
‘जीवन उत्सव हो । यसलाई सन्तुष्टिका साथ बाँचेर महाउत्सव बनाऔँ !’
जीवनमा असन्तुष्टि बोकेर बाँच्नेहरूले यो सूत्रलाई ख्याल गर्नुपर्छ, जीवन उत्सवमय बन्न केही कठिन छैन । कवि ठाकुर बेलवासे सम्भवतः यसरी नै जीवन यापन गरिरहेछन् । आफ्नो नवीनतम कवितासङ्ग्रह ‘चोटहरूको उत्सव’ मार्फत उनले पुष्टि गरेका छन्- जीवनमा खुशीमात्रै हुँदैन, जीवनले मुस्कानको गीत मात्रै गाउँदैन जीवनमा पीडा पनि हुन्छ, विरहको गीत गाउने क्षणसँग पनि साक्षात्कार गर्नुपर्छ । पाइला-पाइलामा चोटहरू खेपेर हिँड्नुले जीवनको खास लक्ष पहिचान गर्छ । यस दृष्टिकोणले जीवनमा आइपर्ने चोटहरूलाई बेलवासेले सहर्ष स्वीकारेका छन्, यस्ता चोटहरू जीवनका उत्सवमय क्षणहरू हुन् भन्ने उनको स्वीकारोक्ति छ । सबैभन्दा बढी चोट उनको प्रेमविषयकतर्फ लक्षित छ-
‘मनभित्र पिँधमा बसेर
मनै भत्काइदिने
र घुमन्ते चरोजस्तो उडी जाने
आँखाको नानी बनेर
दृष्टि नै बन्द गराइदिने
र इन्द्रेणीजस्तो हराई जानेलाई
कल्पिएर बस्नु पनि
जिन्दगीको अर्को नशा !
+ + +
भविष्य देखाएर वर्तमान लुटी जानेको
अनुहारमा आफ्नो हाँसो खोज्नु पनि
जिन्दगीको अर्को एउटा भयानक नशा !’
वास्तवमा, प्रेम नै जीवनको एउटा त्यस्तो विषय हो जसको मूल्य सबैभन्दा महँगो छ । अर्को शब्दमा भन्नुपर्दा, कुनै मूल्यमा आँक्न नसकिने अमूल्य छ प्रेम । कुनै मूल्यमा पनि प्रेमलाई खरिद गर्न सकिन्न । जीवनको सर्वप्रिय विषय हो प्रेम । प्रेमले घात सहन्छ, प्रतिघात सहन्छ, दुःख–पीडा सहन्छ तर त्यसले कहिल्यै कुनै गुनासो गर्दैन, सदैव मुस्कुराइरहन्छ ।
प्रेम नभए यो दुनियाँ किन हुन्थ्यो ? केका लागि हुन्थ्यो ? प्रेम छ र नै त प्रेमीहरू छन् ! प्रेमीहरू छन् र त प्रेम छ । प्रेमै प्रेमको समिश्रण जहाँ घृणा पनि छ, रिस पनि छ, उत्तेजना पनि छ, आवेग पनि छ, इष्र्या छ, धोखा छ, घात÷प्रतिघात छ, के छैन ?
प्रेम, जो मुस्कुराइरहन्छ-त्यो मुस्कानको सामु कोही पनि टिकिरहन सक्दैन । त्यो मुस्कानलाई हराउन खोज्ने आफैँ हारिरहन्छ । जसरी बेलवासे प्रेमलाई मायाका अर्थमा-पीडाहरू पूर्णतः हारेका देख्छन् । र, बेलवासेका कविताको मूल विशेषता नै यही हो कि त्यही हारले नै जीवनलाई वास्तविक जीवन बनाउँछ । यस अर्थमा, प्रेमले दिएका या लिएका दुःखहरू नै जीवनको अर्को नाम हो ।
भन्नेहरूले त केसम्म भन्छन् भने, जीवनमा प्रेम भएन भने र त्यो प्रेममा वियोग भएन भने त्यो साँच्चो प्रेम नै कहलाइँदैन । प्रेम गर्नेहरूबीच कदाचित् संयोग भयो भने त्यही संयोग भएको क्षण नै प्रेमको मृत्यु हुन्छ । त्यो यसकारण कि, संयोगमा स्वार्थ जोडिएको हुन्छ । एकले अर्कालाई चाहेका र चाहेकालाई पाइएपछि त्यहीँनिर प्रेमको समाप्ति हुन्छ । तर, जब वियोग हुन्छ भने त्यो वियोगमा छटपटिरहनुभित्र प्रेम-भाव जागिरहेको हुन्छ ।
‘तिमीलाई हेरेर बाँचेको म
लाख पटक मरिसकेँ
शायद,
तिम्रो सम्झनामा सिङ्गो संसार
मजस्तो मर्दै मर्दै बाँचिरहेको छ ।’
जीवनको अभिन्न अङ्ग हो स्मृति, बाँच्ने आधार हो । स्मृतिविना को जिउन सक्छ ? अतीत नजोडिएको पनि जीवन हुन्छ र ? जस्तो कि– अल्बम पल्टाउँदा पुराना तस्वीर हेरेर मुस्काइन्छ, त्यही मुस्कानले नसा–नसामा जिउनुको मीठो रस पैदा गर्छ ।
मौखिक, बेलवासे जति स्पष्ट बोल्छन्, त्योभन्दा बढी स्पष्ट छन् यी कविताहरू । ‘ट्रेजेडी’ केन्द्र बनेका सबैजसो कविताहरूलाई एकमुष्ठ, शीर्षक नदिइकन किताब तयार गरिएको भए यसलाई ‘प्रेम–काव्य’ भनेर नामकरण गर्न सकिन्थ्यो कि ! चलनचल्तीको भाषामा भए यसलाई सम्भवतः ‘शोक-काव्य’ कै रूपमा नअथ्र्याइएला भन्न सकिँदैन तर, खासमा हो त यो विशुद्ध प्रेम-गीत । जम्मा ३८ वटा शीर्षकमा लेखिएका सबै नै कविताहरूमा सचेत भएरै वा अनभिज्ञतामा ‘तिमी’ सम्बोधन भएको छ । र, प्रेमपूर्वक भनिएका तिमी साँच्चिकै प्रेमको अर्थमा अत्यन्त सुहाउँदो भएर कवितामा आएको छ । यति सुन्दर तवरले, कुनै क्लिष्ट शब्दहरू प्रयोग नगरीकन, प्रेमको शब्दजालमा पीडाहरूलाई पारेर पाठकहरूको ध्यान भङ्ग हुन नदिनु कवि ठाकुरको प्रेम र पीडाप्रतिको गहिरो अनुभूति हो भन्ने बुझ्न सकिन्छ । त्यसो त प्रष्ट छ, बेलवासेको यो अनुभूति मात्रै होइन क्लियरकट- उनको भोगाइ नै हो ।
‘प्रेम हुँदैन थियो भने
सम्झनुस्
आकाश हुँदैन थियो
धरती हुँदैन थियो
आकाश–धरतीलाई जन्मन
प्रेमले नै त सिकाएको हो
+ + +
धरती आकाशलाई
एकाकार बनेर नागबेली बन्न पनि त
प्रेमले नै सिकाएको हो ।’
कविताले भने जस्तै प्रेमले नै त हो दुनियाँ चलायमान भएको ! प्रेम नभए यो दुनियाँ किन हुन्थ्यो ? केका लागि हुन्थ्यो ? प्रेम छ र नै त प्रेमीहरू छन् ! प्रेमीहरू छन् र त प्रेम छ । प्रेमै प्रेमको समिश्रण जहाँ घृणा पनि छ, रिस पनि छ, उत्तेजना पनि छ, आवेग पनि छ, इष्र्या छ, धोखा छ, घात÷प्रतिघात छ, के छैन ? प्रेममा सब थोक छ । स्मरणीय छ- युद्ध र प्रेममा सब जायज छ । बेलवासेको यी कविताहरूको एउटै निचोड छ–तथाकथित विशुद्ध प्रेमको वास्तवमा कुनै अर्थ छैन ।
कविताको एउटा रमाइलो पक्ष के छ भने, आफ्नै पुस्ताका सशक्त कवि मणि लोहनीको कविताका पङ्क्तिहरू उल्लेख गरेर बेलवासेले अन्य सिङ्गै कविताको निर्माण गरेका छन् । यो प्रयोग नौलो त होइन, तथापि प्रयोगको सीमितताभन्दा अघि बढेर यहाँ त्यसको सदुपयोग गरिएको छ ।
पढिएको-सिकिएको व्याकरणलाई भताभुङ्ग भएको देख्दा भने जुनसुकै क्षेत्रमा पनि प्रयोग गरिने बहुमतीय प्रथालाई नेपाली भाषामाथि दुरुपयोग गरिएको रूपमा देखिन्छ । होइन भने, उदाहरणका लागि-‘मात’को अर्थमा बुझिने ‘नशा’लाई समेत शरीरको ‘नसा’-शब्दमा ढालेर कवितामा प्रयोग भएको देख्दा पाठकहरू रनभुल्लमा पर्ने परिस्थिति आएको छ । नसा र नशामा आकाश-जमिनको अन्तर छैन र ? कवि बेलवासेले आफ्ना लेखनी, त्यसमा पनि कविता जस्तो संवेदनशील लेखाइको सम्पादन-पक्षमा आगामी दिनमा सचेत हुन आवश्यक छ । सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा प्रस्तुत यो कवितासङ्ग्रहले नेपाली साहित्यको काव्यफाँटमा एउटा भिन्नै तरङ्ग ल्याउनेछ भन्नेमा विश्वस्त हुन सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच