
नेपालको भौगोलिक, ऐतिहासिक र सांस्कृतिक विविधता विश्वकै अनुपम सम्पदामध्ये एक हो । यहाँका प्रत्येक पहाड, वन, नदी, गाउँ र बस्तीमा आफ्नै कथा छन्, आफ्नै गौरव छन् तर ती कथाहरूलाई सुन्ने, सुनाउने र संसारमाझ पुर्याउने प्रयत्न भने निकै न्यून देखिन्छ । यस्तै गहिरो ऐतिहासिक र बौद्धिक मूल्य बोकेको तर अहिले पनि ओझेलमा परेको एउटा स्थल हो, अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका । संस्कृत भाषाका अति प्राचीन व्याकरणाचार्य महर्षि पाणिनिको तपस्यास्थल मानिने यो ठाउँ पर्यटनका दृष्टिले मात्र होइन, बौद्धिक जागरण र राष्ट्रिय गौरवको दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र हो तर दुर्भाग्यवश, यति धेरै ऐतिहासिक महत्व बोकेको क्षेत्र अझै पनि आवश्यक पूर्वाधार, प्रचारप्रसार र दीर्घकालीन योजनाको अभावमा अज्ञातझैँ बनेको अवस्था छ ।
महर्षि पाणिनिले लगभग २५ सय वर्षअघि लेखेको अष्टाध्यायी नामक ग्रन्थले संसारलाई भाषा विज्ञानको अत्यन्तै वैज्ञानिक ढाँचा दिएको थियो । अष्टाध्यायीमा प्रस्तुत व्याकरणीय प्रणालीलाई आजको युगमा पनि कम्प्युटर भाषा विकासमा समेत आधारभूत संरचनाको रूपमा प्रयोग गरिएको छ । यस्तो कालजयी र अग्रगामी चिन्तन गर्ने व्यक्तित्वको तपस्यास्थल नेपालमै पर्छ भन्ने तथ्य नेपालीका लागि गौरवको विषय हो तर विडम्बना, हामीले त्यो गौरवलाई बचाउने, विस्तार गर्ने, विश्वसामु प्रस्तुत गर्ने खालको सोच र रणनीति अपनाएका छैनौं । हाम्रो जनस्तरमा पनि पाणिनिको योगदान र उनको ऐतिहासिक मूल्यबारे पर्याप्त जानकारीको अभाव छ । अभाव नै पर्यटन विकासका लागि मुख्य बाधक बनेको छ ।
पाणिनिको थलो केवल पर्यटनको एक केन्द्रमात्र होइन, नेपालको बौद्धिक पहिचानको मुटु बन्न सक्छ । यहाँबाट ज्ञान, दर्शन र भाषाको पुनर्जागरणको बिगुल फुक्न सकिन्छ । त्यसका लागि आवश्यक छ- आफ्नो सम्पदालाई सम्मान गर्ने मनोवृत्ति । विकास गरौं र यथासम्भव कार्यान्वयनमै केन्द्रित योजना अघि बढाऔं ।
पाणिनिको थलो केवल प्राकृतिक सौन्दर्यले भरिएको रमणीय गाउँमात्र होइन, यो एक बौद्धिकस्थल हो । हरियाली डाँडाकाँडा, मौलिक परम्परागत बस्तीरू, धार्मिकस्थल र ग्रामीण जीवनशैली स्वाभाविक रूपमा पर्यटकलाई तान्ने खालका छन् । यदि ती पक्षलाई योजनाबद्ध रूपमा पर्यटकीय सेवामा रूपान्तरण गर्न सकियो भने पाणिनिको गाउँ धार्मिक, सांस्कृतिक, शैक्षिक तथा बौद्धिक पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ । विदेशी विश्वविद्यालयहरू, भाषा शोध संस्था, संस्कृतप्रेमी विद्वानका लागि पाणिनिको स्थल एक अध्ययन केन्द्र बन्नसक्ने स्पष्ट सम्भावना देखिन्छ तर सम्भावनालाई मूर्तरूप दिन चाहने इच्छाशक्ति नीति निर्मातामा देखिँदैन, न स्थानीय सरकार नै त्यसमा अग्रसर देखिन्छन् ।
यदि संसारको अन्य बौद्धिक स्थलहरूतिर हेर्छौं भने हामीले पाउँछौं कि ती स्थानलाई संरक्षितमात्र गरिएको छैन, तिनलाई बौद्धिक पर्यटनको केन्द्रमा रूपान्तरण गरिएको छ । जस्तो कि, भारतको नालन्दा विश्वविद्यालय, चीनमा कन्फ्युसियसको जन्मस्थल, ग्रीसमा सुकरात र प्लेटोका चिन्तनस्थल, यी सबै स्थल लाखौं पर्यटक र शोधकर्ताका लागि प्रेरणाको स्रोत बनेका छन् । आन्तरिक पर्यटनमात्र होइन, देशको बौद्धिक गरिमा र आर्थिक विकासमा पनि उल्लेखनीय योगदान दिएका छन् । नेपालले पाणिनिको थलोमार्फत यस्तै गौरव प्राप्त गर्नसक्छ ।
यद्यपि यी सम्भावनाका बीचमा केही गम्भीर चुनौती विद्यमान छन् । पहिलो चुनौती हो, पूर्वाधारको अभाव । पाणिनि तपोभूमिसम्म पुग्ने बाटो अझै कच्ची छ, संकेत बोर्डहरू छैनन्, यात्रीलाई बस्न खाने सुविधा न्यून छन् । अरू गन्तव्यको तुलनामा यहाँ जानेलाई सहज अनुभूति हुँदैन । दोस्रो चुनौती हो, सूचना प्रवाह र प्रचारप्रसारको अभाव । पाणिनिको नाममा आधारित वेबसाइट, वृत्तचित्र, भिडियो वा अन्तर्राष्ट्रिय अभियानको कमीकमजोरीले गर्दा बाहृय दुनियाँसम्म यस स्थानको महत्व पुगेको छैन । अझै धेरै नेपाली स्वयं पाणिनिको जन्मथलो कहाँ पर्छ भन्ने तथ्यमा अनविज्ञ छन् । तेस्रो चुनौती भनेको नीति तहको उदासीनता हो । पर्यटन मन्त्रालयदेखि स्थानीय तहसम्म पाणिनिको थलोको समुचित विकासमा कुनै योजना देखिन्छ न कुनै बजेट व्यवस्था गरिएको पाइन्छ ।
यस्ता अँध्यारा पक्षका बाबजुद आशाका किरण देखिन्छन् । पाणिनिको गौरवलाई पुनःस्थापित गर्न यथेष्ट माध्यम र अवसर छन् । त्यसका लागि समर्पित सोच, दृढ इच्छाशक्ति र योजनाबद्ध रणनीति आवश्यक छ । हरेक वर्ष ‘पाणिनि भाषा महोत्सव’ आयोजना गरेर स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा भाषाशास्त्र, दर्शन र संस्कृतबारे विद्वान्हरूलाई ल्याएर ज्ञान सञ्जाल विस्तार गर्न सकिन्छ । स्थानीय युवालाई संस्कृत तथा पाणिनि दर्शनसम्बन्धी अभिमुखीकरण, मार्गदर्शक तालिम, होमस्टे व्यवस्थापन प्रशिक्षण आदि दिन सकिन्छ । पाणिनिको नाममा भाषा अध्ययन प्रतिष्ठान, संग्रहालय, तथा शोध केन्द्र स्थापना गर्न सरकार तथा निजी क्षेत्रले हातेमालो गर्न सक्छन् । यस्ता प्रयासल पाणिनिको थलोमा पर्यटन विकासमात्रै होइन, सम्पूर्ण राष्ट्रको बौद्धिक पुनर्जागरण सम्भव बनाउँन सक्छ ।
साथै, आधुनिक युगमा डिजिटल माध्यमको भूमिका महत्वपूर्ण हुन्छ । पाणिनिको जीवन, उनका विचार, अष्टाध्यायीका विश्लेषण, भाषाशास्त्रको योगदान आदि विषयमा वृत्तचित्र निर्माण गरी युट्युब, फेसबुक, अन्तर्राष्ट्रिय शैक्षिक मञ्चमा प्रचार गर्न सकिन्छ । नेपालस्थित संस्कृत विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरू, तथा पर्यटन बोर्ड मिलेर पाणिनिको थलोको डिजिटल प्रस्तुति गर्न सक्छन् । यसले विदेशमा रहेका नेपालीलाई समेत आफ्नो गौरव चिन्ने अवसर दिन्छ, जसले पर्यटनमात्र होइन, संस्कार र पहिचानप्रतिको प्रेम बढाउँछ ।
पाणिनिको थलो केवल पर्यटनको एक केन्द्रमात्र होइन, त्यो नेपालको बौद्धिक पहिचानको मुटु बन्न सक्छ । यहाँबाट ज्ञान, दर्शन र भाषाको पुनर्जागरणको बिगुल फुक्न सकिन्छ । त्यसका लागि आवश्यक छ, आफ्नो सम्पदालाई सम्मान गर्ने मनोवृत्ति । यसको विकास गरौं, जनस्तरदेखि नीति तहसम्म साझा पहल ल्याऔं र यथासम्भव कार्यान्वयनमै केन्द्रित योजना अघि बढाऔं । यदि हामीले पाणिनिको मूल्य चिनेर त्यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्यौं भने, पाणिनिको थलो केवल अर्घाखाँचीको शिरमात्र होइन, समस्त नेपालको बौद्धिक गौरवको मुकुट बन्नेछ । (लेखक : शैक्षिक, धार्मिक एवं सामाजिक अभियन्ताका रूपमा सक्रिय रहनुभएको छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच