
पहिले शिक्षण भनिन्थ्यो र आजभोलि शिक्षण सिकाइ क्रियाकलाप भन्ने गरिन्छ । अझ सिकाइ सहजीकरण भन्न बढी सजिलो हुन्छ । पहिले शिक्षकले सबै कुरा भन्दै जाने र विद्यार्थीले सुन्दै जाने हुन्थ्यो । यसमा सुनाइमा ध्यान केन्द्रित गर्नुपथ्र्यो तर अहिले सिकाइमा ध्यान केन्द्रित गर्नुपर्छ । अहिले यो भन्न थालिएको छ कि शिक्षकले पढाउने होइन र सिकाउने पनि होइन, विद्यार्थीले आफूले गर्दै जाने हो र जहाँ विद्यार्थीलाई सहयोगको आवश्यकता पर्दछ त्यहाँ सहजीकरण गरिदिने हो । सिकाइमा सहयोग गर्ने, आवश्यकतानुसार बाटो देखाउने वा मार्गदर्शन गरिदिने काम हो शिक्षकको । यसैले अब शिक्षक नभनिदिँदा पनि हुन्छ । शिक्षकको ठाउँमा शिक्षण सिकाइ सहजकर्ता प्रयोग गर्दा राम्रो हुन्छ भन्नेसम्म भनिन थालिएको छ ।
शिक्षालयमा सम्बन्धित शिक्षकले के सिकाउने ? यसका लागि हरेक विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइएको हुन्छ । पाठ्यपुस्तकलाई मात्रै पढाउनुपर्छ भन्ने होइन । पाठ्यपुस्तक निर्माण गरिएको हुन्छ पाठ्यक्रमको आधारमा । पाठ्यक्रमले नै के सिकाउने, कसरी सिकाउने र किन सिकाउने जस्ता आधारभूत पक्षबारे स्पष्ट पारेको हुन्छ । अर्थात्, पठनपाठनको उद्देश्य र तरिका पनि बताएको हुन्छ । साथै सिकारु अर्थात् विद्यार्थीमा के कति उपलब्धि भयो र कसरी मापन गर्ने आदि पक्षबारे पनि प्रष्ट पारिएको हुन्छ । शिक्षण सिकाइ क्रियाकलापमा सम्बन्धित विद्यार्थीको सबैभन्दा बढी सक्रिय भूमिका रहन्छ । जो जति सक्रिय रहन्छ उसले त्यत्ति धेरै क्रियाकलाप गर्ने अवसर पाउँछ । क्रियाकलापको माध्यमबाट नै बढी सिकिने कुरामा वर्तमान शिक्षा प्रणाली बढी सजग रहेको छ । हरेक तहको तहगत उद्देश्य रहेजस्तै कक्षाको कक्षागत उद्देश्य, विषयको विषयगत उद्देश्य, पाठको पाठगत उद्देश्य रहेको हुन्छ र सबै उद्देश्य चाहिँ शिक्षाको राष्ट्रिय उद्देश्यका आधारमा निर्धारण गरिएका हुन्छन् ।
शिक्षण नितान्त प्राविधिक पेशा भएकाले यस पेशामा उच्च प्रतिस्पर्धात्मक क्षमता भएका योग्यतम मानिसहरूको प्रवेश वाञ्छित छ । शिक्षण आफैंमा समर्पण र त्यागको पेशा भएकाले यस पेशाको उच्च सम्मान पनि हुनु अत्यावश्यक छ ।
शिक्षाको राष्ट्रिय उद्देश्यअनु रूपको जनशक्ति तयार पार्ने काममा शिक्षकको निकै महत्वपूर्ण भूमिका हुन्छ । पाठ्यक्रमले निर्धारण गरेका उद्देश्य तथा क्रियाकलापलाई विद्यार्थीसम्म पुर्याउने औपचारिक संयन्त्र विद्यालय हुन्छ र विद्यालयमा शिक्षक तथा कर्मचारी र विद्यार्थीहरूको सहक्रियाकलाप भइरहन्छ । त्यसो त सिकाइलाई निरन्तर चलिरहने क्रियाकलाप मानिएको छ । विद्यालयको सम्पूर्ण क्रियाकलापलाई शिक्षण सिकाइका लागि उपयुक्त मानिएको हुन्छ किनभने त्यहाँ निर्माण हुने सम्पूर्ण संरचनालाई शिक्षण सिकाइ क्रियाकलापमा सहयोग पुग्नेगरी बनाइएको हुन्छ । यसैले यो पनि मान्यता रहेको पाइन्छ कि विद्यार्थी जब विद्यालय पुग्दछन् तब त्यहाँ शिक्षक र पाठ्यपुस्तकबाट मात्र होइन, सम्पूर्ण गतिविधि र क्रियाकलापका साथै त्यहाँको वातावरणबाट पनि सिकाइ आर्जन गर्दछन् । विद्यालयमा प्रत्यक्ष वा परोक्षरुपमा विद्यार्थीहरूले सिक्नुपर्छ र सिकिरहनुपर्छ । कसैले सिकाएरमात्र होइन, स्वतःस्फूर्तरूपमा पनि सिक्ने वातावरण विद्यालयमा हुने हुनाले आजभोलि विद्यालयलाई शिक्षालय पनि भन्न थालिएको छ ।
शिक्षालय यथार्थमा सबैको लागि साझा सिक्ने थलो हो । शिक्षालयमा अभिभावक, शिक्षक तथा विद्यार्थी सबै पक्षले थोरबहुत निरन्तर सिकिरहने मौका पाउँछन्, मुख्यरूपमा विद्यार्थीका लागि लक्षित गरेर शिक्षालयको निर्माण गरिएको भए पनि सोझोरूपमा शिक्षकले किताब पढाउने र विद्यार्थीले पाठ पढ्ने हो । शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने ठाउँ भनेको विद्यालय हो । विद्यालय पनि सामान्य घरजस्तै हो तर यथार्थमा सिकाउनु र सिक्नु दुवै प्राविधिक काम हुन् । विद्यार्थीले के सिक्ने र शिक्षकले के सिकाउने भन्ने कुरा एउटा योजनानुसार चलेको हुन्छ, प्रक्रिया अनुसार अगाडि बढेको हुन्छ । राज्यले निर्धारण गरेको मापदण्डलाई लागू गर्नेपर्ने हुन्छ । हरेक शिक्षकले सिकाउने कुरा एउटै र हरेक विद्यार्थीले सिक्ने कुरा एउटै हुन्छ, कक्षा र विषय तथा पाठको सन्दर्भमा । साथै हरेक विद्यार्थीका लागि राज्यले निर्धारण गरेको उद्देश्यदेखि कति समयमा उक्त उद्देश्यका लागि कुन–कुन क्रियाकलाप सञ्चालन गर्नु–गराउनुपर्ने हो, सबै निश्चित प्रक्रियामा सम्पन्न गर्नुपर्ने हुन्छ ।
विद्यालय तहको अन्त्यमा राज्यले नै परीक्षा लिने अर्थात् मूल्यांकन गर्ने हुन्छ । यसरी पनि देखिन्छ, हरेक कक्षाको मूल्यांकन सम्बन्धित शिक्षकमार्फत सम्बन्धित विद्यालयले तथा तहको मूल्यांकन पालिकाले र अन्तिम तहको अन्तिम मूल्यांकन राज्यले गर्दछ । यसरी विद्यालय तहको अन्तिम मूल्यांकनको प्रमाणपत्र राज्यले नै उपलब्ध गराउँछ जसको मान्यता देश तथा विदेशमा रहन्छ । विद्यालयमा विद्यार्थी पुगेकै दिनदेखि विद्यालय तह पार गरेको दिनसम्म विद्यार्थीमा राज्यले ठूलो लगानी गरिसकेको हुन्छ । राज्यले विद्यार्थीको पाठ्यपुस्तक तथा छात्रवृत्ति र अन्य क्रियाकलापहरूमा लगानी गरेको हुन्छ । यसैगरी विद्यार्थीलाई सिकाउने शिक्षक, कर्मचारी तथा विद्यार्थी पढ्न जाने विद्यालयको भवन र अन्य काममा पनि लगानी गरेको हुन्छ । यसैगरी अभिभावक, समुदाय र सम्बन्धित पालिकाको पनि विद्यालय तथा विद्यार्थीमा लगानी भएको हुन्छ । विभिन्न तहको सरकार, स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा विद्यार्थीसमेतको सहक्रियाकलाप तथा समन्वयमा हुने शिक्षण सिकाइ क्रियाकलापलाई समग्रमा प्राविधिक कार्य मान्न सकिन्छ । अर्थात्, शिक्षकले गर्ने कार्य पनि प्राविधिक कार्य हो, शिक्षण पेशा आफैंमा प्राविधिक पेशा हो ।
अन्य पेशाको तुलनामा शिक्षण पेशा तथा अन्य कार्यालयको तुलनामा शिक्षालयमा राजनीतिक प्रभाव बढी हुने, स्थानीय राजनीतिकर्मीले आफ्ना निकटका मानिसलाई स्थायीबाहेक अन्य शिक्षक पदमा सजिलै नियुक्त गर्न पाउने अवस्था रहेकाले पनि शिक्षण पेशाप्रति आकर्षण बढ्न नसकेको हुनुपर्छ ।
यसलाई सामान्य पेशाको रूपमा लिनुभन्दा अझ विशिष्ट पेशा हो भन्ने कुरा विशेष विचारणीय छ । अझ शिक्षामा पनि प्राविधिक धारको सुरुवात केही दशक पहिलेदेखि भएको छ । साधारण विद्यालयमा पनि प्राविधिक धार संचालन भइरहेको अवस्थामा निसन्देह शिक्षण पेशालाई प्राविधिक पेशा मान्न सकिन्छ । प्राविधिक पेशा अपनाउनका लागि योग्यता प्रमाणित गर्नुपर्ने हुन्छ । कुनै पनि शैक्षिक योग्यताले सम्बन्धित पेशामा सामान्य रूपले प्रवेश गर्नको लागि मूल योग्यताको प्रमाणपत्रबाहेक अन्य प्रमाणपत्रको आवश्यकता पर्दैन । उदाहरणका लागि शाखा अधिकृतको लागि कुनै लाइसेन्सको परीक्षा उत्तीर्ण गर्नुपर्दैन, विश्वविद्यालयले उपलब्ध गराएको शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा नै सोझै उम्मेदवार हुन पाइन्छ तर प्राविधिक रोजगारीतर्फ जान चाहनेले सम्बन्धित सेवा आयोग वा आयोगबाट थप योग्यताको प्रमाणपत्रको आवश्यकता पर्दछ ।
चिकित्सा सेवातर्फ जान चाहनेले पनि शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेपछि फेरि लाइसेन्सको परीक्षा उत्तीर्ण गर्नुपर्छ अनि बल्ल कुनै नोकरीका लागि योग्य मानिन्छ । शिक्षण पेशामा पनि यही सन्दर्भ लागू भएको देखिन्छ । कोही पनि शिक्षण सेवामा प्रवेश गर्न चाहन्छन् भने विद्यालय वा विश्वविद्यालयले प्रदान गरेको शैक्षिक योग्यताको प्रमाणपत्रले मात्र पर्याप्त हुँदैन, शिक्षक सेवा आयोगले सञ्चालन गर्ने शिक्षण अनुमतिपत्र परीक्षा उत्तीर्ण गरेर शिक्षण अनुमति प्रमाणपत्र प्राप्त गर्नुपर्छ । हरेक प्राविधिक धारको पेशामा यस किसिमको व्यवस्था रहने र त्यसलाई प्राविधिक धार मानिने हुँदा शिक्षणलाई पनि प्राविधिक पेशा मान्नु सर्वथा उचित हुन्छ ।
शिक्षण नितान्त प्राविधिक पेशा भएकाले यस पेशामा उच्च प्रतिस्पर्धात्मक क्षमता भएका योग्यतम मानिसहरूको प्रवेश वाञ्छित छ । शिक्षण आफैंमा समर्पण र त्यागको पेशा भएकोले यस पेशाको उच्च सम्मान पनि हुनु अत्यावश्यक छ । तुलनात्मक रूपमा समाजमा शिक्षकको सम्मान अहिले पनि रहेको छ तर अन्य पेशामा संलग्नहरूले शिक्षण पेशामा लागेकालाई खासै सम्मानपूर्ण दृष्टिकोणले नहेर्ने भएकाले माध्यमिक तह (शाखा अधिकृतसरह)का शिक्षकले खरिदार वा नायब सुब्बा पदमा नाम निकाल्न सके तुरुन्त शिक्षण पेशालाई त्याग गर्ने गरेका छन् । यही मूलकारणले गर्दा उच्च गुणस्तरयुक्त जनशक्ति शिक्षामा पुग्न सकेका छैनन् ।
उच्च गुणस्तरयुक्त, पूर्ण प्रतिस्पर्धात्मक तथा उच्च सम्मानको अपेक्षा गर्नेहरूको पहिलो रोजाइमा शिक्षण पेशा नपर्ने तथा शिक्षकले पाउने सुविधामा पनि प्राविधिक पेशाको जस्तो केही पनि नहुने धेरैको रोजाइमा शिक्षण पेशा नपरेको हो । अन्य पेशाको तुलनामा शिक्षण पेशा तथा अन्य कार्यालयको तुलनामा शिक्षालयमा राजनीतिक प्रभाव बढी हुने, स्थानीय राजनीतिकर्मीले आफ्ना निकटका मानिसलाई स्थायीबाहेक अन्य शिक्षक पदमा सजिलै नियुक्त गर्न पाउने अवस्था रहेकाले पनि शिक्षण पेशाप्रति आकर्षण बढ्न नसकेको हुनुपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच