
काठमाडौं । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको वर्तमान सत्ता गठबन्धन परिवर्तनको प्रयास जारी छ । मुख्यगरी प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेससहितको गठबन्धन सरकार परिवर्तनको निरन्तर प्रयासमा रहनुभएको छ । वर्तमान गठबन्धन परिर्वतनको प्रयासमा प्रचण्डलाई अन्य विपक्षी दलहरूले पनि अप्रत्यक्ष ढंगले साथ दिइरहेका छन् । त्यसो त सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र ठूलो पंक्ति सरकारका काम कारबाहीप्रति रुष्ट छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण कांग्रेसका प्रभावशाली नेताहरू समेत वर्तमान सरकार लामो अवधि जान नहुने निष्कर्षमा पुग्न थालेका छन् । सत्तारूढ दलको प्रमुख घटक कांग्रेसभित्रको असन्तुष्टि र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्षको एकपछि अर्को प्रयासका बाबजुद सत्ता समीकरणको प्रयासले सार्थकता भने पाउन सकेको छ ।
पछिल्लो समय गठबन्धनका दुई दल कांग्रेस र एमालेबीच चुलिएको खटपटकाबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन सम्वाद भएको छ । पार्टीको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि देउवाको गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रचण्डले देउवालाई फोन गर्नुभएको हो । प्रेस सेन्टर डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवासँग कुराकानी भएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मैले डडेल्धुरामा न्यानो स्वागत पाएको सुनाए । म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो । डडेल्धुरामा स्वागत भन्नुभएको छ । उहाँले फोन वार्तामा थप के कुराकानी भयो ? भनेर केही खुलाउनुभएन । प्रचण्डले कांग्रेसका पुराना नेताहरूसहित अन्य राजनीतिक दलका नेताहरूसँग पनि कुराकानी भएको जानकारी दिनुभयो । २०७९ को निर्वाचनपछि प्रतिनिधि सभाको ठूलो दल नेपाली कांग्रेस पटक-पटक सत्ता साझेदार दलको भूमिकामा छ ।
यसबीचमा कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई पालैपालो प्रधानमन्त्रीका रूपमा समर्थन गरेको छ । गतवर्ष असार १७ गते नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति अनुसार अब १४ महिनापछि कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनेछ । यद्यपि, प्रमुख तीन दलबीच गठबन्धन केन्द्रित विभिन्न गतिविधि भइरहेका छन् । माओवादी केन्द्रकै नेताहरू अहिलेको गठबन्धन आफ्नै भारले ढल्ने दाबी गरिरहेका छन् । यिनै आशंकाबीच शुक्रबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवालाई डडेल्धुरा पुगेर फोन गर्नुभएको हो । यसअघि १५ मंसिर २०८० मा नेकपा एमालेका अध्यक्ष ओलीले मेची–महाकाली अभियानको सिलसिलामा देउवाकै गृहजिल्ला डडेल्धुरा पुगेर फोनमा कुराकानी गर्नुभएको थियो । ओलीकै सोही फोन कूटनीतिअनुसार नै प्रचण्डले शुक्रबार देउवासँग टेलिफोन वार्ता गर्नुभएको हो ।
संयोग त के छ भने ओलीले डडेल्धुराबाट देउवालाई फोन गरेको दिन शुक्रबार थियो । प्रचण्डले पनि शुक्रबार नै फोन गर्नुभएको छ । अर्को दुवै नेताले आफ्नो पार्टीको राजनीतिक अभियान लिएर डडेल्धुरा पुगेको समयमा देउवालाई फोन गरेका हुन् । अर्को संयोग भनेको दुवै नेताले आफू प्रमुख प्रतिपक्षी दलको नेता रहँदा सत्ताको प्रमुख साझेदार दलको नेताका हैसियतमा रहनुभएका देउवासँग वार्ता गरेका हुन् । २०८० मंसिर १५ गते ओलीले डडेल्धुराबाट देउवालाई फोन गर्दा ओली प्रमुख प्रतिपक्षी दलको नेता हुनहुन्थ्यो । प्रचण्ड पनि अहिले प्रमुख प्रतिपक्षी दलको नेताकै रूपमा हुनुहुन्छ । ओलीले डडेल्धुरा पुगेर देउवालाई फोन गरेको सात महिनापछि ओली-देउवाबीच निर्णायक छलफल भई दुई ठूला दलबीचको गठबन्धन निर्माण भएको थियो । कतै प्रचण्डले पनि यस्तै, राजनीतिक उपलब्धिका लागि फोन कूटनीति अघि सार्नुभएको त होइन भन्ने आशंका राजनीतिक वृत्तमा उब्जिएको छ ।
एमालेसँग एकताबारे प्रचण्डको टिप्पणी : ‘इनफ इज इनफ’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनअघि नेकपा एमालेसँग एकताको कुनै सम्भावना नभएको दाबी गर्नुभएको छ । प्रेस सेन्टर डडेल्धुराले शुक्रबार सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा तत्काल एमालेसँगको एकता अस्वीकार गर्दै प्रचण्डले भन्नुभयो, ‘हामीले पहिल्यै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो । प्रस्ताव गरेको पनि हो । भएको पनि हो । तर, त्यो तोडियो । फेरि पनि एकपटक हुन्छ त भनेर बल गरेको हो । तर, नराम्रोसँग धोका खाइयो । पार्टीलाई मात्र होइन जनतालाई पनि धोका दिइयो । त्यसकारण ‘इनफ इज इनफ’ । अहिले तत्काल त्यो सम्भावना छैन । २०८४ को चुनावसम्म त्यस्तो सम्भावना छैन ।’ तत्काल वाम एकताको कुनै सम्भावना नरहेको कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भनेको प्रचण्डको जिकिर छ । अहिले सरकार ढलाउनेतिर माओवादीले ध्यान नदिएको तर, घटनाक्रम भने देश राम्रोसँग अगाडि नबढेको प्रष्टै देखिएको जिकिर गर्दै प्रचण्डले भन्नुभयो, ‘हाम्रो दलको हिसाबले भन्दा अहिले सरकार बनाउने र ढलाउनेतिर हाम्रो ध्यान छैन । यद्यपि, हामीलाई चिन्ता छ-सरकार गलत बाटोतिर हिँडिरहेको छ । सरकार सुशासनमा हामीले सुरु गरेका कामहरूलाई भत्काउनतिर लागेको छ । राम्रो काम गर्नेलाई दण्डित गर्दै छ नराम्रो काम गर्नेलाई पुरस्कृत गर्दै छ । उल्टो बाटो हिँडेकोमा हामी चिन्तित छौँ र सरकारलाई खबरदारी पनि सुरुदेखि गरेका छौँ ।’ आलोचकलाई जति इमान्दार भए पनि फसाउने र नजिककालाई जसरी पनि बचाउनेगरी सरकार र प्रधानमन्त्री कार्यालय लागेको उहाँको आरोप छ ।
गभर्नर नियुक्तिमा सरकारले चलखेल गरिरहेको आरोप
अध्यक्ष प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो । अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन् । यो सबै कारणले सरकार गलत दिशातिर गएको छ । राष्ट्र र जनताको हितविपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हितविपरीत गएको छ । अझै पनि हामी यो मध्यपहाडी लोकमार्गसम्म जाँदा सरकारलाई खबरदारी र चुनौती दिँदै जानेछौँ । हाम्रो कुराको बिल्कुल सुनवाइ सरकारले गर्न चाहेको छैन,उल्टो दिशातिर हिँडेको छ ।’
प्रचण्डलाई अभिनन्दन
नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लास्थित पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियान सुरु भएको हो । उद्घाटन कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले पाटनमा आयोजना गरेको सभालाई माओवादीका शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान कास्कीको पोखरामा आएर समापन हुनेछ । यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुभाम्भ गर्न बैतडी पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिनुभएको हो । अभियानमा भाग लिन पार्टीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू पुगेका थिए । यसअघि हुलाकी राजमार्ग केन्द्रित अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ । अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच