
नेपालगञ्ज । नेपाली महिला क्रिकेटको जन्मथलो हो, बाँकेको कोहलपुर । बाँकेको कोहलपुर निवासी एलबी क्षेत्रीले सबैभन्दा पहिला महिला क्रिकेटको परिकल्पना गर्नु भएको थियो । राष्ट्रिय पुरुष टोलीका कप्तान रहिसक्नुभएका क्षेत्री नेपाली महिला क्रिकेटको सुरुवातकर्ता मानिनुहुन्छ । उहाँले वि.स. २०६१ सालमा महिला क्रिकेट जन्माउने प्रयास थाल्नु भएको थियो ।
कुनै समय नेपाली महिला राष्ट्रिय टोलीमा बाँकेको बाहुल्यता थियो । लामो समय बाँकेका मात्रै सात जना खेलाडीले राष्ट्रिय टोलीमा राज गरेका थिए । महिला क्रिकेट जन्माएको जिल्लामात्रै होइन, बाँके सरकारी तलव खाने क्रिकेटका प्रशिक्षक भएको जिल्ला पनि हो । नेपाली महिला क्रिकेटको कुरा गर्दा बाँके,त्यसमा पनि कोहलपुरको नाम अग्र स्थानमा आउँछ । बाँकेको कोहलपुरस्थित अन्र्तराष्ट्रिय क्रिकेट मैदान निर्माणाधिन अवस्थामा छ । त्यहाँ सरकारको लगानीमा महिला क्रिकेट जन्माउने उद्देश्यले एकेडेमीसमेत बन्दैछ ।
निर्माणधिन क्रिकेट मैदानमा अहिले वर्षमा छिटफुट प्रतियोगिता हुन थालेका छन् । महिला क्रिकेट प्रतियोगितासमेत आयोजना हुँदै आएका छन् । रंगशालाले फेरि एकपटक महिला क्रिकेटर जन्माउँदैछ । खासगरी संघीयतापछि स्थानीय स्तरमा मेयर र उपमेयर कपका नाममा विभिन्न प्रतियोगिता हुँदै आएका छन् । कोहलपुरमा पनि वि.स.२०७४ देखि उपमेयर छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको छ । यस प्रतियोगिताले कोहलपुरमा महिला क्रिकेटलाई पुनःजागृत गराउँदैछ । स्थानीय तहका प्रतियोगिता खेलेका खेलाडीहरुमा उमेर समूहको राष्ट्रिय छनोटसम्म पुगिसकेका छन् ।
कोहलपुरमा महिला क्रिकेटको नाम लिदाँ कोहलपुर–१३स्थित बालशिक्षा माध्यमिक विद्यालय भरैया अग्रणी स्थानमा देखिदैँ आएको छ । भरैया महिला क्रिकेटको जिल्ला च्याम्पियनसमेत हो । भरैयाको क्रिकेट यात्रा भने, चौथो उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता २०७८ सालबाट सुरु हुन्छ । उक्त प्रतियोगिता बालशिक्षा माध्यमिक विद्यालयले व्यवस्थापन सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा विद्यालयले तेस्रो स्थान हासिल गर्यो । यतिमात्रै होइन विद्यालयले प्रतियोगिताकै अनुशासित टिमको पुरस्कारसमेत जितेको थियो । विद्यालयका प्रधानाध्यापक टर्क बहादुर खत्री भरैयाको छात्रा क्रिकेट टिमको जन्म त्यही प्रतियोगिताबाट भएको बताउँछन् ।
त्यसअघि भरैयाले कुनैपनि औपचारिक प्रतियोगिताहरुमा भाग लिएकै थिएन । पहिलो सहभागितामै खेलाडीले राम्रो सम्भावना देखाए । विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भयो । त्यसपछि विद्यालयले शिक्षक दीपक केसीलाई प्रशिक्षककै रुपमा जिम्मेवारी दिएको प्रधानाध्यापक खत्रीको भनाइ छ । अहिले भरैयाको टोलीले उनकै नेतृत्वमा प्रशिक्षण गरिरहेको छ । निरन्तर अभ्यास र प्रशिक्षक नियुक्तिको प्रभाव छैठौँ उपमेयर अन्तर मावि छात्रा क्रिकेट प्रतियोगितामा देखा पर्यो ।
छैठो उपमेयर कप अन्तर मावि छात्रा क्रिकेट प्रतियोगिता–२०८० मा बालशिक्षा मावि भरैया उपविजेता बन्यो । त्यसपछि खेलाडी र विद्यालयमा थप आत्मविश्वास बढेको उहाँले बताउनुभयो । नभन्दै विद्यालयमा २०८१ मा दुई ठूला उपलब्धि हासिल गर्यो । तेस्रोपटकको सहभागितामै बालशिक्षाले सातौ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ को उपाधि नै जित्यो । टोलीकी महत्वपूर्ण सदस्य सम्झना पुन प्येअर अफ द टुनामेन्ट र वेष्ट बलर घोषित हुनु भएको थियो । बालशिक्षाकै हुमकली वली उत्कृष्ट ब्याटर हुनुभयो । यतिमात्रै होइन,भरैयाले जिल्ला स्तरीय नेपालगन्ज मेयर तथा उपमेयर कप–२०८१ को उपाधि जितेर आफूलाई महिला क्रिकेटको नयाँ शक्तिको रुपमा स्थापित गर्यो । उक्त प्रतियोगितामा पनि बालशिक्षा मावि भरैयाकी सम्झना पुन प्येअर अफ द टुनामेन्ट घोषित भएकी हुनु भएको थियो । भरैयाकै सुरक्षा पुन प्लेअर अफ फाइनल घोषित हुनुभयो । लगत्तै बालशिक्षाका चार जना छात्रा क्रिकेटर सम्मिलित बाँके जिल्लाको महिला टोलीले दाङमा पीएम कप छनौट खेल्यो ।
बालशिक्षा माविका सुरक्षा पुन,सम्झना पुन,सिर्जना खड्का र पूर्णिमा डाँगीले बाँके जिल्लाको प्रतिनिधित्व गरेका थिए । भरैयाकै लक्ष्मी चन्दले समेत छनोट खेलेकी थिइन् । उक्त प्रतियोगिताबाट भरैयाकी सम्झना पुनले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै धनगढीमा पीएम कप खेलेकी थिइन् ।उक्त प्रतियोगितामा लुम्बिनी सेमिफाइनलसम्म पुग्यो । सम्झनाले भने उक्त प्रतियोगितामा आक्रमक खेलिन् । उनले नेपाली राष्ट्रिय महिला टोलीकी नियममित सदस्य विन्दु रावललाई आउट गराएकी थिइन् । अन्य खेलाडीहरु पनि सम्झनाको कसिलो बलिङमा कमजोर देखिएका थिए ।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलेकी सम्झनासहित भरैयाका चार जना खेलाडी शुसील कोइराला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि छनोटमा परेकी छन् । छनौट भएका अन्य खेलाडीहरु सुरक्षा पुन,सम्झना पुन र सिर्जना खड्का हुन् । प्रशिक्षक दीपक केसी अन्य खेलाडी भन्दा सम्झना सम्भावना बोकेकी खेलाडी भएको बताउँछन् । उनी र बलिङ र ब्याटिङ दुवै गर्छिन् । उनी अलराउण्डरसमेत हुन् । ‘हामीले नियमित प्रशिक्षण गराइरहेका छौँ । हाम्रो विद्यालयमा थुप्रै महिला क्रिकेटर जन्मिदैँछन् । क्रिकेटमा पहिचान बनाउन हामी लागिपरेका छौँ । सोही अनुसार विद्यालयले लगानीसमेत गरिरहेको छ,’ उनले भने । प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएको विद्यालयले खेलकुदलाई समेत प्राथमिकता दिएको प्रधानाध्यापक खत्रीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच