
काठमाडौं । यही जेठ १५ गतेदेखि सिनेमाघरमा आउन लागेको दिनेश राउत निर्देशित प्रतीक्षित चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । करिब साढे चार मिनेट लामो आइतबार सार्वजनिक ट्रेलरले सहकारी संस्थाहरूमा पिडित बनेका आम नागरिकका पीडा र सामाजिक असमानताको गम्भीर रूप उतारेको छ । आइतबार दिउँसो काठमाडौंको क्युएफएक्स सिनेमा-राइजिङ मलमा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गर्दै चलचित्र युनिटले चलचित्रले उठाउने समसामयिक विषयवस्तुका बारेमा पत्रकार तथा प्रेक्षकलाई परिचित गराए ।
यसमा प्रमुख पात्र दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला प्रमुख भूमिकामा चित्रित हुनुहुन्छ । ट्रेलरका बीचबीचमा सहकारीमा जम्मा गरेको रकम नपाएर औषधिमात्र होइन, ज्यान नै गुमाउन पुगेका आम मानिसको त्रासदी, जागिरे कर्मचारीको मनोवेदना र राजनीतिकरूपले चलखेल गर्नेहरूको दम्भ झल्किन्छ । ट्रेलरको अन्त्यतिर भित्तामा ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृश्यले चलचित्रले वास्तविक सत्यको खोजी गर्न प्रतिबद्ध देखिएको छ । केही दिनअघि चलचित्रका सबै कलाकारले आफ्नो सामाजिक सञ्जालमा एउटै स्ट्याटस ‘सत्य कहिल्यै लुक्दैन’ पोष्ट गरी उत्सुकता फैलाएका थिए ।
‘समाजमा सहकारीको रकम मिसयुज हुने घटनाहरू पछिल्लो समयमात्र बढेका होइनन् । अहिलेको समयमा यो विषय तातेको भएरमात्र पनि यो कथालाई पर्दामा उतार्ने प्रयोजन बनाएका होइनौं । हाम्रो समाजका माथिल्ला स्तरका केही मानिसहरूले तल्लो स्तरका मानिसलाई प्रयोग गरी कसरी आफ्नो बिलासी जीवन जिउँछन् भन्ने कथा यो चलचित्रको हो, सहकारीको कथा एक कारकमात्र हो’, निर्देशक दिनेश राउतले भन्नुभयो । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता हिमाल कडरियाले भन्नुभयो, ‘चलचित्रमा पैसामात्र प्रलोभन होइन, हाम्रो समाज आफैंले उत्पादन गरेको कथा हुनु आवश्यक थियो । त्यसैबाट ‘महाभोज’ जन्मियो ।’
विकास सुवेदीले कथा तथा पटकथा लेखेको यस चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच