
सिन्धुली । जिल्ला अस्पतालकोे दोस्रो तल्लामा अवस्थित ‘बेड नम्बर ३३’ मा सास मात्रै चलिरहेको शरीर लम्पसार छ । शरीरका अंग अचेत छन् । आँखा खुल्दैनन् । कहिले धड्कन आतेस लाग्ने गरी बढ्छ । कुनैबेला सास पनि रोकिएझैँ हुन्छ ।
त्यो कोमामा पुगेको शरीर हो, तेजबहादुर सिंजाली मगरको । कमलामाई नगरपालिका–७ पल्लो रामपुरमा उहाँको स्थायी बसोबास छ । दुई वर्ष दुई महिना वित्नै लाग्यो, उहाँ अस्पतालको शैयाबाट उठ्नसक्नु भएको छैन ।
विरामी तेजबहादुरको स्याहार सुसारमा श्रीमती विमला रमौली हुनुहुन्छ । विरामी श्रीमानको पीडामा पिरोलिएकी विमला छेउमा बसेर नाडी समाउनु हुन्छ । मुहार सुम्सुम्याउनु हुन्छ ।
यतिबेला उहाँको जीवनमा आइलागेको पीडा र भएको अभाव पोखिसाध्य नभएको उहाँको मलिन अनुहारमा झल्किन्छ । घरतर्फका बुबा–आमा वृद्ध–वृद्धा हुनुहुन्छ । अस्पतालमा विमलालाई सघाउने कोही हुँदैनन् । यस्तो दुखद् परिस्थितिको सामाना उहाँ एक्लै गरिराख्नु भएको छ ।
विरामी श्रीमानको हालत देख्दा उहाँको मन थामिदैन । आँखाबाट आसु बगाइरहनु हुन्छ । बेला–बेलामा उहाँलाई चिच्याएर रुन आउँछ ।त्यसबेला विरामी श्रीमानलाई रोएको थाहा नदिन शाैचालयमा धीतमरुञ्जेल राेएर बाहिर निस्किएको उहाँ सुनाउनु हुन्छ ।
‘२६ महिना भयो, रोएरै दिनरात बितिराछ । म नजिक बसेर रुँदा उहाँको धड्कन बढ्छ । शाैचालयमा गएर रुन्छु,’ विमलाले आँखाबाट आँसुका ढिका खसाल्दै सुनाउनुभयो ।
२६ महिनाअघि त तेजबहादुर र विमलाको दाम्पत्य जीवन खुशीले भरिएको थियो । चार वर्षको प्रेम सम्बन्ध विवाहमा रुपान्तरण भएको पाँच वर्ष पुगेकै थिएन । सुखी परिवारका लागि सन्तान जन्माउने योजना बनाउँदै हुनुहुन्थ्यो ।
२ चैत २०७९ दशा बनेर आयो दम्पतीको जीवनमा । तेजबहादुरले चलाएको ज ८ प ६४५८ नम्बरको मोटरसाईकललाई तीनपाटन–९ का शेषराज पहाडीले चलाएको वा.प्र०१०२७च४३७२ नम्बरको योद्धा बोलेरोले ठक्कर दियो ।
कमलामाईबाट तीनपाटन–११ तर्फ जाँदै गरेको मोटरसाइकललाई सोही स्थानबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरोले तीनपाटन–२ गैरीमा ठक्कर दिएपछि गम्भीर घाइते भएका तेजबहादुर त्यसयता कोमामा हुनुहुन्छ ।
“तीनपाटन–११ लाम्पाङटार मेरो माइती गाउँ हो । घरबाट निस्कनेबेला फोनमा म आउँदैछु, तिमी घर आउने तयारी गरेर बस, भन्नुभयो । म पर्खेर बसिरहे । गैरीमा उहाँ दुर्घटनामा पर्नुभएछ,” विमलाले सुनाउनुभयो ।
उहाँकाअनुसार तेजबहादुर दुर्घटनामा परेपछि सिन्धुलीबाट उपचारका लागि हेलिकप्टरमा काठमाडौंको हेम्स अस्पताल लगियो । त्यहाँ १० दिनमा १२ लाख बढी खर्च भएपछि टिचिङ अस्पताल सारियो ।
त्यहाँपनि उपचार खर्च महंगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सिन्धुली फर्काइयो । १४ महिनादेखि सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’ मा भर्ना गरेर राखिएको छ । आर्थिक अभावका कारण उपचारमा मात्रै होइन, विरामीलाई जाउलो खुवाउन समेत समस्या हुन थालेको विमलाले दुखेसो गर्नुभयो ।
विमलाकाअनुसार तेजबहादुरको उपचारमा हालसम्म ५० लाख बढी खर्च भईसकेको छ । पीडक पक्षले दिने भनि सहमति गरेको उपचार खर्च समेत पाउन सकेको अवस्था छैन । गाडी चालक समेत रहेका गाडी धनि शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा विरामीको उपचारका लागि २० लाख दिने सहमति गर्नुभएको थियो । सोही सहमति बमोजिम दिनुपर्ने रकममध्ये पाँच लाख रुपैंया मात्र प्राप्त गरेको पीडित पक्षको भनाइ छ । बाँकी १५ लाख रुपैंया पाउन नसकेको विमलाले सुनाउनुभयो ।
उपचारमा लाग्ने खर्च आफुले गर्न सक्ने अवस्था पनि छैन । ४५ लाख बढी ऋण भइसकेको छ । ब्याज बढिरहेको छ । तिर्न सक्ने आधार तय भएको छैन । साहुँले ऋण लिएको पैसा फिर्ता दिन दबाब दिन थालेका छन् ।
“विरामीलाई एकछिन छोड्न मिल्दैन । यस्तो अवस्थामा रहेका श्रीमानलाई छोडेर पनि कहाँ जाम, के काम गरौँ ? अब ‘सुसाइट’ गर्नु बाहेकको विकल्प केही रहेन मेरो,” विमलाले भक्कानिदै भन्नुभयो ।
पीडकले सहमतिअनुसारको रकम दिन नसकेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले क्षतिपूर्तिको मुद्दा फैसला गर्न सकेको छैन । गाडी धनी तथा चालक समेत रहेका पहाडी फरार हुनुहुन्छ ।
यता, जिल्ला अदालत, सिन्धुलीबाट सवारीबाट अंगभंग मुद्दा फैसला भईसकेको छ । उक्त मुद्दामा अदालतले २०८१ असार १२ गते कसुर ठहर गरेको थियो भने असार १९ गते सजाय समेत तोकेको छ ।
न्यायाधिस रमेश शर्मा पौडेलको इजलासले तीन वर्ष जेल सजाय, २० हजार जरिवाना र ८ सय रुपैंया क्षतिपूर्तिको सजाय तोकेको थियो । उक्त फैसला कार्यान्वयनमा समेत आएको छैन ।
पीडक शेषराज पहाडी २ महिना २७ दिन मात्र हिरासतमा बस्नुभएको देखिन्छ । अदालतले तोकेको सजाय कटान गर्न बाँकी रहेको जिल्ला अदालतले गरेको फैसलामा उल्लेख छ । अदालतबाट सवारी अंगभंग मुद्दा फैसला भई सजाय तोकिए पनि मुद्दा चल्दा धरौटीमा छुटेका शेषराज फेरी पक्राउ पर्नुभएको छैन ।
यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रहेको क्षतिपूर्ति सम्बन्धि मुद्दा चालु अवस्थामा छ । पीडक र पीडित बीच भएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उक्त मुद्दा फैसला गरेको छैन । सहमतिअनुसार तीन किस्तामा पीडित पक्षलाई उपचारखर्च दिने उल्लेख भएको छ । २०८१ साउन महिनासम्म तीन किस्तामा रकम भुक्तानी गर्नुपर्ने भए पनि हालसम्म उक्त रकम पाउन नसकेको विमलाले गुनासो गर्नुभयो ।
३० वैशाख २०८२ मा उपचार खर्च दिलाईदिन, दोषीलाई कारवाही गर्न र पीडितलाई न्यायको माग गर्दै विमला विरामी श्रीमानसहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा धर्ना बस्नु भएपछि प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले पीडक पक्षलाई खोजी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । तरपनि, पीडक अझैसम्म पक्राउ परेका छैनन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच