
कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनु भएको छ ।
नागरिक उन्मुक्ति पार्टीको आन्तरिक कलह विच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री रहेका चौधरीले सरकार फेरिएपछि पद गुमाउनु भएको थियो । विवादित अडियोका कारण लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि नागरिक उन्मुक्ति पार्टीको मन्त्रीको कोटा खाली भएको थियो । वन मन्त्री नियुक्त भएका चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनियताको शपथग्रहण गराउनु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पठाउने विषयमा नागरिक उन्मुक्ति पार्टीको आन्तरिक कलह सतमा देखिएको छ । विवादित अडिओ संवाद सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले चैत्र १६ गते राजीनामा दिनु भएको थियो ।
गत मंगलबार नाउपा अध्यक्ष रन्जिता श्रेष्ठलाई मन्त्रीको नाम दिन संसदीय दलका नेता घनश्याम चौधरीले पत्राचार गर्नु भएको थियो । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सोही दिन कैलाली क्षेत्र १ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद कैलाश चौधरीलाई मन्त्रीका लागि सिफारिस गरेपनी बहुमत सांसदहरूले अस्वीकार गरेका थिए ।
त्यसपछि वैशाख ३१ गते संसदीय दलको बैठक बसेर घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरिएको थियो । दलका बहुमत सांसदहरूले घनश्याम चौधरीको नाममा निर्णय गरे पनि मुख्यमन्त्री कार्यालयमा भने रामेश्वरलाई मन्त्री बनाउने भन्दै सिफारिस गरेको खुलेको छ । घनश्याम चौधरी संसदीय दलका नेता हुनुहुन्छ । उहाँलाई मन्त्री बनाउने निर्णय गर्दा सहभागी नाउपाकै एक सांसदले मुख्यमन्त्री कमलबहादुर शाहलाई एउटाको नाममा निर्णय भएर अर्कालाई मन्त्री बनाउने तयारी गरिएको भन्दै शपथ नगराउन जानकारी गराएका थिए ।
‘सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सिफारिसका लागि औपचारिकरूपमा बैठक बसी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयमा मन्त्री पठाउने सम्बन्धमा व्यापक छलफल गरी कैलाली क्षेत्र नम्बर ३ को प्रदेश १ बाट निर्वाचित सांसद माननीय घनश्याम चौधरीलाई बहुमत सांसदले टुङ्गो लगाएको र सो निर्णय अनुरूप मुख्यमन्त्रीको कार्यालयमा पत्राचार गरेको थियो ’ मुख्यमन्त्री शाहलाई सांसद खुशीरामले दिएको जानकारी पत्रमा भनिएको छ, ‘तत्पश्चात् संसदीय दलका मन्त्री पठाउने कुनै निर्णय नभएको संसदीय दलको नेताले बैठक नबसाली कुनै निर्णय नगरी संसदीय दलको विधि विधान र ऐन कानूनविपरीत ढङ्गले माननीय धनश्याम चौधरीले माननीय रामेश्वर चौधरीलाई दिएको पत्रमा वैधानिकता नरहेकोले निजलाई शपथ ग्रहण नगराउन लागि यो निवेदन पेस गरेको छु । ’
खुशीराम चौधरीसहितको हस्ताक्षरबाट दलको नेतालाई नै मन्त्रीमा पठाउने निर्णय भएको अहिले अर्कोलाई मन्त्री पठाउने तयारी गरिदा त्यो विषयमा कुनै निर्णय नभएको मुख्यमन्त्रीलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । खुशीराम चौधरीले संसदीय दलको नेताले गम्भीर त्रुटि गरेको भन्दै अनुशासन समितिलाई पनि उजुरी दिएका छन् ।
घनश्याम चौधरीले मन्त्री बन्न रामेश्वर चौधरीलाई दिएको पत्रमा कुनै वैधानिकता नभएको उहाँको उजुरीमा उल्लेख गरिएको छ । संसदीय दलले सर्वसम्मत, अल्पमत वा बहुमत प्रणालीबाट मन्त्री छनोट गर्नु पर्नेमा दलको नेताले एकलौटी गरेको भन्दै दलको नेतामाथि छानबिन गरी कारवाहीको माग गरेका छन् ।
संसदीय दलका नेता विधि र प्रक्रियाभन्दा बाहिर गएको हुँदा आफूले उजुरी दिनु परेको उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच