
काठमाडौं । वर्तमान लोकतान्त्रिक प्रणालीमा अझै पनि अनेक चुनौती रहेको हुनाले परिवर्तनको आधार भूमिबारे विमर्श गर्नुपर्ने कतिपय वक्ताहरूको धारणा रहेको छ । प्रजातान्त्रिक विचार समाजको तीसौं वार्षिकोत्सव तथा २७औं साधारण सभाका वक्ताहरूले केही सीमित वर्गले समृद्धि, शक्ति र प्रतिष्ठा उपभोग गरिरहेको हुनाले उत्पन्न निराशालाई चिर्नुपर्ने विचार प्रकट गर्नुभएको थियो ।
प्रमुख अतिथिका रूपमा समारोहको उद्घाटनक्रममा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संविधानका आधारमा एकल बहुमत आउन असम्भव जस्तै रहेको हुनाले दुई वा धेरै दलहरूकाबीच सहकार्य र गठबन्धन निरन्तर स्वाभाविक हुने तर्क गर्नुहुँदै सरकारको स्थायित्व र विकासका लागि अहिले नेपाली कांग्रेस र एमालेको गठबन्धन गरिएको विचार प्रकट गर्नुभएको थियो ।
विशिष्ट अतिथिको आशनबाट बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टीभित्र फरक वैचारिकधारको नेतृत्व गरिरहनु भएका डा.शेखर कोइरालाले विपन्न नागरिकहरूको श्रम र शिक्षित युवाहरूको योग्यताले आर्जित रेमिट्यान्समा आँखा लागेकै कारण अहिले गभर्नरको विवाद सतहमा आएको हो कि भन्नेमा आशंका प्रकट गर्दै आमनागरिकमा देखिएको निराशा नचिरे लोकतन्त्रको मूल्य र संस्कृति निरीह हुने खतरा रहेको स्पष्ट गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले जनतामा भरोसा र विश्वास दिन सकिएन भने शासन र प्रणालीप्रति अविश्वास उत्पन्न हुनसक्नेतर्फ सचेत हुनुपर्ने समय आएको विचार प्रकट गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख वक्ताका रूपमा हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहालले पचास वर्षभित्र संसारका अनेक ठूला साना राष्ट्रहरूमा देखिएको परिवर्तनको असर, प्रविधिले विकास गर्न लागेको सामाजिक मूल्य, कृत्रिम बौद्धिकताले ल्याउनसक्ने चुनौती, दक्षिण एसियामा नै देखिएको युद्धजन्य अवस्था, पश्चिम एसियाको द्वन्द्व र रुस युक्रेन युद्धको असरबारे नेपाली नेता र बौद्धिकहरूले विशद् विमर्श गर्नुपर्ने अवस्था आएको विचार प्रकट गर्नुहुँदै नेपालमा अहिले पनि परिवर्तनको आधार निर्विवाद हुन नसकेको हुनाले नै प्रणालीगत स्थायित्वमा शंका उत्पन्न भइरहेको तर्क गर्नुभएको थियो ।
समाजका सभापति वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेको सभापतित्वमा सम्पन्न सो समारोहमा पूर्वमन्त्री विश्वसम्बन्ध परिषद्का नवनिर्वाचित सभापति सुरेश मल्ल, वरिष्ठ अधिवक्ता हरिहर दाहाल र समाजका निवर्तमान सभापति डा.केदारनरसिंह केसीले समेत मन्तव्य राख्नु भएको थियो । डा.केसीले परिवर्तीत व्यवस्थाले अवस्थामा केकति परिवर्तन भयो त्यो विषय गम्भीर उत्तरापेक्षी रहेकोतर्फ सबैको ध्यानाकर्षण गराउनु भएको थियो ।
समाजले लोकतान्त्रिक आन्दोलनमा निरन्तर योगदान दिनु हुने व्यक्तित्वलाई विगतदेखि आरम्भ गरेको सम्मान तथा पुरस्कार यसपटक प्राडा.यज्ञप्रसाद अधिकारीलाई प्रदान गरेको छ । डा.अधिकारीले वीरेन्द्र क्याम्पस भरतपुरको स्ववियु सभापति, ०३६ मा कीर्तिपुर केन्द्रीय क्याम्पसको स्ववियु सभापति, त्रिविको प्राध्यापक, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुँदै प्रजातान्त्रिक समाजवादवारे व्यापक विचार प्रकट गर्नुभएको छ । उहाँका दर्जन कृति समाजवादमाथि प्रकाशित छन् । प्रजातान्त्रिक समाजवादबारे नेपाली भाष्यकार बीपी कोइराला, सीके प्रसाईं, प्रदीप गिरि पछि डा.यज्ञ अधिकारी रहनु भएको छ । यतिखेर अस्वस्थ अवस्थामा भरतपुरस्थित निजी निवासमा उपचार गराइरहनु भएको छ । उहाँले लोकतान्त्रिक आन्दोलनक्रममा अनेक पटक जेलयातनासमेत सहनु परेको थियो ।
विचार समाजको सभामा सचिव वासुदेव भण्डारीले वाािर्षक प्रतिवेदन र कोषाध्यक्ष डा.पुष्पमान श्रेष्ठले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । यसअघि वरिष्ठ उपाध्यक्ष डा.ईश्वरी लौडारीले समाजका विषयमा र सम्मानित व्यक्तित्व डा.अधिकारीबारे सदस्य जानुका पन्तले जानकारी दिनु भएको थियो ।
प्राध्यापक वासुदेवचन्द्र मल्ल (प्रा.विसी मल्ल) संस्थापक भएर स्वतन्त्रता र सामाजिक न्यायका पक्षमा बौद्धिक विमर्श गर्ने उद्देश्यकासाथ विसं २०५२ सालमा प्रजातान्त्रिक विचार समाजको स्थापना भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच