
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा छ । लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो चलचित्रले रिलिजको पहिलो सातामै नेपालमै पाँच करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै पहिलो ‘हिट’ चलचित्र बन्न सफल भएको छ ।
अहिले ‘ऊनको स्वीटर’ संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी सहरहरूमा एकै पटक प्रदर्शन भइरहेको छ । न्यूयोर्कदेखि क्यालिफोर्निया, टेक्ससदेखि वासिंटन, ओहायोदेखि फ्लोरिडासम्मका विभिन्न शहरमा नेपाली दर्शकहरू आफ्नो नजिकको सिनेमा हलमै यो चलचित्र हेर्न पाएका छन् । अमेरिका भरिका नेपाली समुदायमा चलचित्रप्रतिको उत्साह देखिँदै गएको छ, जुन टिकटका अग्रिम बुकिङ र हलहरूको भरिभराउ अवस्थाबाट स्पष्ट हुन्छ ।
त्यस्तै, अष्ट्रेलियामा पनि चलचित्रले रिलिज भएको पहिलो दिनदेखि नै हाउसफुल शोहरू दिइरहेको छ । सिड्नी, मेलबर्न, ब्रिसबेनलगायत शहरमा नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको वितरकहरूले जनाएका छन् ।
क्षेत्रगत रूपमा अमेरिकामा पूर्वोत्तर क्षेत्रका म्यासाचुसेट्स, न्यू हृयाम्पशायर, कनेटिकट र न्यूयोर्कमा मिड-अटलान्टिक क्षेत्रमा पेनसिल्भेनिया, मेरिल्याण्ड, भर्जिनिया, वासिंटन र डिसीमा मिडवेष्ट क्षेत्रमा ओहायो, इलिनोइस, आइओवा, विस्कन्सिन, मिसौरी, नर्थ डकोटा र केन्टकीमा साउथइष्ट क्षेत्रका जर्जिया, फ्लोरिडा र टेनेसीमा साउथ सेन्ट्रल क्षेत्रको टेक्ससमा माउण्टेन वेष्ट क्षेत्रको कोलोराडोमा पश्चिमी तटमा वासिंटन र क्यालिफोर्नियामा ‘ऊनको स्वीटर’ रिलिज भइरहेको छ ।
यस्तै, जापानका प्रमुख शहरहरू जस्तै योकोहामा, ओकिनावा, क्युसु, फुकुओका, कुमामोटो, कुरुमे, कोबे, गिफु, नागोया, ओसाका, टोकियो, चिबा र नरितामा ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ । नेपाली समुदाय रहेको अधिकांश जापानी शहरमा चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ ।
त्यस्तै, दक्षिण कोरियामा पनि मे ११ देखि जुन १ सम्म सियोल, किम्हे, सुवोन, मोक्तो, किम्पो, फुयो, जिन्छान, ओन्याङ ओन्छान र फाजु जस्ता शहरमा शोहरू तय गरिएका छन् । कोरियामा रहेको नेपाली विद्यार्थी र कामदार समुदायबाट उत्साहजनक साथ मिलिरहेको छ ।
युरोपका डेनमार्क, पोर्चुगल, बेल्जियम, साइप्रस, माल्टा जस्ता देशहरूमा पनि मे १८ देखि चलचित्रको प्रदर्शन तय भइसकेको छ । यसबाहेक क्यानडामा पनि चलचित्रको शोहरू सुरु हुने तयारी भइरहेको छ । मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, ओमनलगायतमा पनि ‘ऊनको स्वीटर’ सफलताका साथ प्रदर्शन भइरहेको छ भने हङ्कङ, सिंगापुर र युनाइटेड किङडममा पनि प्रदर्शनको तयारी रहेको निर्माणपक्षले जनाएको छ ।
‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनिल पोखरेललगायतको अभिनय छ । जीवन्त संवाद, यथार्थपरक प्रस्तुति र नवीन चौहानको सुन्दर निर्देशनले चलचित्रलाई सबै वर्गका दर्शकले रुचाएका छन् । चलचित्रका गीतहरू पनि उत्तिकै लोकप्रिय छन् । ‘चाइनेजो जिन्दगानीमा’ गीत युट्युब र टिकटकमा रुचाइएको छ भने ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ गीतहरू करोडौँ दर्शक/श्रोताले हेरेर मन पराइसकेका छन् । चलचित्रको ट्रेलर युट्युबमा ट्रेन्डिङको पहिलो स्थानमा छ ।
चलचित्रले दोस्रो हप्तामा पनि करिब दुई सय शोमा प्रदर्शन जारी राखेको छ । शुक्रबारदेखि चलचित्रको देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण सुरु गरिएको छ । शुक्रबार दिउँसो दमौली र साँझ पोखराका दर्शकसँग साक्षात्कार सुरु भएको यो भ्रमण चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुने जनाइएको छ । प्रचार टोलीमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस र गायक सुजन चापागाईं सहभागी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच