
काठमाडौं । यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित रहेको निर्माणपक्षले जनाएको छ । चलचित्रका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार यो चलचित्रले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ । ‘नेपालमा आर्थिक क्रान्ति ल्याउनका लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो । तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो’, दयाहाङले भन्नुभयो ।
हिमाल कडरिया निर्माता रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्नुभएको छ । कथा तथा पटकथा सुवेदीले लेखेका छन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा बनेको यो चलचित्रमा यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, बसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगातका कलाकारको अभिनय छ ।
‘सत्य कहिल्यै लुक्दैन’
मंगलबार अबेर राति अचानक सामाजिक सञ्जाल तात्यो । नेपाली चलचित्र उद्योगसँग जोडिएका दर्शक, समर्थक तथा पत्रकारहरूले एकै प्रकारको स्ट्याटस देखे– ‘सत्य कहिल्यै लुक्दैन’ । यो वाक्यांश लेख्नेहरू चलचित्र ‘महाभोज’ का निर्देशक र कलाकारहरू थिए ।
निर्देशक दिनेश राउत, अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङलगायतले एकै समयमा उक्त वाक्यांश लेखेपछि सामाजिक सञ्जालमा अनेक अड्कलबाजी हुन थाले । के यो चलचित्रको प्रचार रणनीतिको हिस्सा हो ? कि चलचित्रसँग जोडिएको कुनै गहिरो सत्यले मिडियामा पुग्नुअघि कलाकारहरूले जनतालाई संकेत गरेका हुन् ?
‘सत्य कहिल्यै लुक्दैन’ भन्ने यो साझा स्ट्याटसलाई कतिपयले सहकारी पीडितहरूको पक्षमा कलाकारहरूको ऐक्यबद्धताको रूपमा बुझेका छन् । चलचित्रमा देखिएको कथावस्तु कतै यति संवेदनशील त होइन, जसले ठूला व्यक्तित्व वा संस्थाहरूको अनुहार देखाउने हो ? किनकि कलाकारहरूको स्ट्याटसमा कुनै नाम वा आरोप खुलाइएको छैन, तर वाक्य आफैंले धेरै कुरा बोलिरहेको छ ।
‘महाभोज’को कथा, निर्देशन, कलाकारहरू र कथनहरूलाई हेर्दा यस्तो आभास हुन्छ- यो चलचित्रले पर्दामा मात्र होइन, पर्दा पछाडिको सत्यलाई पनि उजागर गर्ने प्रयास गरेको छ । त्यही सत्य, जसलाई धेरैले दबाउन खोजे । तर, कलाकारहरूको एक स्वरले भनिदियो, ‘सत्य कहिल्यै लुक्दैन ।’
अब त्यो सत्य के हो ? के चलचित्रले कुनै यथार्थ घटना खोल्न लागेको छ ? के कसैले चलचित्रमाथि दबाब दिने प्रयास गरिरहेको छ ? अथवा के चलचित्रले केही यस्ता कुराहरू उजागर गर्छ, जसले ठूलाबडाहरूलाई असहज बनाउन सक्छ ?
यी सबै प्रश्नको उत्तर अब एकै छ, ‘महाभोज’ हेरेपछि थाहा हुनेछ । तर, अहिलेलाई यत्ति भन्न सकिन्छ, नेपाली चलचित्रको पर्दापछाडि केही चलिरहेको छ, जुन पर्दामा ‘सत्य’को रूपमा छर्लंग हुनेवाला छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच