
नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा अब लिग चरणका १३ खेलमात्र बाँकी छन् । तीन टोली प्लेअफ दौडबाट बाहिरिँदा सात टोली शीर्ष चारमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । भारत-पाकिस्तान तनावले स्थगित आइपिएल आगामी शनिबारदेखि पुनः सुरु हुँदैछ । नयाँ तालिकाले प्रतियोगितालाई अझ रोमाञ्चक बनाएको छ । पछिल्ला दुई दिनमा लखनउ, मुम्बई, पञ्जाब र बैंग्लुरुका खेलहरू छन् । चारै टोली प्लेअफ दौडमा छन् र पछिल्ला खेलहरूको नतिजाले शीर्ष-२ स्थान पनि निर्धारण गर्नेछ ।
११ खेलमा आठ जितबाट १६ अंकसहित गुजरात पहिलो स्थानमा छ । टोलीको दिल्ली, लखनउ र चेन्नईसँग तीन खेल बाँकी छ । यीमध्ये एउटा खेल जिते पनि टाइटन्स प्लेअफमा पुग्नेछ । यद्यपि, यदि टोली शीर्ष-२ मा पुग्न चाहन्छ भने उसले कम्तीमा दुई खेल जित्नुपर्नेछ । तीनवटै खेल जितेर गुजरातले शीर्ष-२ मा आफ्नो स्थान पक्का गर्नेछ ।
बैंग्लुरुको पनि ११ खेलमध्ये आठ जितबाट १६ अंक छ तर गुजरातभन्दा खराब रनरेटका कारण टोली दोस्रो स्थानमा छ । आरसिबीलाई प्लेअफमा पुग्न तीनमध्ये केवल एक जित आवश्यक छ । टोलीले कोलकाता, हैदराबाद र लखनउको सामना गर्नुपर्नेछ । शीर्ष-२ मा पर्न आरसिबीले बाँकी तीन खेल पनि जित्नुपर्नेछ ।
पञ्जाबले ११ खेलमा सात जित र एक बराबरीबाट १५ अंक जोडेको छ । टोलीले अब राजस्थान, दिल्ली र मुम्बईको सामना गर्नुपर्नेछ । प्लेअफमा स्थान पक्का गर्न पञ्जाबलाई तीनमध्ये दुई खेल जित्न आवश्यक छ । १७ अंकसहित यदि टोलीले छनोट हुन चाहन्छ भने दिल्लीलाई हराउनुपर्नेछ । यदि पञ्जाबले क्यापिटल्सलाई पराजित गर्यो भने दिल्ली वा मुम्बईबाट केवल एउटा टोली प्लेअफमा पुग्न सक्षम हुनेछ किनकि दुवैले एकअर्काको सामना गर्नुपर्नेछ । शीर्ष-२ मा पर्न पञ्जाबले तीनवटै खेल जित्नुपर्नेछ र गुजरात वा बैंग्लुरुमध्ये एक खेल हारोस् भनेर कामना गर्नुपर्नेछ ।
मुम्बई इण्डियन्सले सुरुवाती पाँच खेलमध्ये एक खेलमात्र जितेको थियो तर टोलीले पछिल्ला सात खेलमध्ये ६ खेल जितेर प्लेअफमा पुग्ने आशा कायम राखेको छ । १२ खेलमध्ये सात खेल जितेर एमआई १४ अंकसहित चौथो स्थानमा छ । यदि पाँचपटकको च्याम्पियन टोली प्लेअफमा पुग्न चाहन्छ भने उसले दिल्ली र पञ्जाबविरुद्धका बाँकी दुवै खेल जित्नुपर्नेछ । यदि एमआईले एउटा पनि खेल हारेमा प्लेअफमा पुग्ने उसको आशा अन्य टोलीहरूमा सीमित हुनेछ ।
दिल्लीले प्रतियोगिताको सुरुवात लगातार पाँच खेल जितेर गरेको थियो तर टोलीले पछिल्ला ६ खेलमध्ये चार खेलमा हार बेहोरेको थियो । क्यापिटल्स ६ जित र एक बराबरीबाट १३ अंकसहित पाँचौं स्थानमा छ । डिसीले गुजरात, मुम्बई र पञ्जाबविरुद्ध तीन खेल खेलेको छ, तीनै शीर्ष चारमा छन् । यदि क्यापिटल्स यहाँबाट छनोट हुन चाहन्छ भने उसले तीनै खेल जित्नुपर्नेछ । यदि टोलीले मुम्बई र पञ्जाबलाई हरायो भने दुई जितले पनि प्लेअफमा स्थान सुनिश्चित गर्नेछ ।
डिफेन्डिङ च्याम्पियन कोलकाताले १२ खेलमा केवल पाँच जित हासिल गरेको छ, टोलीको एक खेल पनि अनिर्णित रहृयो, यी खेलबाट ११ अंकसहित कोलकाता छैटौं स्थानमा छ । केकेआरले बैंग्लुरु र हैदराबादविरुद्ध दुई खेल खेल्नेछ । यदि टोलीले एक खेल पनि हारेमा प्लेअफबाट बाहिरिनेछ । दुई खेल जितेर पनि यदि केकेआर प्लेअफमा पुग्न चाहन्छ भने पञ्जाब, मुम्बई र दिल्लीले सबै खेल हारोस् भनेर कामना गर्नुपर्नेछ ।
लखनउले ११ मध्ये पाँच खेलमात्र जितेको छ र १० अंकसहित ७औँ स्थानमा छ । एलएसजीको हैदराबाद, गुजरात र बैंग्लुरुबाट तीन खेल छन् । तीनवटै खेल जिते पनि टोलीको १६ अंकमात्र पुग्नेछ । यहाँबाट फेरि छनोट हुनका लागि टोलीले पञ्जाब, मुम्बई र दिल्लीले सबै खेल हारोस् भनेर कामना गर्नुपर्नेछ ।
सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किंग्स प्लेअफ चरणबाट बाहिरिएका छन् । अब तीनै टोलीले शीर्ष सात टोलीको गणित बिगार्न सक्छन् । आरआर र सिएसकेले पनि एकअर्काविरुद्ध खेल खेल्नुपर्नेछ तर यसले कसैलाई पनि हानि वा फाइदा पु¥याउने छैन । अर्कोतर्फ यदि तीनै टोलीले शीर्ष सात स्थानमा रहेको एउटा टोलीलाई पनि हराए भने प्लेअफमा पुग्ने उनीहरूको आशा चकनाचुर हुन सक्छ ।
जडेजा सबैभन्दा लामो समयसम्म नम्बर १ टेस्ट अलराउण्डर
भारतका रविन्द्र जडेजा आइसिसी अलराउण्डर टेस्ट वरीयतामा सबैभन्दा लामो समयसम्म नम्बर १ मा रहने खेलाडी बन्नुभएको छ । उहाँले ११५१ दिन अर्थात् ३८ महिनादेखि टेस्ट क्रिकेटमा अलराउण्डरको वरीयतामा शीर्ष स्थान कायम राख्नुभएको छ । गत वर्ष जडेजाले उत्कृष्ट सिजन बिताउनुभयो । उहाँले २९.२७ को औसतमा ५२७ रन बनाउनुभयो । उहाँले २४.२९ को औसतमा ४८ विकेट पनि लिनुभयो ।
जडेजाले ज्याक कालिस, कपिल देव, इमरान खानजस्ता खेलाडीहरूलाई पछाडि छोड्नुभएको छ । उहाँ ९ मार्च २०२२ मा वरीयताको शीर्ष स्थानमा हुनुहुन्थ्यो । बुधबार जारी गरिएको टेस्ट अलराउण्डर वरीयतामा जडेजा ४०० रेटिङ अंकका साथ नम्बर–१ मा हुनुहुन्छ । उहाँपछि बंगलादेशका मेहदी हसन मिराज (३२७ अंक) र मार्को जानसन (२९४ अंक) हुनुहुन्छ । अष्ट्रेलियाका प्याट कमिन्स र बंगलादेशका शकिब अल हसन शीर्ष पाँचको सूचीमा परेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच