
बर्दिया । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र फेरि आन्तरिक विवाद चुलिएको छ । विवाद नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका संरक्षक रेशम चौधरीबीच देखिएको हो । दुवैले आफ्नो अनुकूलको सांसदलाई मन्त्री बनाउने अडान लिएपछि विवाद छताछुल्ल भएको हो । पार्टी अध्यक्षका हैसियतले रञ्जिताले मंगलबार बेग्लाबेग्लै पत्र पठाएर सांसद कैलाश चौधरीलाई मन्त्री नियुक्त गर्न सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन र मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिश गर्नुभएको थियो । कैलाली क्षेत्र नम्बर १ को (१) बाट प्रत्यक्ष निर्वाचित चौधरीलाई पार्टी अध्यक्ष रञ्जिताले मन्त्रीका लागि सिफारिश गर्नुभएको हो । सो पत्र बुधबार नै कैलाशले प्राप्त गरेको बताइएको छ । तर, रञ्जिताको निर्देशन कार्यान्वयन भएन । पार्टी संरक्षक रहनुभएका रञ्जिताका श्रीमान् रेशमले संसदीय दलमार्फत रञ्जिताको निर्देशन कार्यान्वयनमा रोक लगाइदिनु भएको हो ।
धनगढीमा बसेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकले मन्त्रीको सन्दर्भमा केन्द्रबाट निर्णय दिन एक साताको समय सीमा तोकेको थियो । संसदीय दलका नेता घनश्याम चौधरीले पत्र संख्या २०८१/०८२ चलानी नम्बर १३ मा निर्णय सम्बोधन गरी जानकारी पठाइदिने भन्दै पार्टी अध्यक्षलाई पत्र पठाउनुभएको थियो । सोही पत्रको आधारमा रञ्जिताले कैलाश चौधरीलाई मन्त्रीमा सिफारिश गरेको जानकारी संसदीय दलका नेता चौधरीलाई गराउनुभएको थियो । तर, रेशमले सो विषयमा आपत्ति जनाएपछि शपथग्रहण रोकिनुका साथै मन्त्री कसलाई बनाउने ? भन्ने विवाद पार्टीभित्र बढ्दै गएको छ । त्यसो त एक सांसदका अनुसार यो विवाद पाटीभित्र नभएर अध्यक्ष र संरक्षककै कारण भएको हो । उहाँका अनुसार दुई जनाको टसलका कारण मन्त्रालय केही महिनादेखि खाली रहेको हो ।
विवाद यतिसम्मको देखिएको छ कि रेशमलाई सर्वोच्चबाट पत्र लेख्न लगाएर पक्राउ गर्न लगाउने योजनासमेत रञ्जिताले बनाएको आरोप एकपक्षले लगाउन थालेका छन् । डेढ महिनादेखि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नै नभएपछि सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम तथा बजेट निर्माणमा समस्या देखिएको छ । नाउपाको आन्तरिक द्वन्द्वले सिंगो प्रदेशलाई नै असर परिरहेको छ ।
यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहनुभएका लक्ष्मण चौधरीले लेनदेन घुस काण्डको अडियो सार्वजनिक भएसँगै गत चैत १६ गते राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको हो । प्रदेशसभामा नाउपाका सातजना सांसद छन् । तीमध्ये बहुमत सांसद संरक्षक चौधरी पक्षका छन् । गत वर्ष रेशम दम्पतीबीचको यस्तै टकरावका कारण मुखैमा आएको मुख्यमन्त्रीको पदसमेत चिप्लिएको थियो । ०८१ वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीमा दम्पतीबीचको शक्ति संघर्ष चरमोत्कर्षमा थियो । सांसदहरू दुई समूहमा विभाजित भएका कारण मुखैमा आएको मुख्यमन्त्री पद पनि नागरिक उन्मुक्तिले गुमाउनुपरेको थियो । त्यसबेला एउटै पार्टीबाट दुई जनाले मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए । त्यही कारण एकीकृत समाजवादीले मुख्यमन्त्रीको मौका पाएको थियो । यी दुई बीचको विवादका कारण नाउपाको भागमा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय खाली छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच