
ललितपुर । नयाँ बस्ती युथ क्लब ‘बी’ डिभिजनबाट रेलिगेसनमा परेको छ । जारी शहीद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबार मध्यपुर युथ एसोसिएसनले श्रीभगवती क्लबलाई एक-एकको बराबरीमा रोक्दै अंक खोसेपछि नयाँ बस्ती दुई खेलअघि नै ‘सी’ डिभिजनमा घटुवा हुने पक्का भएको हो ।
नयाँ बस्ती पछिल्लो खेलमा झापा फुटबल क्लबसँग पराजित भएको थियो । यस्तै, नयाँ बस्तीले सरस्वती युथ क्लबविरुद्ध उजुरी हालेर पाएको तीन अंक पनि घटेको छ । एन्फाको अपिल कमिटीले सरस्वती क्लबका धिरेन्द्रबहादुर शाहको निलम्बन फुकुवा गर्दै सरस्वती क्लबको खोसिएको तीन अंक पनि फिर्ता गरेपछि नयाँ बस्ती संकटमा परेको हो ।
नयाँ बस्तीको ११ खेलबाट पाँच अंकमात्र छ र अंकतालिकाको पुछारमा छ । नयाँ बस्तीले अब बाँकी दुवै खेल जिते पनि १२औँ स्थानमा रहेको मध्यपुरलाई भेट्ने छैन । मध्यपुरको ११ खेलबाट १२ अंक छ । ‘बी’ डिभिजन लिगबाट पुछारका दुई टिम रेलिगेसनमा पर्ने प्रावधान छ ।
११ खेलबाट ११ अंक नै जोडेको टुसाल युथ क्लब १३औँ स्थानमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ । टुसालसँगै मध्यपुर, ब्रिगेड ब्वाइज क्लब र श्रीकुमारी क्लब रेलिगेसन ब्याटलमा छन् । यी टिममध्ये एक टिम रेलिगेसनमा पर्नेछ ।
११औँ चरणको खेल सकिँदा ‘ए’ डिभिजनमा बढुवा हुने एक टिम र रेलिगेसन पर्ने एक टिमको टुंगो लागेको छ भने अब बढुवा हुने र रेलिगेसन पर्ने एक-एक टिमको टुंगो लाग्न बाँकी छ ।
हाल ११ खेलबाट २३ अंकसहित दोस्रो स्थानमा रहेको श्रीभगवती क्लब बढुवा हुने होडमा छ । मध्यपुरसँग बराबरीमा रोकिँदा श्रीभगवतीले बढुवा हुन कुर्नुपर्ने भएको हो । ११ खेलबाट अपराजित रहँदै २७ अंक जोडेको प्लानिङ ब्वाइजले ‘ए’ डिभिजनमा बढुवा पक्का गरिसकेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा ‘बी’ डिभिजनका १४ टोलीबीच भिडन्त भइरहेको छ । लिगको विजेताले १५ लाख रुपैयाँ, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।
यस्तै, ‘फेयर प्ले’ टोली र सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । लिगको शीर्ष दुईमा रहने टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछन् । अन्तिममा रहने दुई टोली रेलिगेसनमा पर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच