
ज्योतिषशास्त्रमा मुख्यतः तीन शाखा छन् : सिद्धान्त, संहिता र होरा । सिद्धान्तमा गणित हुन्छ, संहिता र होरा फलादेशसम्बद्ध शास्त्रीय विभाग हुन् । मूल सिद्धान्त हो । सिद्धान्त अनुसार गणना भएका ग्रहका आधारमा फलादेश गर्ने शास्त्रीय व्यवस्था छ । यसरी गरिने गणना र गणनाबाट प्राप्त तथ्यका आधारमा हुने फलादेश मूलतः अध्यात्म साधनामा केन्द्रित छन् । यसैले ज्योतिष भौतिकभन्दा पनि आध्यात्मिक विषयवस्तुको प्रतिपादन गर्ने शास्त्र हो । सूक्ष्म आत्मिक पक्षको साधनामा ज्योतिषशास्त्रलाई लिइएको छ ।
यसैले आजको एष्ट्रोनोमी र ज्योतिषशास्त्रमा भिन्नता छ । नासाप्रदत्त स्वीस एफेमेरिस, जाहजी क्यालेन्डरबाट तोडमोड गरी जबरजस्ती अयनांश राखेर तयार गरिएका गणनालाई दृक्सिद्ध भनी त्यसैमा रटानका साथ फलादेश गर्ने प्रबुद्ध वर्गको निकै व्याप्ति पाइन्छ । यस्ता गणनाको फलादेशसँग सम्बद्ध पक्षका बारेमा विचारै नगरी, ज्योतिषका गणितीय पक्षको गहन विश्लेषण नै नगरी फलको आदेश गर्नु सर्वथा उचित देखिँदैन । किनकि भौतिकभन्दा आध्यात्मिक पक्ष अति गहन र हाम्रा लागि उपयोगी छन् ।
फलादेश ज्योष्तिशास्त्रको गणितसापेक्ष हुन्छ । यसरी गणना गर्ने मूल सिद्धान्त छन् । वर्तमानमा सौर, आर्य र ब्रहृमपक्षीय गणना स्थान अनुसार उपयोगमा आएका पाइन्छन् । नेपाल एवं उत्तर भारतको परिप्रेक्षमा सौरपक्षीय गणनाबाट फलादेशका विषयवस्तु मेल खान्छन् । अध्यात्म र ज्योतिको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यसरी अध्यात्मको मूल प्रतिपादक वेद हो । वेदको अङ्गका रूपमा ज्योतिषलाई लिइएको छ ।
फलादेशका शास्त्र अध्यात्मसम्बद्ध छन् । अध्यात्म षड्दर्शबाट जान्न सकिन्छ । ‘अहं ब्रहृमास्मि’, ‘तत्वमसि’ जस्ता वेदान्तीय विषवस्तु यसमा पनि लागू हुन्छन् । न्यायको प्रमाण, योगको अष्टाङ्ग सूत्र, मीमांसाको कर्मकाण्ड, वैशेषिकको विशेष परमाणु, साङ्ख्यका प्रकृति र पुरुषबाट अध्यात्मको आलोक नियात्न सकिन्छ ।
‘वेदास्तावद्यज्ञकर्मप्रवृत्ता यज्ञाः प्रोक्तास्ते तु कालाश्रयेण । शास्त्रादस्मात् कालबोधो यतः स्याद्वेदाङ्गत्वं ज्यौतिषस्योक्तमस्मात् ।।’ (सिद्धान्तशिरोमणि, कालमानाध्याय,श्लो. ९) ज्योतिष वेदको अङ्ग हो । यज्ञीय समयको बोध गराउने शास्त्र ज्योतिष हो । आजको दृक्पक्ष भनिने जहाजी क्यालेन्डरलाई यी विषयवस्तु आवश्यक छैनन् । जहाजलाई सही दिशा दिनुमा मात्र केन्द्रित छन् । यसैले फलादेशमा यस्ता विषयवस्तुलाई आधार मान्नु स्वयं फलितका शास्त्रप्रतिको उपहास हो ।
फलादेशका शास्त्र अध्यात्मसम्बद्ध छन् । अध्यात्म षड्दर्शबाट जान्न सकिन्छ । ‘अहं ब्रहृमास्मि’, ‘तत्त्वमसि’ जस्ता वेदान्तीय विषवस्तु यसमा पनि लागू हुन्छन् । न्यायको प्रमाण, योगको अष्टाङ्ग सूत्र, मिमांसाको कर्मकाण्ड, वैशेषिकको विशेष परमाणु, साङ्ख्यका प्रकृति र पुरुषबाट अध्यात्मको आलोक नियात्न सकिन्छ । धर्मशास्त्र, स्मृति ग्रन्थ, धर्मसूत्र, रायमायण, महाभारत, पुराण आदि शास्त्रले पनि ज्योतिषीय विषयवस्तुलाई विभिन्न माध्यमले पुष्टि गर्दछन् । समग्र पौरस्त्य वाङ्मय नै चतुवर्गको सिद्धिमा आश्रित छ ।
यसैले ज्योतिष अनि ज्योतिषको पनि फलित पाटो योभन्दा भिन्न विषय हुने कुरा नै हुँदैन । मूलतः ज्योतिष अध्यात्म साधनाका निम्ति, चतुवर्ग (धर्म, अर्थ, काम, मोक्ष) सिद्धिका निम्ति नै केन्द्रित छ तर जहाजी पञ्चाङ्ग, सूर्यकेन्द्रिक गणना यसमा अनुस्युत छैनन् केवल भौतिक पिण्डको दर्शनमा मात्र रमाएका पाइन्छन् । भौतिक विषयवस्तुको खोजमा मात्र केन्द्रित देखिन्छन् । जो परमार्थसिद्धिका निम्ति आवश्यक छैन । साधनमात्र हुन् साध्य होइनन् ।
सुदूरमा रहेको शनि किन अधिक पापसम्बद्ध मानिन्छ भन्ने विषयको उत्तर भौतिक पक्षबाट जान्न सकिँदैन । त्यो शनितत्त्व हामीमै विद्यमान छ । त्यसलाई हेर्न ऐनाको जस्तै कार्य भौतिक पिण्डले दिन्छ । जसरी ऐनाले वस्तुको मात्र प्रतिकृति देखाउँछ भौतिकले गर्ने पनि त्यत्ति प्रतिकृतिलाई दर्शाउने हो । मूल भनेको आत्मिक पक्षको जागृति हो । रोग हामीमै छन् । आलश्य हामीमै छ । दुःख पीडाको भोग यही शरीरले गर्ने हो । शनिका किरण आएर प्रभाव पार्ने भन्ने विषयले यहाँ अर्थ राख्दैन । मूलतः आफूमा रहने शनि वायु तत्वको द्योतक हो । वायुतत्वमा विकार रहँदा वायुजन्य विकारले शरीरमा रोग लाग्न सक्छन् । त्यसबाट बाँच्नका निम्ति जप गर्ने, आत्मिक प्रतिरोधात्मक शक्तिको अर्जन गर्ने हो । न कि शनि ग्रह पन्छाउने । ग्रह नै शरीरमा छन् । सूर्य नीच भयो भने घाममा सेकाउँदा उपचार हुँदैन जो भौतिक पक्ष हो । आफूमै प्रतिरोधी सामथ्र्यको विकास गर्ने पद्धति ग्रहशान्तिका विधि हुन् ।
फलितको आध्यात्मिक पक्षलाई यसरी शास्त्रमा दर्शाइएको छ ः ‘आत्मा रविः शीतकरस्तु चेतः सत्वं धराजः शशिजोद्रथ वाणी । ज्ञानं सुखं चेन्द्रगुरुर्मदश्च शुक्रःशनिः कालनरस्य दुःखम् ।।’ (लघुजातकम्, ग्रहभेदाध्याय, श्लो. १) अर्थात् सूर्य आत्माकारक, चन्द्रमा मनसम्बन्धी, मङ्गल सत्वसम्बन्धी, बुध वाणीम्बन्धी, गुरु सुखसम्बन्धी, शुक्र मज्जासम्बन्धी र शनि दुःखसम्बन्धी प्रतिनिधित्व गर्ने ग्रह हुन् । यसरी शास्त्रमा ग्रहको भेद एवं स्वरूपको प्रष्ट व्याख्या गरिएको छ ।
आत्मिक मूल तत्वको प्रतिनिधित्व सूर्यले गर्दछन् । सूर्य सबल रहँदा ती पक्ष सबल हुन्छन् भने दुर्बल हुँदा ती पक्ष पनि कमजोर बन्न पुग्दछन् । यसैले सूर्यको दुर्वलपक्षलाई सबल तुल्याउन सूर्यसूक्त, सूर्यको जप, पाठ, हवन, तर्पण, मार्जन, दान, रत्नधारण, औषधस्नान जस्ता उपाय अवलम्बन गर्नुपर्ने शास्त्रीय विधि विधान छन् । जसबाट तत्जन्य तत्वको विकास स्वशरीरमा गर्न सकिन्छ, आत्मिक शक्ति आर्जन गर्न सकिन्छ । आफूमा रहने तात्त्विक कमीलाई पूर्ति गर्ने उपाय यसअन्तर्गत पर्दछन् । यहाँ भौतिक उपचारको प्रयोग नगण्य रहन्छ ।
नासा प्रदत्त स्वीस एफेमेरिसबाट फलादेश गर्नुको कुनै अर्थ छैन । एष्ट्रोनोमी भौतिक गणित हो । यसरी गरिएका गणित आजको सन्दर्भमा सूर्यकेन्द्रित छन् । यसका साथै पृथ्वीमा परिवर्तन गर्दा भूकेन्द्रिक हुन्छन् । मेरुकेन्द्रिक हुन सक्दैनन् । यसैगरी यी विषयले न त कल्पसम्बद्ध विषयवस्तुलाई मतलब गर्दछन् न त सृष्ट्यादि न त युगादि नै ।
नासा प्रदत्त स्वीस एफेमेरिसबाट फलादेश गर्नुको कुनै अर्थ छैन । एष्ट्रोनोमी भौतिक गणित हो । यसरी गरिएका गणित आजको सन्दर्भमा सूर्यकेन्द्रित छन् । यसका साथै पृथ्वीमा परिवर्तन गर्दा भूकेन्द्रिक हुन्छन् । मेरुकेन्द्रिक हुन सक्दैनन् । यसैगरी यी विषयले न त कल्पसम्बद्ध विषयवस्तुलाई मतलव गर्दछन् न त सृष्ट्यादि न त युगादि नै । मनु, मनुसन्धिको मतलब यी गणितमा रहँदैन । केवल भौतिक पिण्ड सापेक्ष गणनामात्र हुन्छ । जसबाट शास्त्रीय फलादेश गर्नु भनेको केवल मिथ्या प्रचारमात्र हो । उदाहरणका रूपमा लिन सकिन्छ सूर्य मेषराशिको १० अंशमा उच्च हुन्छन् । आज मिथुन राशिको अठार उन्नइस अंशमा सूर्यको उच्च बिन्दु पुगेको छ । यस्तो अवस्थामा पनि मेषको १० अंशमा नै सूर्यले उच्चको फल प्रदान गर्दछन् । यसैले भौतिक गणितसँग यसको तादात्म्य मिल्दैन ।
ज्योतिषीय गणना पद्धतिमा मन्दोच्च भगण पनि बताइएको छ । मन्दोच्च बिन्दु चलायमान छ तर यसको चाल निकै कम छ । चार अर्ब बत्तीस करोड वर्षमा सूर्यको मन्दोच्च भगण ३८७ बताइएको छ सूर्यसिद्धान्तमा । एक भगण भनेको ३६० डिग्री हो । जहाजी क्यालेन्डरलाई, एफेमेरिसलाई मन्दोच्च भगणको कुनै माने मतलव हुँदैन । कल्पभगण, सृष्ट्यायादि भगण, युग, महायुग, मनुसँग पनि कुनै सम्बन्ध छैन । केवल आकाशीय भौतिक पिण्डको दर्शनमा केन्द्रित हुन्छ । यसरी भन्दै गर्दा हाम्रा पद्धति दृश्य छैनन् भन्ने होइन । दृश्य गर्ने विधान छ, संस्कारका पद्धति छन् । दृक्कर्म गर्ने विधान शास्त्रमै आदेश भएको छ तर सबै पक्षमा यसरी दृक्कर्म गर्नु आवश्यक छैन । किनकि अध्यात्म साधनार्थ आवश्यक विषयवस्तुको प्रष्ट निर्देश शास्त्रमा व्यक्त पाइन्छ ।
त्रिस्कन्धात्मक ज्योतिषको उठान गर्ने वराहमिहिराचार्य (शक ५०० को हाराहारी)ले पनि लघुजातकम्, बृहज्जातकम्, बृहत्संहिता जस्ता फलितका ग्रन्थ प्रतिपादन गरेका छन् । सोबेलामा पनि सूर्यको उच्च स्थान ७८ अंशको हाराहारीमा थियो र पनि सूर्य मेषराशिको दश अंशमा नै उच्च मानी ग्रन्थ प्रतिपादन गरेका छन्, आज पनि हेर्न सकिन्छ बृहज्जातकम् । यो उनले नजानेर भनेको विषय होइन । वराहमिहिर सिद्धान्त नाजान्ने भएर पनि होइन । किनकि उनले सिद्धान्तसंबद्ध पञ्चसिद्धान्तिकाको सम्पादन गरेका छन्, ती सिद्धान्तभित्र रहेको गहन विषयवस्तुको सटिका विश्लेषण पनि गरेका छन् । गणित नै फलित हो । गणित भिन्न फलित हुँन सक्दैन ।
यही मर्मलाई वराहमिहिरले पनि आत्मसाथ गरेर नै सिद्धान्त पक्षका बारेमा पनि गहन खोज अनुसन्धान गरेका हुन् । श्रीपतिले सिद्धान्त फलित दुवै पक्षमा कलम चलाएका छन् । भास्करादि अन्य सिद्धान्तकारले पनि यस्ता विषयवस्तु स्वीकारेका छन् । कमलाकारले त वकालत नै गरेका छन् । यसैले फलादेश र दृक्सिद्धिका कुरा भिन्न हुन् । ज्योतिषशास्त्रका परिगणना भौतिक र अध्यात्मिक दुवै पक्षबाट भएका छन् । मूलतः अध्यात्म सिद्धिमै गणना पनि केन्द्रित छन् । यसैले आजका जहाजी पञ्चाङ्गभन्दा ऋषिमहर्षिप्रदत्त हाम्रा सिद्धान्त सटिक र दृक्सिद्ध पनि छन् । मूलतः फलदोश अध्यात्म साधानामै केन्द्रित छ । भौतिक पिण्डभन्दा आध्यात्मिक तत्वको अधिक महत्व रहन्छ । यसैले फलित ज्योतिष अध्यात्मसापेक्ष हो । आध्यात्मिक विषयवस्तुको सिद्धिका निम्ति समग्र ज्योतिषशास्त्र वेदाङ्गका रूपमा प्रतिष्ठित छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच