
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर उपचार क्षेत्रमा सहकार्यका लागि स्वीट्जरल्याण्डका स्वास्थ्य क्षेत्रमा सक्रिय विज्ञहरूसँग अन्तरक्रिया गर्नुभएको छ । युरोपमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीहरूको समाजद्वारा आयोजित कार्यक्रममा उहाँले क्यान्सर उपचार तथा अनुसन्धान क्षेत्रमा क्रियाशील स्वीस विज्ञहरूसँग क्यान्सरको उपचारका क्षेत्रमा नेपालले गरिरहेका प्रयास तथा सहकार्यका क्षेत्रबारे कुराकानी गर्नुभएको हो । मन्त्री पौडेलले नेपालमा क्यान्सर प्रमुख स्वास्थ्य चुनौती बनिरहेको भन्दै क्यान्सरसँग जुध्न नेपालले उपचार सुधार तथा रोग लाग्न नदिन देशव्यापी परीक्षण अभियान र खोप कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले बाल क्यान्सरको निःशुल्क उपचार, किशोरीविरुद्ध राष्ट्रव्यापी खोप अभियान तथा क्यान्सर सेवा प्रादेशिक अस्पतालहरूमा विस्तारलगायतका कार्यले क्यान्सरका क्षेत्रमा सकारात्मक नतिजा ल्याउने बताउनुभयो । त्यसैगरी जटिल दीर्घरोगीहरूको स्याहारका लागि रणनीतिसमेत लागू गरिएको स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिनुभयो । उहाँले स्वीटजरल्याण्ड र युरोपबाट नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य भइरहेको भन्दै आभार प्रकट गर्नुभयो ।
बर्न विश्वविद्यालयको हाइपरथर्मिया युनिट प्रमुख डा. इममानुयल स्टुट्जले क्यान्सर उपचारका क्षेत्रमा धेरै सुधार भइरहेको भन्दै कम लागतमा छोटो समयमा प्रभावकारी उपचार सेवा प्राप्त गर्न सकिने भएकाले नेपालमा समेत त्यस्तो प्रविधि प्रसार गर्न सकिने बताउनुभयो । बर्न विश्वविद्यालयको प्रशामक सेवा सहनिर्देशक डा. मोनिका फ्लेडरले क्यान्सर उपचारमा प्रशामक सेवाको महत्वपूर्ण योगदान हुने भन्दै नेपालमा समेत त्यस्तो सुविधा विस्तार हुन लागेको खबर सकारात्मक भएको बताउनुभयो । सहयोगी संस्था चाए या स्वीटजरल्याण्डका करिन गसरले संस्थातर्फबाट नेपालमा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग भइरहेको बताउनुभयो ।
कार्यक्रम आयोजक युरोपमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीको समाजका अध्यक्ष डा. विनय श्रेष्ठले मन्त्रालयले डायस्पोरामा रहेका नेपाली स्वास्थ्यकर्मीलाई देशसँग जोड्न नेपाल हेल्थ कन्क्लेभले योगदान दिएको बताउनुभयो । उहाँले नेपालको स्वास्थ्य सुधारमा मन्त्री पौडेलले सकारात्मक प्रयास गरेको भन्दै चिकित्सकको हकहितका पक्षमा लिएको अडानको सराहना गर्नुभयो । उहाँले स्वीटजरल्याण्ड तथा युरोपसँग नेपालले स्वास्थ्यका क्षेत्रमा सहकार्यका लागि आफूहरू सहजीकरण गर्न तयार रहेको पनि बताउनुभयो ।
स्वास्थ्यमन्त्रीको सचिवालयका अनुसार जेनेभास्थित नेपाली राजदूत रामप्रसाद सुवेदीसमेत सहभागी कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू, युरोपमा क्रियाशील नेपाली चिकित्सकहरू, गैरआवासीय नेपाली संघका पदाधिकारीलगायत सहभागी थिए ।
यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको भन्दै त्यसको निरन्तरताका लागि संयुक्त राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय दातृ निकायसँग आग्रह गर्नुभएको छ । स्वीटजरल्याण्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८औँ सभा सुरु हुनुपूर्व आयोजित मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै उहाँले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताउनुभयो ।
वैदेशिक विकास सहायता कटौतीले मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा तथा स्वास्थ्य क्षेत्रमा पर्ने प्रभाव र प्रतिक्रिया विषयक मन्त्रीस्तरीय गोलमेचमा बोल्दै स्वास्थ्यमन्त्री पौडेलले नेपाल निम्न तथा मध्य आय भएका राष्ट्रहरूको सूचीमा स्तरोन्नतिका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुन सक्ने देखिएको बताउनुभयो । प्रजनन् उमेरका करिब ५० लाख महिलाले पाइरहेको महत्वपूर्ण सेवा तथा पाँच वर्षमुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको उहाँको भनाइ थियो । मन्त्री पौडेलले भन्नुभयो, ‘प्राथमिकता परिवर्तन भएका कारण अन्य द्विपक्षीय तथा बहुपक्षीय कटौतीले नेपालका मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन कार्यक्रमजस्ता प्रमुख स्वास्थ्य कार्यक्रम प्रभावित हुने देखिएको छ, समस्यासँग जुध्न नेपालले यी क्षेत्रमा आन्तरिक बजेट वृद्धि गरेको छ ।’
सहयोग र बजेट कटौतीका बाबजुद नेपालले आन्तरिक स्रोतबाट लगानी बढाउने प्रयास गरेको तर पनि घट्दो स्वास्थ्य बजेट चुनौतीका रूपमा रहेको मन्त्री पौडेलले बताउनुभयो । उहाँले विश्वका अल्पविकसित देशहरू सहयोग कटौतीको मारमा परेको भन्दै स्वास्थ्य चुनौती सामना गर्न राष्ट्रसंघ तथा दातृ निकायहरूले दिगो आर्थिक तथा प्राविधिक सहयोगमा जोड दिनुपर्ने बताउनुभयो । मन्त्री पौडेलले बैठकमा नेपालले मातृ शिशु स्वास्थ्यका क्षेत्रमा प्राप्त गरेको सफलताबारे प्रस्तुतिसमेत दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच