
काठमाडौं । जलवायु संकट समाधान गर्न साझा समझदारीको सन्देशसहित सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ । जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी गर्दै सगरमाथा संवाद सम्पन्न भएको हो । आइतबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले घोषणापत्र सार्वजनिक गर्दै विश्व समुदायलाई जलवायु संकटविरुद्ध एकजुट भई कदम चाल्न आहृवान गर्नुभयो । जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको उहाँले बताउनुभयो । परराष्ट्रमन्त्री राणाले संवादमा छलफल भएका विषय र सुझावलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उठान गरिने बताउनुभयो । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने साझा प्रतिबद्धताका लागि सगरमाथा संवाद ऐतिहासिक फोरम बनेको उहाँको भनाइ थियो । घोषणापत्रमा हिमाल बचाउने प्रतिबद्धता, हरित प्रविधिको प्रवद्र्धन, विकासशील राष्ट्रहरूलाई सहुलियत, वित्तीय सहयोग तथा जलवायु न्यायका पक्षमा ठोस मागहरू राखिएका छन् ।
सगरमाथा संवादको दोस्रो संस्करण सन् २०२७ मा हुने परराष्ट्रमन्त्री डा. राणाले जानकारी दिनुभयो । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक सगरमाथा संवाद आयोजना गरेको हो । सम्मेलनमा १७५ विदेशी पाहुनासहित १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएका थिए ।
जलवायु वित्तमा समान पहुँच सुनिश्चित गर्ने प्रयास
सगरमाथा कार्य आहृवानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्वऔद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकता पूरा गर्न राष्ट्रिय अनुकूलन योजना विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आहृवान गरिने उल्लेख छ । संवादले विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय संयन्त्रका सञ्चालन निकाय र युएनएफसीसिसी र पेरिस सम्झौता अन्तर्गतका कोषसहित अन्तर्राष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासलाई प्रोत्साहित गर्न आहृवान गरेको छ ।
पर्वतीय क्षेत्रहरूमा जलवायु कार्य र दिगो विकासका लागि लक्षित वित्तीय स्रोत परिचालन गर्न पर्वतीय देशहरूको विकासका लागि समर्पित कोष स्थापना गर्ने आहृवानलाई समर्थन गर्ने र मौजुदा तथा नवप्रवर्तनकारी वित्तीय स्रोतको उपयोग गरी पर्वतीय पारिस्थितिक प्रणाली सेवाहरूको मान्यता, सम्मान र पुरस्कृत गर्न प्राथमिकता दिने सगरमाथा कार्य आहृवानमा उल्लेख छ । दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ ।
संवादले ग्रामीण र शहरी समुदाय दुवैमा सानादेखि ठूला स्तरका पूर्वाधारसम्म हरित, लचिलो र समावेशी विकास प्रवद्र्धन गर्ने महत्वलाई स्वीकार गर्दै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, स्वच्छ ऊर्जाका साथै हरित, चक्रीय र बायो-अर्थतन्त्रमार्फत भविष्यलाई शक्ति प्रदान गर्ने महत्वलाई स्वीकार गरेको छ । जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानलाई प्रवद्र्धन गर्ने आहृवानमा उल्लेख छ ।
बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकको सक्रिय सहभागितामार्फत समावेशी जलवायु कार्यहरूलाई बढावा दिन र अन्तरपुस्ता र अन्तरपुस्ता समानता कायम राख्दै लैंगिक सन्तुलन कायम गर्ने आहृवानमा उल्लेख छ । पर्वतीय समुदायको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियामा बुलन्द गर्ने उद्देश्यले संवाद, नवप्रवर्तन र सशक्तिकरणका लागि हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहु-सरोकारवाला अन्तर्राष्ट्रिय मञ्चको सिर्जना गर्न आहृवान गरिएको छ ।
ज्ञान केन्द्रहरू विकास, उत्कृष्ट अभ्यासहरू साझा गर्ने र जलवायु नीति, कार्यक्रम र कार्यहरूमा स्थानीय समुदायहरूको भूमिका बढाउने आवश्यकतालाई जोड दिइएको छ । संवादमा सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुञ्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ ।
जलवायुजन्य विपद्का कारण सहरहरू असुरक्षित
सरोकारवालाहरूले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायु प्रदूषण प्रमुख समस्या बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सगरमाथा संवादमा ‘दिगो सहरहरू र समुदायहरू’ विषयक समानान्तर सत्रमा सहभागी सरोकारवालाले जलवायु परिवर्तनसँग थपिएको वायु प्रदूषण सहरको ठूलो समस्या बनेको बताएका हुन् । यसले विशेषगरी बालबालिका तथा वृद्धहरूको स्वास्थ्यमा नकारात्मक असर पु¥याइरहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । सत्रका वक्ताहरूले जलवायुजन्य विपद्का कारण सहरहरू असुरक्षित रहेको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गत असोजमा भएको भारी वर्षाका कारण काठमाडौं उपत्यकामा अकल्पनीय विपद्का घटना भएको स्मरण गर्नुभयो । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले पनि पछिल्लो समयमा जलवायु परिवर्तनले नसोचेको विपद् निम्त्याएको बताउनुभयो । सहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ सहर विकास गर्दा विपद्मैत्री बनाउनुपर्ने र यसका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो । ग्लोबल ग्रीन ग्रोथ सेन्टरका प्रमुख सल्लाहकार डा. बिन्धुनाथ लोहनीले विश्वको तापमान वृद्धि दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने र यसो गर्न नसके सहरहरूले जलवायुजन्य चर्को समस्या भोग्नुपर्ने बताउनुभयो । एग्रो फाउन्डेसन भारतका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक निर्देशक चरण सिंहले सहरी योजनामा हरित हाइड्रोजन, बायोमासलाई ऊर्जा र विपद्मैत्री पूर्वाधारका योजना समावेश गर्न जरुरी रहेको बताउनुभयो ।
माउन्टेन फ्लाइटबाटै हिमशृंखलाको दृश्यावलोकन
नेपाली विज्ञहरूको टोलीले माउन्टेन फ्लाइटमार्फत सगरमाथासहित हिमालको अवलोकन गरेका छन् । आइतबार बिहान २४ जना विदेशीसहित टोलीले माउन्टेन फ्लाइटमार्फत सगरमाथासहित ल्होत्से, चोयु, शिसापाङ्मा, अमादब्लम, गौरीशंकर, मकालु, लाङटाङलगायत हिमालहरूको अवलोकन गरेका हुन् । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा भएको माउन्टेन फ्लाइटको उद्देश्य नेपालमा जलावायु परिवर्तनले देखिएको असरबारे विदेशी पाहुनालाई प्रत्यक्ष अवलोकन गराउनु थियो । सगरमाथा संवादका लागि आएका पाहुनालाई माउन्टेन फ्लाइटमार्फत् हिमालहरूको अवलोकन गराइएको हो । यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए । करिब एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले मनमोहक हिमशृंखलाको दृश्यावलोकन गरेका थिए । साहसिक गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिनुभयो । वनमन्त्री शाहीले नेपालका हिमालहरूमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको जानकारी दिनुभयो । ‘पहिले जता हेर्यो त्यतै सेता हिमाल देखिन्थे । तर, अहिले काला पहाडहरू देखिन थालेका छन्,’ उहाँले भन्नुभयो, ‘पहिले सेतै देखिने हिमालहरू अहिले काला पहाड बनेका छन् ।’
जलवायु परिवर्तनको जोखिम विश्वसामु उजागर गर्न सफल भयौँ : परराष्ट्रमन्त्री
घोषणापत्रले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको जोखिमलाई विश्वसामु उजागर गर्न सफल भएको परराष्ट्रमन्त्री डा. राणाले बताउनुभयो । संवादमार्फत् मानव भविष्य सुरक्षित गर्न सबै सहभागीबीच सहमति बनेको उहाँले बताउनुभयो । ‘तीनदिने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तन, पर्वत र मानव भविष्यबारे गरिएको छलफल ऐतिहासिक रहृयो । सगरमाथा संवादले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा जलवायु नेतृत्वदायी राष्ट्रको रूपमा स्थापित गरेको उहाँको भनाइ थियो ।
समापनपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सगरमाथा संवादमार्फत् हिमाल मात्र नभई समुद्र सतहसम्म प्रभावित हुनेहरूसम्मको सरोकार उजागर गर्न खोजिएको बताउनुभयो । यो नेपालको मात्रै नभई सबैको साझा विषय भएको उहाँले बताउनुभयो । ‘यो नेपालको मात्र विषय होइन, यो सबैको साझा विषय हो,’ उहाँले भन्नुुभयो, ‘विकासोन्मुख र अति कमविकसित देशलाई आवश्यक सहयोग नपुगेमा लिएका लक्ष्य पूरा गर्न सकिँदैन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच