
बझाङ । सुदूरपश्चिमको समृद्धिको सपना बोकेको सेती लोकमार्गको निर्माण सुरु भएको डेढ दशक बितिसकेको छ । तर, आजसम्म पनि योजना कागजमै सीमित छ । कैलालीको टीकापुरदेखि बझाङको चैनपुर हुँदै चीनको ताक्लाकोटसम्म जोडिने यो सडक अझै पनि ‘निर्माणाधीन’ अवस्थामै अल्झिएको छ । सडक अवधारणा अघि बढाइएकै ४० वर्ष नाघिसकेको छ । निर्माण थालिएको पनि १५ वर्ष पुगेको छ । तर, सडक अझै अधुरै छ । सडक उत्तर र दक्षिण गरी दुई खण्डका बाँडिए पनि कामको गति दुवैतिर देखिँदैन । नेपाल-भारतचीन त्रिदेशीय सम्बन्धलाई आर्थिक र भौगोलिक रूपमा नजिक ल्याउने अपेक्षा बोकेको सेती लोकमार्ग, केवल सडक योजना मात्र होइन-यो सुदूरपश्चिमको समृद्धिको ढोका मानिएको छ । तर, निर्माणको गति भने कछुवाको चालजस्तै सुस्त छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०६५/६६ मा निर्माण सुरु गरेको ३५९ किलोमिटर लम्बाइको सेती लोकमार्गलाई दुई खण्डमा विभाजन गरिएको छ । जसमा दक्षिणी र उत्तरी खण्ड रहेका छन् । चालु आर्थिक वर्षमा दुवै खण्डका लागि गरी ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
उत्तरी खण्ड : १५५ मा ७८.५ किलोमिटर ट्र्याक
चैनपुर-ताक्लाकोट खण्डअन्तर्गत १५५ किलोमिटर सडकमध्ये हालसम्म ७८.५ किलोमिटर ट्र्याक खोलिएको छ र पाँचवटा पुल निर्माण सम्पन्न भएका छन् । बाँकी ७६.५ किलोमिटर ट्र्याक, ६ वटा पुल तथा सम्पूर्ण कालोपत्रे कार्य अझै सम्पन्न हुन बाँकी छ । योजना प्रमुख वीरेन्द्र यादवका अनुसार, हालसम्म भौतिक प्रगति १२ प्रतिशत र वित्तीय प्रगति ११.९ प्रतिशत मात्र पुगेको छ । चालु आर्थिक वर्षमा पाँच किलोमिटर ट्र्याक र ४.९ किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखिए पनि हालसम्म एक किलोमिटर ट्र्याक मात्र खुलेको छ । कठिन भौगोलिक अवस्था, चट्टानी भूभागमा विस्फोटक पदार्थको अभाव, कानुनी प्रक्रिया (रूख कटान) र निर्माण कम्पनीको लापरबाहीको कारण सडक निर्माणमा ढिलाइ भइरहेको हो ।
२०७४ मा दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित रूपातोलादेखि धुलीसम्मको ४० किलोमिटर खण्डको ठेक्का सम्झौता गरिएको थियो । तर, ८५ करोडको ठेक्का लिएर ७० करोड भुक्तानी पाइसकेको निर्माण कम्पनीले अहिलेसम्म १९ किलोमिटर ट्र्याक मात्रै खोलेको छ । निर्माण कम्पनी स्वच्छन्द बानियाँ-नागार्जुन जेभीका प्रतिनिधि ऋषि बानियाँ भन्नुहुन्छ, ‘विस्फोटक पदार्थ सजिलै उपलब्ध नभएकाले काममा ढिलाइ भयो ।’ स्थानीयले भने निर्माण गति अत्यन्तै सुस्त भएको भन्दै असन्तुष्टि जनाएका छन् ।
दक्षिण खण्ड : २०४ मा १३० किलोमिटर ट्र्याक
दक्षिण खण्डअन्तर्गत कैलाली (७२ किमी), अछाम (८० किमी), डोटी (४० किमी) र बाजुरा (१२ किमी) मिलाएर कुल २०४ किमीको योजना छ । हालसम्म कैलालीमा ७२ किमी र अछाममा ५८ किमी ट्र्याक खुलेको छ । डोटी र बाजुरामा भने ट्र्याक खोल्न बाँकी नै छ । १२ किलोमिटर सडक मात्र कालोपत्र गरिएको छ । बजेट अभाव, वातावरणीय प्रक्रिया, रूख कटान अनुमति ढिलो हुनु र कानुनी झन्झटले काममा अवरोध पु¥याएको जानकारी टीकापुर-लोडे-चैनपुर सडक योजना कार्यालय, साँफेबगरका प्रमुख वीरेन्द्रबहादुर चन्दले दिनुभयो । पुलहरू निर्माणमा पनि कैलालीमा एक सम्पन्न, एक निर्माण अन्तिम चरणमा, अछाममा एक सम्पन्न, एक बोलपत्र प्रक्रियामा, डोटी-अछाम सिमानामा र सेती नदीमा दुई पुल बोलपत्र प्रक्रियामा रहेका छन् । चालु वर्षमा विनियोजित ४६ करोड रुपैयाँमध्ये हालसम्म १९ करोड मात्रै खर्च गरिएको छ ।
राजनीतिक प्रतिबद्धता भाषणमा सीमित
सेती लोकमार्ग केवल सडक मात्र होइन । यो सुदूरपश्चिमकै मेरुदण्ड हो । तर, निर्माणको गति, व्यवस्थापनको लापरबाही, र नेतृत्वको उदासीनताले आयोजना ‘राष्ट्रिय गौरव’को सूचीमा रहेर पनि ‘भुलिएको सपना’ जस्तो बनेको छ । हरेक निर्वाचनमा नेताहरूले भोटका लागि यसैलाई प्रयोग गर्ने भए पनि जितेर गएपछि यहाँ कोही नफर्कने गरेको स्थानीयको गुनासो छ । स्थानीयवासी महेश जोशीले भन्नुभयो, ‘हरेक चुनावमा नेताहरूले ताक्लाकोट सडक देखाएर भोट माग्छन्, तर जितेपछि त्यो सपना भाषणमै हराउँछ ।’ २०७३/७४ मा सुरु भएको आयोजनाको कार्यावधि २०८४/८५ सम्म तोकिएको छ । तर, हालसम्म ३० प्रतिशत नपुगेको प्रगति जनताको लागि निराशाजनक छ । बझाङबाट निर्वाचित संघीय सांसद तथा पूर्वमन्त्री भानुभक्त जोशी सरकारको बजेट व्यवस्थापनमा कमी नरहेको तर निर्माण कम्पनी र आयोजना कार्यालयको कमजोरीका कारण काम अघि नबढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘ठेक्का सम्झौतामा स्पष्ट मापदण्ड हुँदाहुँदै पनि समयमै अनुगमन र कारबाही नहुनु समस्या हो ।’ उहाँले चालु वर्षमा खप्तडछान्नाको तमैलदेखि गडरासम्म सडक स्तरोन्नतिका लागि ४८ करोड माग गरिएको जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच