
काठमाडौं । निजी क्षेत्रले आर्थिक विकास र लगानी प्रवद्र्धनका लागि आगामी १० वर्षलाई लगानी दशक घोषणासहित नीतिगत सहजीकरणमा जोड दिएको छ । काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्था र आगामी बजेट’ सन्दर्भमा राजनीतिक पार्टीले लिनुपर्ने पहलकदमी सम्बन्धमा निजी क्षेत्रका व्यवसायीहरूसँगको अन्तरक्रियामा यस्तो जोड दिइएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी १० वर्षलाई लगानी दशक घोषणा गरेर अघि बढ्नुपर्ने बताउनुभयो । लगानी दशकले लगानी गर्ने लगानीकर्तामा उत्साह छर्ने काम गर्ने भन्दै उहाँले मुलुकमा नीतिगत स्थायित्वमा समेत जोड दिनुभयो । साधारण खर्च बढिरहेको र बाहृय सहयोग कमजोर भएकाले आन्तरिक पुँजी बढाउन जरुरी रहेको भन्दै ढकालले आन्तरिक पुँजी परिचालन गरेर यहीँबाट राजस्व उठाउनुपर्ने र त्यसका लागि स्रोत भनेको लगानी विस्तार नै गर्ने भएको ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई प्रोत्साहन गर्नै पर्ने हो । अहिले लगानी प्रवद्र्धनका लागि कानुन पनि परिवर्तन भइसकेको छ । लगानीको वातावरणलाई हामी पहिलो प्राथमिकता दिएर जान सकियो भने लगानी सिर्जनासमेत हुनेछ । रोजगारी सिर्जनासँगै राजस्व वृद्धिसमेत हुनेछ । धेरैभन्दा धेरै आमजनतालाई सेवा सुविधासमेत दिनेछ ।’
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रले आर्थिक शिथिलताको अवस्था लामो समयदेखि झेलिरहेको भन्दै समाधानमा अब राज्य गम्भीर हुनैपर्ने बताउनुभयो । सरकारले हरेक पटक सुधार गर्ने बताए पनि अहिले पनि अवस्था उस्तै रहेको उहाँको भनाइ थियो । निजी क्षेत्रको अवस्था शिथिलताबाट ग्रुजिरहेको, औद्योगिक उत्पादन निरन्तर घटिरहेको, निर्माण क्षेत्र संकुचित रहेको, साना तथा मझौला व्यवसायीको व्यापार बन्द भएको अग्रवालले बताउनुभयो । उद्योग व्यवसाय सञ्चालन गरेर पाइला-पाइलामा झमेला भोग्नुभन्दा विदेश जाने प्रवृत्ति बढेको, संकुचित नीतिका कारण पछिल्लो तीन वर्षमा एक लाखभन्दा बढी उद्यमी व्यवसायी कालोसूचीमा परेको उहाँले बताउनुभयो ।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले उद्योग, व्यवसाय दर्ता स्थानीय तह केन्द्रसम्म गरिने र नागरिकसँग राष्ट्रिय परिचयपत्र मागिँदा जनता आजित भएको भन्दै नागरिकलाई राज्यले विश्वास गर्न नसक्दा समस्या आएको बताउनुभयो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले १३ खर्बको लगानी, करिब १७ लाख श्रमिक, ४० लाख घरपरिवारलाई सेवा दिइरहेको यातायात क्षेत्र व्यवस्थित गर्ने बेला आएको बताउनुभयो । सिण्डिकेटका नाममा यातायात क्षेत्रलाई विगतमा पछि पार्ने काम भएको भन्दै उहाँले यातायात क्षेत्रमा भएको दोहोरो कर प्रणाली हटाउन माग गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच