
कैलाली । धनगढीमा नेपाल खानेपानी संस्थानले वितरण गर्ने पानीमा कोलिफर्म भेटिएको छ । धनगढी उपमहानगरले गरेको परीक्षणमा खानेपानी संस्थानले वितरण गर्ने पानीमा कोलिफर्म भेटिएको हो ।
धनगढी उपमहानगरपालिकाले नेपाल खानेपानी संस्थानको विभिन्न ठाउँको पानी टंकी, शिवनगर खानेपानी तथा व्यक्तिका नल, खानेपानीको धारा तथा घरमा भरेको पानीको नमुनाहरू संकलन गरेर परीक्षण गर्दा जुगेडास्थित खानेपानी मुल टंकीको पानीमा कोलिफर्म फेला परेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताउनुभयो । उहाँले अधिकांश नल, डिप बोरिङ, घरको खानेपानीको धारा तथा जुगेडामा रहेको खानेपानी संस्थानको मुल टंकीको पानीमा कोलिफर्म फेला परेको बताउनु भयो ।
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका खानेपानीको टंकी र व्यक्तिगत धारा र नलको विभिन्न ४५ वटा पानीको नमुना संकलन गरेर परीक्षण गरेको हो । जुगेडास्थित खानेपानी टंकीको दुई पटक नमुना परीक्षण गरिएकोमा दुबै पटक कोलिफर्म देखा परेको अवस्थीले बताउनुभयो । ‘हामीले १९ वटै वडाको विभिन्न स्थानबाट ४५ नमुना संकल्न गरेर परीक्षण गर्दा जुगेडास्थित खानेपानीको मुल टंकी र सबैजसो नल तथा आर्टिजनको पानीमा कोलिफम अर्थात् दिशाजन्य पदार्थ भेटिएको छ,’ उहाँले भन्नुभयाे, ‘जुगेडाको खानेपानीको मुल टंकीकै पानीमा कोलिफर्म भेटिएको छ । पहिलो पटक कोलिफर्मको मात्रा प्रति सय एमएल पानीमा ४ सिएफयु भेटिएकोमा दोस्रो पटक नमुना परीक्षण गर्दा दुई सिएफयु फेला परेको छ।’
जुगेडाको मुल टंकीको खानेपानीमा कोलिफर्म देखा परे पनि अन्यत्रको खानेपानी संस्थानको पानी तथा शिवनगर खानेपानी योजनाको मुल टंकीको पानीमा भने कोलिफर्म फेला नपरेको अवस्थीले बताउनुभयो ।
आर्टिजन र नलको पानीमा कोलिफर्म अत्यधिक
धनगढी उपमहानगरपालिका क्षेत्रमा हालिएका सार्वजनिक र निजी नल तथा आर्टिजनको पानीमा अत्यधिक कोलिफम फेला परेको छ । प्रति एक सय मिलिमिटर पानीमा शून्य सिफयू हुनुपर्नेमा वडा नम्बर १७ को आधारभूत स्वास्थ्य केन्द्रको आर्टिजनको पानी तथा वडा नम्बर १८ मा वडा कार्यालयको हातेपम्पको पानीमा कोलिफर्मको मात्रा सबैभन्दा बढी फेला परेको उपमहानगरले जनाएको छ । दुबै स्थानको पानीमा काेलिफर्मको मात्रा एक सय सिएफयू फेला परेको छ ।
वडा नम्बर १६ को बेहडाबाबा माध्यमिक विद्यालयको डिप बोरिङ धाराको पानीमा कोलिफर्मको मात्रा १० सिएफयू फेला परेको छ भने वडा नम्बर १४ को आधारभूत स्वास्थ्य केन्द्रको फिल्टरको पानीमा कोलिफर्मको मात्रा ४० सिएफयू फेला परेको छ । यस्तै, वडा नम्बर १९ को फूलबारी स्वास्थ्य चौकीको हाते पम्पको पानीमा पनि कोलिफर्मको मात्रा २० सिएफयू फेला परेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताउनुभयो ।
फुटेको पाइप लाइन मर्मत नहुँदा धारामा कोलिफर्म
खानेपानी संस्थान र अन्य खानेपानी योजनाले वितरण गरेको पानी धारासम्म आइपुग्दा दूषित हुने गरेको छ । बेहडाबाबा खानेपानीको मुल टंकीको पानीमा कोलिफर्म फेला नपरेको भए पनि मन्दिरको धारामा भने कोलिफर्मको मात्रा पाँच सिएफयू फेला परेको छ । धाराको टुटी सफा नगर्दा, फुटेको पाइप मर्मत नगर्दा र पानी राख्ने भाडो सफा नहुँदा कोलिफर्मको मात्रा भेटिने गरेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताउनुभयो । खानेपानी संस्थानले फुटेको पाइप लाइन तत्काल मर्मत नगर्दा पनि खानेपानी दूषित हुने गरेको परीक्षणको क्रममा देखिएको छ ।
नल र सेफ्टी टंकी सँगसँगै हुँदा पानी दूषित हुँदै
धनगढीमा अधिकांश परिवारले नल र सेफ्टी टंककोबीचको दूरी कायम गर्न नसकेको पाइएको छ । वडास्थित स्वास्थ्य चौकी र विद्यालयमा सेफ्टी टंकी र पानीको धाराबिचको दूरी कम हुँदा पानीमा कोलिफर्म भेटिएको उपमहानगरले जनाएको छ । खानेपानीको धारा तथा सेफ्टी टंकीबीचको दुरी कम्तिमा पचास फिट हुनुपर्छ मापदण्ड रहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताउनुभयो । यस्तै, पानी भण्डार गर्ने भाडा वर्तन र फिल्टर नियमित सफा नगर्दा पनि पानीमा कोलिफर्म देखापर्ने सम्भावना बढी हुने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच