
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले मंगलबार टोलीको बिदाइ गरे । शृंखलाअगाडि नेपालले बेलायतको स्थानीय टोली तथा स्टकल्याण्डको ‘ए’ टोलीसँग अभ्यास खेल खेल्नेछ । नेपाली टोली मंगलबार साँझ नै बेलायत प्रस्थान गरेको छ ।
नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल स्कटल्याण्डमा खेल्न केही गाह्रो हुने भए पनि टोली त्यसका लागि तयार रहेको बताउनुहुन्छ । ‘स्कटल्याण्डमा खेल्न गाह्रो हुन्छ । तर, हामीले उनीहरूलाई त्यहाँ हराइसकेका छौं । सबै खेलाडी फिट रहेकाले टोलीको मनोबल उच्च छ । हामी त्यहाँ राम्रो प्रदर्शन गर्नेछौं,’ मल्लले भन्नुभयो, ‘यो शृंखलामा कम्तीमा पनि दुई जित निकाल्न सक्यौं भने हाम्रो आगामी यात्रा केही सहज हुनेछ ।’
लिग-२ को शृंखलाका लागि नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), गुलशनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी (उप-कप्तान), सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल हुनुहुन्छ । यस्तै लिग-२ पछि हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाका लागि किरण ठगुन्ना, लोकेश बम र रूपेश सिंहलाई टोलीमा समावेश गरिएको छ । किरण र रूपेशले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको हो ।
बिदाइ कार्यक्रममा मुख्य प्रशिक्षक स्टुअर्ट ल र कप्तान रोहितकुमार पौडेल भने उपस्थित हुनुभएको थिएन । क्यानका सचिव पारस खड्काले स्टुअर्ट व्यक्तिगत कारणले बेलायत गइसकेको जानकारी दिनुभयो । उहाँ त्यहीँबाट टोलीमा जोडिने र रोहितको भने परीक्षा चलिरहेका कारण दुई दिनपछि मात्रै बेलायत जाने उहाँले जानकारी दिनुभयो ।
क्यानको सेन्ट्रल कन्ट्र्याक्टबाट बाहिरिए सन्दीप
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गर्नुभएको छ । उहाँले नेपाली टोली आइसिसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताउनुभएको हो । उहाँले यो कदम क्रिकेट र देशबाट अलग हुने कुरा नभएको पनि बताउनुभएको छ । उहाँले निरन्तर सहयोगका लागि क्यानलाई धन्यवाद पनि दिनुभएको छ ।
उहाँ सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘धेरै सोचविचारपछि मैले यसपटकका लागि क्यान केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन, यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।’
सन्दीप क्यानको केन्द्रीय सम्झौतामा रहनुभएका ३३ पुरुष खेलाडीमध्येका एक हुनुहुन्छ । उहाँ ‘ए’ ग्रेडमा रहेका पाँच खेलाडीमा रहनुभएको थियो । यो ग्रेडका खेलाडीको तलब मासिक एक लाख रुपैयाँ छ । ग्रेडमा सन्दीपसहित रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आशिफ शेख हुनुहुन्छ । पछिल्लो समय क्यानप्रति सन्दीप असन्तुष्ट देखिँदै आउनुभएको छ र त्यहीअनुसारको अभिव्यक्ति पनि उहाँले दिँदै आउनुभएको छ । सन्दीपले पछिल्लो समय क्रिकेटमा राम्रो प्रदर्शन गर्न सक्नुभएको छैन । पूर्वकप्तान सन्दीपलाई यसपटक कुनै नेतृत्वको भूमिका दिइएको छैन । यसबाट पनि उहाँमा असन्तुष्टि बढेको देखिन्छ । लामिछानेले पाँच दिनपहिले नै पत्र पठाएर क्यानको केन्द्रीय सम्झौतामा नरहने जानकारी गराइसकेको बताइएको छ । तर, स्कटल्याण्डमा हुने आइसिसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि जाने टोलीमा रहनुभएका सन्दीपको पत्रबारे सन्दीप र क्यान दुवै पक्ष मौन थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच