
काठमाडौं । काठमाडौं उपत्यकावासीको खानेपानीको प्रमुख स्रोत पहिलेदेखि नै भूमिगत पानी रहेको छ । उपत्यकाका हरेक कुनामा ढुंगेधारा, इनार र कुवालगायतका प्राकृतिक पानीका स्रोतहरू देख्न सकिन्छ तर विगत दुई दशकदेखि अत्यधिक भूमिगत पानी निकाल्ने, अव्यवस्थित भवन निर्माण र सडक निर्माणले उपत्यकामा भूमिगत पानीको स्तरमा उल्लेखनीय कमी आएको छ । छोटो अवधिमा अत्यधिक वर्षा हुने र वर्षा प्रणालीमा आएको परिवर्तनले पनि भूमिगत पानी पुनर्भरणको प्राकृतिक प्रक्रियामा असर पारेको छ ।
उल्लेखित समस्या सम्बोधन गर्न र कृत्रिम भूमिगत पानी पुनर्भरण पहलहरूमार्फत् भूमिगत पानी पुनर्भरण गर्न, शहरी पानी व्यवस्थापनमा सार्वजनिक÷निजी÷साझेदारी (पिपिपि) मोडल प्रदर्शन गर्दै बोटलर्स नेपाल लिमिटेड र सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट (सिआइयुडी) ले २०८१ मा काठमाडौं महानगरपालिका २२ र २५ मा भूमिगत पानी पुनर्भरण परियोजना कार्यान्वयन गरेको छ । छनोट गरिएका स्थानमा भूमिगत पानीको स्तर बढाउने, कम लागतको भूमिगत पानी पुनर्भरण प्रविधि प्रदर्शन गर्ने र स्थानीय सरकार र समुदायलाई सोही उद्देश्यमा प्रेरित गर्न उक्त परियोजनाले वडा २५ मा छ र वडा २२ मा पाँचवटा पुनर्भरण प्रणाली स्थापना गरेको छ । प्रत्येक प्रणालीमा एउटा पुनर्भरण कुवा र एउटा फिल्टर चेम्बर रहेको छ भने कुवाको औसत गहिराइ २० फिट रहेको छ ।
सिआइयुडी र बोटलर्स नेपालले संयुक्त रूपमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, वडा सदस्यहरू र स्थानीय समूहहरूको उपस्थितिमा वडा २२ र वडा २५ का अध्यक्षहरूलाई भूमिगत पानी पुनर्भरण प्रणाली हस्तान्तरण गरेका थिए । सो अवसरमा उपप्रमुख डंगोलले भन्नुभयो, ‘काठमाडौंमा पानी रिचार्जको आवश्यकता भएकाले हामी काठमाडौंका धेरै क्षेत्रमा पानी रिचार्ज प्रणालीका लागि सिआइयुडी र बोटलर्स नेपालसँग काम गरिरहेका छौं र यसका सकारात्मक प्रभावहरू पनि देखिरहेका छौं । आज काठमाडौंको मुख्य क्षेत्र वडा २२ र २५ मा यो परियोजना कार्यान्वयन गर्न सक्षम भएकोमा हामी धेरै खुसी छौं । जतिबेला यस परियोजनाको प्रत्यक्ष प्रभाव यस क्षेत्रका समुदायले अनुभव गर्नेछन्, निश्चित रूपमा हामी परियोजनाको वास्तविक सफलता त्यतिबेला मनाउने छौं ।’ उल्लेखित प्रणालीहरूले वार्षिक रूपमा लगभग आठ हजार छ सय २४ किलोलिटर लिटर पानी पुनर्भरण गर्न मद्दत गर्ने र सो क्षेत्रको भूमिगत पानीको तह स्थिर राख्ने अनुमान गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ को रानीबारी, ठिमी नगरपालिकाको युसिइपी, ललितपुर महानगरपालिकाको लगनखेलको राजदल ब्यारेक र काठमाडौं महानगरपालिका १६ को बालाजु पार्कमा परियोजना कार्यान्वयनमा आइसकेको छ । उल्लेखित परियोजनाहरूमार्फत् वार्षिक रूपमा करिब एक लाख ५६ हजार किलोलिटर भूमिगत पानी पुनर्भरण भइरहेको बोटलर्स नेपालले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच