीतिक सक्षमता देखाउन सक्छ भन्ने कुरामा विश्वास गुमाइसकेको अवस्था छ । त्यसैले पनि कांग्रेस एमालेको यत्तिको शक्तिशाली हुँदाका बखत पनि शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा किन जनपक्षीय ठोस साहसिक निर्णय लिन सकिरहेका छैनन् भने यिनीहरूको मुख तथा हात थोरै कर्पोरेट घरहरूले नियन्त्रित गरिरहेका छन् । रणनीतिक पूर्वाधारको विकास तथा विस्तारमा पनि यी दुई दलबीचको टकराव देखिनसक्छ । सत्ता साझेदारीले मात्र पनि अबका दिन सजिलै चल्न सक्ने छैनन् ।
आर्थिक क्षेत्रमा साहसिलो रणनीतिक कार्यदिशा बनार, समय तोकेर, लक्ष्य, स्रोतका साथमा सही कार्यान्वयन गर्न सकेमा मात्र मुलुकले निकास पाउने सम्भावना देखिएको छ । तर, नेतृत्व यो वा त्यो निहुँमा सत्ता समय लम्ब्याउने र आफ्नो सधैं राम्रो र अरूको सधैं कुभलोको कुरा गरेर समय सक्ने काममा लागेको छ । सरकारले गर्ने अति समान्य कामहरू पनि समयमा नगरिदिने, नीतिगत रूपमा स्रोतको दुरुपयोगका घटनालाई पनि कानुनी दायरामा ल्याउन नसक्दाको परिणाम मुलुकमा सुशासन भन्ने पदावली नेताजीहरूको भाषणबाजी र प्राज्ञिक कामहरूका लागि मात्र हो कि जस्तो भएको छ । मुलुकले विगत एक महिनादेखि गभर्नर जस्तो अत्यन्तै महत्वपूर्ण पदको व्यक्ति चयन गर्न सकिरहेको छैन ।
बाहृय सूचकहरू सबै राम्रो अवस्थामा तर आन्तरिक अर्थतन्त्रका यावत गतिविधिले आशातीत काम नगरिरहेको अवस्थामा व्यावसायीहरू आउँदो बजेट र सरकारले लिने वित्तीय नीति र तिनमा हुन जाने रचनात्मक फेरबलदललाई नियालेर बसिरहेको अवस्थामा सरकार भने साना मसिना कुराहरूमा अल्झेर बसेको छ जुन पटक्कै राम्रो होइन ।
यो वा त्यो निहुँमा सत्ताका मुख्य घटकहरूले नै यसमा समस्या देखाउनुले सुशासन, निर्णय क्षमताको साथमा कर्तव्य परायणता स्पष्टै झल्किरहेको छ । मुलुकमा विगत लामो समयदेखि आर्थिक तथा व्यावसायिक गतिविधिकिो दिशा, गति तथा व्यवहार राम्रो बाटोमा नभएको र मुलुकमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा वित्तीय क्षेत्रको सुप्रिमो मानिने संस्थाको मुख्य कार्यकारिणी व्यक्तिको चयनमा देखिएको यो जात्रा पनि नेपालको हकमा राम्रो पाठ भएको छ । बाहृय सूचक सबै राम्रो अवस्थामा तर आन्तरिक अर्थतन्त्रका यावत गतिविधिले आशातीत काम नगरिरहेको अवस्थामा व्यावसायी आउँदो बजेट र सरकारले लिने वित्तीय नीति र तिनमा हुनजाने रचनात्मक फेरबलदललाई नियालेर बसिरहेको अवस्थामा सरकार भने साना मसिना कुरामा यसै अल्झेर बसेको छ जुन पटक्कै राम्रो भने हुँदै होइन ।
व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । युवा सक्रिय जनशक्तिको विदेश पलायन एवं पुँजीगत वस्तु तथा सेवाको आयातमा भएको कमीको कारण मुलुकभित्र व्यावसायिक लगानी तथा वस्तु तथा सेवाको उत्पादनको क्षेत्र पचास प्रतिशतको हाराहारीको क्षमतामा चलिरहेको छ । लगानीको अस्थालाई सुधार नगर्ने हो भने निकट भविष्यमै राज्यको कुनै पनि आर्थिक अवयवलाई सम्हाल्न नसकिने अवस्था नआउला भन्न सकिँदैन । बैंक तथा वित्तीय क्षेत्रमा विगत लामो समयदेखि ६/७ अर्ब लगानियोग्य रकम थुप्रिएको छ । साना मझौला तथा ठूला सबै लगानिकर्ताको मानसिकतामा सकारात्मक भावना फर्काउन सकिएको छैन । निजी एवं सार्वजनिक दुवै क्षेत्रको लगानी अभिवृद्धिमा नीतगत, कानुनी एवं व्यावहारिक सबै पक्षमा समयसापेक्ष सुधारको सुरुवात यथाशीघ्र गरिहाल्नुपर्ने समय भएको छ ।
अर्थतन्त्रको हरेक क्षेत्रमा व्यावसायिक लगानीको विस्तारको साथमा उत्पादनमा वृद्धि गर्नु नै अहिलेको अपरिहार्य अवस्था हो । ऊर्जा र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना हुँदाहुँदै यथेष्ठ व्यावसायिकताको विस्तार हुनसकेको छैन । ऊर्जामा उत्पादनको साथमा बजार व्यवस्थापन नेपालको हकमा चुनौतीपूर्ण हुँदैगएको छ भने पर्यटन क्षेत्रमा विद्यमान पूर्वाधारलगायत नीतिगत पक्षले राम्रो छवि तथा खर्च योग्य पर्यटक भित्र्याउन सकिरहेको छैन । त्यसैले पनि हालको कांग्रेस-एमालेको गठबन्धनले अर्थतन्त्रमा विद्यमान यावन सम्भावना भएका क्षेत्रहरूको पहिचान तथा उपयुक्त समाधानसहितको बजेट निर्माण तथा कार्यान्वयनमा ध्यान पुर्याउनुपर्ने देखिन्छ । यदि हालको राजनीतिक गठबन्धनले पनि आर्थिक तथा व्यावसायिक गतिविधिमा सुधार ल्याउन सकेन भने भोलि अवस्था जटिलतातर्फ उन्मुख हुने प्रष्ट देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच