
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नरमा क्षमतावान् व्यक्ति नियुक्त हुने बताउनुभएको छ । गत चैत २४ गतेदेखि राष्ट्र बैंकमा गभर्नर पद रिक्त छ, डेपुटी गभर्नर नीलम ढुंगाना कायममुकायम गभर्नरको जिम्मेवारीमा हुनुहुन्छ । प्रधानमन्त्री ओलीले गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुने बताउनुभएको हो । गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बिहीबार धारणा राख्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो, काम गर्नसक्ने मान्छे भए देशलाई भइहाल्छ, मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।’
प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्ष र सदस्यमा पनि सिफारिश समितिको सिफारिशका आधारमा क्षमता भएका व्यक्ति नियुक्ति भएको बताउनुभयो । एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा चिनेको बाहेक अरू पदाधिकारीसँग आफ्नो व्यक्तिगत चिनजान र सम्बन्ध नरहेको उहाँले बताउनुभयो ।
राष्ट्र बैंक ऐन २०५८ अनुसार, गभर्नरले अवकाश लिनु एक महिनाअगावै गभर्नर सिफारिश समितिले सिफारिश गरेका तीनजना व्यक्तिमध्येबाट एकजना गभर्नर नियुक्ति गरिसक्नुपर्ने व्यवस्था छ । ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिनाअगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्नेछ’, ऐनमा उल्लेख छ । तर, सरकारको स्वार्थ नमिल्दा यो प्रावधान पालना हुन सकेको छैन । जानकारहरूका अनुसार सरकारले जानाजान प्रक्रिया लम्ब्याउँदै राष्ट्र बैंकलाई नेतृत्वविहीन बनाइराखेको छ ।
यसरी लम्बियो प्रक्रिया
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा अन्ततः अर्थविद् विश्व पौडेलको नाममा सहमति जुटेसँगै निकास निस्कन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो भेटवार्तामा पौडेललाई गभर्नर बनाउने समझदारी बनेको हो । त्यसैले पौडेलले गभर्नर सिफारिश समिति सदस्य पदबाट राजीनामा बुझाइसक्नु भएको छ । सभापति देउवाले नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई कार्यकारी निर्देशकबाट राजीनामा दिन लगाएर गभर्नर बनाउन खोज्नुभएको थियो । तर, भट्टले राजीनामा दिए पनि एमाले उहाँलाई नियुक्त गर्न तयार भएन । भट्टको राजीनामा स्वीकृत हुन बाँकी भएको सन्देश कांग्रेसलाई पठाइयो ।
भट्टले कायममुकायम गभर्नर नीलम ढुंगानालाई राजीनामा पत्र बुझाउनुभएको थियो । उहाँले वैशाख २९ गतेसम्म राजीनामा स्वीकृत गर्नुभएको छैन । कांग्रेसभित्र कतिपले एमालेले नचाहेकाले ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको तर्क गरेका छन् । पछिल्लो चरण प्रधानमन्त्री ओली नै डा. गुणाकर भट्टलाई गभर्नर बनाउन नसकिने भन्दै कांग्रेसले अर्को नाम दिनुपर्ने प्रस्ताव अघि सार्नुभयो । राष्ट्र बैंकका कार्यकारी निर्देशकलाई आफँैले गभर्नर नियुक्त नगरेको नजिर ओलीले राखेपछि देउवा अप्ठेरोमा पर्नुभयो । त्यसपछि नै हो उहाँले अर्थविद् विश्व पौडेलको नाम अघि सार्नुभयो । गत शनिबार बालुवाटारमा भएको भेटमा सभापति देउवाले भट्टलाई गभर्नर बनाउन नमिल्ने हो भने विश्व पौडेल उपयुक्त हुन्छ भन्नुभएको थियो । प्रधानमन्त्रीले पनि तत्कालै मञ्जुरी जनाउनुभयो । त्यसपछि पौडेलले गभर्नर सिफारिश समिति सदस्यबाट राजीनामा दिनुभएको छ । अब अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको गभर्नर सिफारिश समितिमा फेरि नयाँ सदस्य नियुक्त गरेको छ । अब नियुक्ति सिफारिश प्रक्रिया अघि बढ्नेछ ।
दुई चार दिनमा गभर्नर नियुक्त हुन्छ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गर्नुभयो । ‘अब तलमाथि नभईकन दुई–चार दिनमै हामीले नयाँ गभर्नर पाउँछौँ,’ उहाँले भन्नुभयो । उहाँले सिफारिश समितिबाट विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बनेकाले सरकारले महाप्रसाद अधिकारी सदस्य र डा. पोषराज पाण्डे सदस्य रहेको सिफारिश समिति गठन गरेको बताउनुभयो । ‘गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा. विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो, त्यो डिफङ भयो । त्यसपछि फेरि हामीले पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ । डा. विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनः गठन गरेका छौँ,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच