
नमागिएको सल्लाह
अप्रिल २२, २०२५ का दिन पहलगाममा एक नेपालीसहित २६ हिन्दु पर्यटकको आतंककारी हमलामा मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाकारी पृथ्वीको कुनै कुनामा भए तापनि नछाड्ने चेतावनी दिएका थिए । मोदीको बोलीको पालना गर्दै भारतले उक्त घटनाको प्रतिकारस्वरूप दुई सातापछि मे ७ बुधबारका दिन पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा हमला गर्यो । ७ मे को बिहान एक बजे सुरु गरिएको २५ मिनटको छोटो ‘अप्रेसन सिन्दूर’ नाम दिएको सैन्य कारबाहीबाट पाकिस्तानका नौ स्थानमा आक्रमण भएको थियो । यस आक्रमणको निसाना पाकिस्तानमा रहेका आतंककारी संरचनालाई बनाइएको भारतीय पक्षको भनाइ छ । यो हमलामा लस्करे तैयबा, जैस-ए-मोहम्मद, हिजबुल मुजाहिद्दिनका मुख्य संरचनालाई लक्षित गरिएको थियो ।
सन् २०२५ मा पहलगामा घटनापछिका भारतले सिन्धु जलसन्धि खारेज, पाकिस्तानीका लागि भिसा रद्द, कूटनीतिज्ञलाई देश छाड्न भन्नु, पाकिस्तानी पक्षले हवाई रुट बन्द गर्नु, लाइन अफ कन्ट्रोलमा सेना आम्नेसाम्ने हुनु, कश्मीर क्षेत्रबाट बाहिर पनि आक्रमण विस्तार हुँदैजानुलगायत घटनाले पूर्णयुद्ध हुने परिस्थिति बनिरहेको थियो ।
भारतीय हमलाबाट जैस-ए-महम्मदका संस्थापक तथा कमाण्डर मसुद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएको घटनाबाट भारतले दाबी गरेजस्तो आतंककारी संरचनालाई लक्षित गरेको भनाइ सत्य नजिक देखिन्छ । पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भारतले गरेको हमलामा उनीहरूको ज्यान गएको थियो । यस कारबाहीबाट सन् २०१९ फेब्रुवरीमा जैस-ए-मोहम्मदले भारत प्रशासित कश्मीरमा गरेको आत्मघाती बम विस्फोटबाट ४० भारतीय सैनिकको ज्यान गएको घटनाको बदला पनि भारतले लिएको छ । भारतीय हमालको प्रतिकार गर्दा भारत प्रशासित कश्मीरको लाइन अफ कन्ट्रोल (यलओसी) नजिक पर्ने पुँछ जिल्लामा पाकिस्तानले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने तीनजना घाइते भएका थिए । पाकिस्तानी सेनाले पाँच भारतीय विमान र एक ड्रोन खसालेको दाबी गरेको सम्बन्धमा सोधिएको प्रश्नमा भारतीय सैन्य अधिकारीले युद्धमा नोक्सानी स्वाभाविक भएको बताउनुले भारतीय पक्षले पनि झस्काउने गरी क्षति व्यहोर्नु परेको अनुमान लगाउन सकिन्छ ।
भारत-पाक वैमनस्यको कथा
यसको चर्चा गर्न सन् १९४७ सम्म पुग्नुपर्ने हुन्छ-जुनबेला भारत, पाकिस्तान र बंगलादेश एउटै थिए । महम्मद अलि जिन्नाको पहलमा १४ अगस्त १९४७ मा पाकिस्तानको जन्म भयो भने त्यसको भोलिपल्ट १५ अगस्तका दिन भारत स्वतन्त्र भयो । उक्त दिन जवाहरलाल नेहरूले भनेका थिए-‘मध्यरातको घडीमा जब विश्व सुत्छ, भारत जीवन र स्वतन्त्रतामा ब्युझिनेछ ।’ भारत स्वतन्त्र त भयो तर मानव जीवनहरू चरम रूपमा असुरक्षित भए । अराजक भिडले चक्कु र मसाल बोकेर शहरहरूमा आक्रमण गर्यो । आगजनी भयो । सुरक्षाका लागि हिन्दु र सिखहरू भारततिर भागे भने मुस्लिमहरू पाकिस्तानतिर ।
अराजकताले सीमा नाघ्यो । मानवीय जीवनको मूल्य रहेन । लासले भरिएका रेलहरू भारतबाट पाकिस्तान र पाकिस्तानबाट भारत आउजाउ गर्नुपर्ने दर्दनाक परिस्थिति बन्नपुग्यो । त्यस घटनामा करिब २० लाख मानिसको ज्यान गयो, लाखौं घाइते भए । एक करोड पचास लाख मानिस जबर्जस्ती विस्थापित भए । यस घटनालाई इतिहासकै बलजफ्ती भएको बसाइँसराइको रूपमा लिन सकिन्छ । यस रक्तपातको केन्द्र बन्यो कश्मीर । मुस्लिम बाहुल्य भएको कश्मीरमा हरि सिंह नाम गरेका हिन्दु राजा थिए । पाकिस्तान समर्थित लडाकुले आक्रमण प्रतिकार गर्न चाहिने सहयोगका लागि भारतसँग गठबन्धन गरे । १९४७ देखि १९४९ सम्म भारत र पाकिस्तानबीच काश्मिरकै विषयलाई लिएर लडाइँ भयो । भारत–पाकिस्तानबीच गढेको वैमन्स्य र शत्रुताको कारण यही हो । तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूका ‘हाम्रो भूमिमा आक्रमण सहने छैनौं’ भन्ने र तत्कालीन पाकिस्तानका प्रधानमन्त्री लियाकत अलि खाँ का ‘कश्मीर पाकिस्तानको घाँटीको नसा हो, हामी यसलाई जीवन दिएर बचाउँने छौं’ जस्ता भनाइले परिस्थितिलाई असहज बनाउँदै लग्यो ।
सन् १९४९ मा संयुक्त राष्ट्र संघको मध्यस्थतामा युद्धविराम भयो । कश्मिरको दुई तिहाइ भूभाग भारतले पायो भने बाँकी पाकिस्तानले । शान्ति कायम राख्न लाइन अफ कन्ट्रोल (यलओसी) बनाउने सहमति भयो । करिब पाँच हजारले ज्यान गुमाएको यस लडाइको सहमतिमा पाकिस्तान मनैदेखि खुशी थिएन । पाकिस्तानले कश्मीरमा विद्रोह भड्काउँन सन् १९६५मा लडाकु पठायो । दुवै देशका नेताले युद्ध चर्काउँने भाषण गरे, ७००० जनताको ज्यान गयो । अर्थतन्त्र ध्वस्त भयो । एक महिनापछि संयुक्त राष्ट्र संघको मध्यस्थतामा युद्ध विराम भयो । भारत र पाकिस्ताबीच सन् १९७१ मा अर्को युद्ध भयो । जसको कारण विश्वमै सन्त्रास फैलियो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले बंगाली विद्रोही मुक्ति बाहिनीलाई तालिम दिएको झोकमा डिसेम्बर ३, १९७१मा पाकिस्तानले भारतीय हवाई अखाडामा बम खसाल्यो । इन्दिरा गान्धीले भनिन्-‘यो युद्ध हामीमाथि थोपरिएको छ, यो न्यायको लडाइँ पनि हो ।’ युद्धकै बीच करिब नब्बे हजार पाकिस्तानी सैनिकले भारत समक्ष आत्मसमर्पण गरे । पाकिस्तानको हार अवश्यम्भावी बन्यो ।
मुस्लिम भए तापनि पूर्वी पाकिस्तान (हालको बंगलादेश) र पश्चिम पाकिस्तान (हालको पाकिस्तान)बीच भाषिक र भौगोलिक रूपमा अलग पहिचान थियो । बंगाली समुदायको असन्तोषलाई व्यवस्थापन गर्न बुद्धिमत्तापूर्ण कदम चाल्नुपर्नेमा दमनको सहारा लिइयो । बंगाली भाषीका नेता शेख मुजिव रहमानले चुनाव जिते पनि पूर्वी पाकिस्ताको भएकै नाताले सत्ता हस्तान्तरण गरिएन । उल्टो सेनाले आफ्नै नागरिकमाथि ‘अप्रेसन सर्च लाइट’ नामक आक्रमणबाट बंगाली भाषीमाथि हिंसा मच्चायो । ३० लाख बंगाली भाषी मारिए । करिब एक करोड मानिस भारततिर शरण लिन बाध्य बने । यो अन्तिम सन्देश हुनसक्छ, आजदेखि बंगलादेश स्वतन्त्र छ, हिंसात्मक प्रतिरोध गर्नुहोस् भन्ने सन्देश दिएर शेख मुजिव रहमान गिरफ्तारीमा परे ।
शेख मुजिवले भने जस्तै १६ डिसेम्बर १९७१मा बंगलादेशको जन्म भयो । १९९८ मा परमाणु हतियारको परीक्षण गरेको सन्त्रासबीच सन् १९९९मा कारगिल युद्ध भयो, पाकिस्तानी लडाकुले कार्गिलका डाँडा कब्जा गरे, पछि भारतले फिर्ता लियो । करिब एक हजार सैनिकको ज्यान गयो । सन् २००१मा भारतीय संसद्मा भएको आतंककारी हमलाका कारण सन्निकट देखिएको लडाइँ कूटनीतिक प्रयासबाट समाधान गरिएको थियो । सन् २०१९मा पुलवामामा भएको आत्मघाती बम विष्फोटको जवाफमा भारतले पाकिस्तानको बालाकोटस्थित आतंककारी शिविर भनिएको स्थानमा आक्रमण ग¥यो । तत्कालीन पाकप्रधानमन्त्री इमरान खानको संयमको करण लडाइँ रोकियो । यसरी छोटो सयमको अन्तरालमा दुई देश युद्धको अवस्था आइरहेको छ ।
सन् २०२५ मा पहलगामा घटनापछिका भारतले सिन्धु जलसन्धि खारेज, पाकिस्तानीका लागि भिसा रद्द, कूटनीतिज्ञलाई देश छाड्न भन्नु, पाकिस्तानी पक्षले हवाई रुट बन्द गर्नु, लाइन अफ कन्ट्रोलमा सेना आम्नेसाम्ने हुनु, कश्मीर क्षेत्रबाट बाहिर पनि आक्रमण विस्तार हुँदैजानुलगायत घटनाले पूर्णयुद्ध हुने परिस्थिति बनिरहेको थियो । कूटनीतिक प्रयास भएको दृश्य पनि स्पष्ट देखिएको थिएन, युद्ध पण्डितहरू लडाइँ टार्न सिन्धु जलसन्धिको पुनर्वहाली पहिलो प्रयास हुनुपर्छ भनिरहेका थिए । सिन्धु नदीको पानी पाकिस्तानको कृषिको जीवनाधार हो । यसो हुन पनि चमत्कारको खोजी भइरहेको थियो । युद्ध-विश्लेषकहरू पूर्णयुद्धकै सम्भावनालाई इंगित गरिरहेका थिए । दक्षिणपूर्व एशियामात्र होइन, समस्त विश्व नै तनावमा रहेको अवस्थामा युद्ध सुरु भएको चौथो दिन मे १० शनिबार युद्ध विराम सहमति भएको खबरले विश्वका शान्तिप्रेमी नागरिकको अनुहारमा मुस्कान देखियो । दुई देशका सैन्य अधिकारीबीच दिनको ३ः५० बजे कुराकानी भएर पाँँच बजेपछि युद्ध विरामको घोषणा हुनु चमत्कारपूर्ण घटना थियो । तत्पश्चात् पाकिस्तानी पक्षबाट छिटपुट घटना भए पनि गएको आइतबारदेखि सीमाक्षेत्रमा शान्ति छाएको छ । सीमवर्ती क्षेत्रीय जनतामा खुशियालीको वातावरण बनेको छ ।
कसरी भयो चमत्कार ?
भारतले स्वीकार नगरे तापनि पाकिस्तानी पक्षले अमेरिकी मध्यस्थताका लागि राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुवियोलाई धन्यवाद दिएको छ । यसबाट संयुक्त राज्य अमेरिकाले मध्यस्थता गरेको स्पष्ट बुझ्न सकिन्छ । मध्यस्थता पनि दुवै पक्षलाई युद्ध खराब हो, यसमा कसैको जित हुँदैन भन्ने बुझाइ नभएसम्म यति सजिलो किसिमबाट सम्भव हुँदैन । भारतीय पक्षलाई जवाफी हमला गर्नु थियो, गर्यो, आतंककारी पक्षमा राम्रै क्षति पनि पुगेको अवस्था थियो । उता पाकिस्तान आन्तरिक राजनीतिक अस्थिरता, टाट पल्टिन लागेको अर्थतन्त्रका कारण युद्ध लड्ने अवस्थामा थिएन ।
पाकिस्तानले आतंकवादी संगठनलाई नियन्त्रण गरेर भारतीय विश्वास जित्न जरुरी छ भने भारतले सबै आतंकवादी हमला पाकिस्तानी सरकारकै निर्देशनमा भएको ठानी युद्धको मोर्चा कस्नु बुद्धिमानी होइन । पूर्णयुद्ध टरेको हो कि होइन भन्ने सवालको जवाफ भोलिका दिनमा दुवै देशका नेता र अधिकारीहरूको विवेकमा निर्भर रहने विषय हो ।
दैनिक अर्बाैं खर्च लाग्ने लडाइँ लड्नु पाकिस्तानका लागि आत्मघाती त छँदैथियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि युद्ध लडेर देशलाई जर्जर बनाउने मनस्थितिमा थिएनन् । भारतमा कूटनीतिक पृष्ठभूमिका विदेशमन्त्री र कूटनीतिक कौशल प्रदर्शन गरेका विदेश सचिव विक्रम मिश्रीका सल्लाह र कूटनीतिक प्रयास लडाइँ रोक्न सहायक सिद्ध हुनपुगे । शक्तिशाली रुसले एक–दुई दिनमै कब्जा गर्ने मनशायले गरेको युक्रेनमाथिको आक्रमण लामो समयसम्म चालु रहनु र युक्रेनले प्रतिरोध गर्न सक्नु बुझ्नेका लागि राम्रो सन्देश छँदैछ । आतंककारी संगठन हमासको पछिल्लो आक्रमणको कारण सुरु भएको लडाइँमा अमेरिका समर्थित शक्तिशाली इजरायललाई हमासलाई पराजित महसुस गराउँन कठिन परिरहेको अवस्था बुझ्नेहरूका लागि गतिलो पाठ सिकाइ हो ।
यस्तो अवस्थामा दुई आणविक शक्ति भएका देशबीच युद्ध भएर आणविक हतियारको प्रयोग हुनु मानव सभ्यताकै लागि घातक अवस्था थियो । पाकिस्तानको पक्षमा शक्तिशाली चीनले दिएको ढाडस, फ्रान्स निर्मित लडाकु विमानको प्रतिस्पर्धामा चीनमा निर्मित लडाकु विमान जे १० ‘सी’ को राम्रो प्रदर्शनका कारण भारत र ताइवानलाई मात्र होइन, पश्चिमी देशहरूलाई पनि झस्काइदिएको छ । चीनको विमानको सफल परीक्षण हुनुको लाभ चीनलाई प्राप्त भएको छ । पाकिस्तामा आफ्नो लगानी जोखिममा नपरोस् भन्नका लागि चीनको युद्ध पन्छाउने परामर्श पनि पाकिस्तानलाई नरम बनाउन कामयाव भएको हुनसक्छ । मोदीका गोदी मिडियाको आधारहीन समाचार भारतीय सरकारकै लागि टाउको दुखाइका विषय बनिरहेका थिए । रावलपिण्डी कब्जा जस्ता आधारहीन र उत्तेजना बढाउने अति प्रचारबाट जोगिएर युद्धविराम गर्नु भारतीयपक्षको विवेक मान्न सकिन्छ ।
तर, भोलिका दिनमा जोखिम कायमै छ-भारतमा हुने सबै आतंकवादी हमला पाकिस्तान सरकारकै प्रायोजनबाट हुने हुन् ? खासगरी मुस्लिम लडाकुको संलग्नतामा हुने आक्रमणबाट संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी जस्ता सबै सभ्य भनिएका देश प्रताडति छन् । जसरी यी देशमा झुक्याएर आतंककारी कार्य हुन्छ, त्यस्तै कार्य भारतमा मुस्लिम आतंककारीले गरेको अवस्थामा दुई देशबीच लडाइँको अवस्था आउनु जायज होइन । भारतीय पक्षले पाकिस्तानी सरकारको संलग्नताको विश्वासिलो आधारब वेगर युद्धको अवस्थामा जानु सर्वथा अनुचित हो । अर्को सत्य के पनि हो भने पाकिस्तानले पनि आफ्नो भूमिमा त्यस्ता आतंककारी संगठनहरूलाई संरक्षण दिएर राख्नु हुँदैन ।
पाकिस्तानले काश्मीर क्षेत्रमा आतंकवादी संगठनलाई प्रश्रय दिएको भारतीय भनाइ र काश्मीरका मुसलमानलाई भारतीय पक्षले दुःख दिएको भनाइ साथै कश्मीरको ठूलो भूभाग गुमाउनु परेको पाकिस्तानको पीडा त्यस क्षेत्रको तनावका कारण हुन् । यस तनावबाट पाकिस्तानले आफ्नो कूल गार्हस्थ उत्पादनको चार प्रतिशत रक्षामा विनियोजन गर्नुपरिरहेको छ, जब कि भारतको २.५ प्रतिशत छ । १९ दिन लामो तनाव र ८६ घण्टा ५५ मिनट लामो लडाइँ पूर्णयुद्धमा परिणत भएर करौडौं मानिसको मृत्यु र ठूलो भोकमारीको सन्त्रासका बीच युद्ध रोकिएको छ । वास्तवमा चमत्कार भएको छ ।
भारत प्रशासित कश्मीरमा गत वर्षमात्र दुई करोड २५ लाखभन्दा बढी पर्यटक पुगेको परिस्थितिलाई नियाल्दा यो क्षेत्र स्थानीय अर्थतन्त्रका लागि वरदान हो । युद्ध चालु रहेको अवस्थामा यस क्षेत्रको अर्थतन्त्र मात्र प्रभावित नभई यसको दीर्घकालीन असर हुनसक्ने थियो । पाकिस्तानले पनि आतंकवादी संगठनलाई नियन्त्रण गरेर भारतीय विश्वास जित्न जरुरी छ भने भारतले पनि सबै आतंकवादी हमला पाकिस्तानी सरकारकै निर्देशनमा भएको ठानी युद्धको मोर्चा कस्नु बुद्धिमानी होइन ।
पूर्णयुद्ध टरेको हो कि होइन भन्ने सवालको जवाफ भोलिका दिनमा दुवै देशका नेता र अधिकारीहरूको विवेकमा निर्भर रहने विषय हो । हेक्का रहोस्, युद्ध सृष्टि र सभ्यताविरोधी हो । यसको कारण पत्ता लगाएर समयमै समाधान खोजौं । विवेक गुमाएर धर्मयुद्ध वा अल्लाहको आदेश भनेर जुन भ्रम पालेर युद्ध गरे पनि न श्रीमद्भागवतका श्रीकृष्ण उद्धार गर्न आउनेछन् न त कुनै काल्पनिक अल्लाह । संयमित रहनु र विवेकशील भएर मानवले गरेको प्रगतिको रक्षा गर्नु सबै पक्षका लागि बुद्धिमानी हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच