
दुई-चारजना नेताहरूको नेतृत्वमा देश चलेको हुन्छ तर करोडौं जनता ती सीमित नेताहरूको मुडका आधारमा चलेको राज्य प्रणालीका कानुनी बन्धनमा बाँधिएर बस्न बाध्य हुन्छन् । नेताको मुड र जनताको अपेक्षाका बीच कहिल्यै पनि सामन्जस्य भएको पाइँदैन । आफू सरकारमा जाने हो भने देशमा विकासको बहार ल्याइदिने थिएँ र आमूल परिवर्तन गरिदिने थिएँ भन्ने विचार राखेर जनताको मन जितेर तिनीहरू त्यहाँसम्म पुग्ने गर्छन् तर त्यहाँसम्म पुगेपछि तिनले राज्य व्यवस्थालाई निरन्तरता दिने र नियमित रूपमा सञ्चालनमा आइरहेका योजनाहरूलाई अगाडि बढाउनेबाहेका अन्य काम गर्न सक्दैनन् । त्यसैले नेतृत्व फेरिएको केही समय बित्न पाउँदा-नपाउँदै जनतामा पहिलेको भन्दा बढी निराशाका पहाडहरू खडा हुन पुग्छन् । प्रजातन्त्र पुनस्र्थापनापछिको साढे तीन दशकमा यही देखिएको छ ।
वर्तमान समयमा पनि नेता र नेतृत्वबाट जनताका अपेक्षाहरू धमाधम पूरा भएको पाइएको छैन । नयाँ समीकरणमा के गर्ने समीकरण कसरी बदल्ने कि नबदल्ने भन्ने विषय नेताहरूको मुडमा भर पर्नेगर्छ । हालका दिनहरूमा सरकारको समीकरण परिवर्ततन हुने हल्लाले बजार तताउने गरेको छ । यसमा दोस्रो तथा तेस्रो तहका नेताहरूले आगोमा घ्यू थप्ने काम गरिरहेका छन् । जनतालाई सरकारको समीकरण फेरिनु र नफेरिनुसँग त्यति चासो छैन । किनभने जे जसरी सरकारको समीकरण फेरिए पनि जनतालाई यिनै केही सीमित नेताहरू मध्येबाटै पालोफेरो प्रधानमन्त्री र मन्त्री बन्ने हुन् भन्ने थाहा छ, नेपाली जनताले यी नेताहरूको नेतृत्व हेरिसकेका छन् ।
प्रधानमन्त्री बन्ने व्यक्ति भनेको केपी ओली जो हाल पदमा रहिरहनुभएको छ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमध्येबाटै हो । जनताले उहाँहरू सबैको प्रधानमन्त्रित्व देखिसकेका र भोगिसकेका हुनाले जनतामा त्यति उत्सुकता छैन । सरकार पालैपालो चलाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेका बीच सहमति भएको छ । वर्तमान सरकार त्यही सहमति अनुसारको हो । आलोपालोमा दोस्रो ठूलो दलले प्रधानमन्त्री पाएको छ । पहिलो दलका सभापति पालो पर्खेर बसिरहनुभएको छ । पालो आउन अझै १४ महिना बाँकी छ । माओवादी पार्टीले नयाँ सत्ता समीकरण गर्न नेपाली कांग्रेसलाई उचालिरहेको अवस्था छ र यस्तो आश्वाशनको पछि लाग्ने नेताहरू धेरै छन् ।
यही अवस्थालाई ध्यान दिएर हुनसक्छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल विद्यमान सत्ता समीकरण परिवर्तन नगर्ने मुडमा रहनुभएको पाइएको छ । पार्टीभित्र सरकारमा कांग्रेस पार्टीको कमजोर संलग्नता देखिरहेका नेताहरू सरकारको, पार्टीको र शीर्ष नेताहरूको विरोधमा उभिएको अवस्थामा उहाँहरूको असन्तुष्टिलाई मत्थर पार्ने प्रयासमा सभापति देउवाबाट यस्तो मुड पैदा भएको हो । तर, उहाँको मौनताप्रति असन्तुष्ट रहँदै आउनुभएका पार्टीका नेताहरू यत्तिले मात्र सन्तुष्ट हुनुहोला भन्ने कुुरा विश्वसनीय छैन । नेपाली कांग्रेसभित्र एकातिर सभापति देउवाको पक्ष उभिएको छ जो सबल पनि छ तर सभापति आफैं वार्धक्यका कराण सक्रिय रहनसक्ने अवस्था छैन ।
त्यसैले नेतृत्वका लागि पालो पर्खिएर बसेका नेताहरू उहाँको नेतृत्वप्रति सन्तुष्ट बन्न नसक्नुभएको हो । विशेष गरी डा.शेखर कोइराला र महामन्त्री गगन थापाहरू पार्टीभित्र सभापति देउवाको विपक्षमा उभिँदै आउनुभएको छ । उहाँहरूको चाहना नयाँ समीकरणकै पक्षमा छ । कांग्रेसभित्रको एउटा असन्तुष्ट पक्षलाई समेटेर अगाडि आउने उहाँहरूको प्रयास छ । त्यसैले डा.कोइरालाले सरकारले लामो समयदेखि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको विषयमा सरकारमा रहेका प्रमुख नेताहरूको आलोचना गर्नुभएको छ । रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिएको कारण गभर्नर नियुक्तिमा चलखेल भएको विचार उहाँले राख्नुभएको छ । सरकार भने यस्ता नियुक्तिहरू समयसीमा कटिसक्दा पनि गर्न सकिरहेको छैन ।
उता महामन्त्री गगन थापा कुनै निर्णयको भारीले कांग्रेसलाई लखेट्ने अवस्था नआओस् भनिरहनुभएको छ । वर्तमान सरकारको गठबन्धनको सबैभन्दा बढी आलोचना गर्ने नेतामा उहाँ पर्नुहुन्छ । प्रश्न कुन नेताले के भन्नुभयो भन्ने होइन, उहाँहरूको भनाइलाई गर्नुपर्छ भन्नेमात्र हो तर प्रश्न के हो भने जो सत्तामा गए पनि नेपाली जनताको भनाइमा तिनले काम गर्नुपर्छ । सरकारले देश र जनतालाई सर्वोपरी मान्नुपर्छ । राष्ट्र र राष्ट्रियतालाई सबल बनाउने प्रयत्न गर्नुपर्छ । विदेशसँगको सम्बन्ध सुदृढ बनाउने, सौहाद्र्रपूर्ण सम्बन्ध स्थापित गर्ने, देशको विकासलाई प्राथमिकता दिने, विवादास्पद विषयमा हतारमा प्रतिक्रिया दिने जस्ता कार्य सरकारले गर्नुहुँदैन । सरकारमा बसेका मन्त्रीहरूका विवादास्पद अभिव्यक्तिले पनि सरकारलाई अप्ठ्यारो पर्न सक्छ ।
अर्को महत्वपूर्ण कुरा के हो भने नेतृत्वमा रहेका नेताहरू आर्थिक अनियमितताको जञ्जालबाट टाढा रहन सक्नुपर्छ । सरकारमा जानुभनेको घुस खानका लागि हो, भ्रष्टाचार र अनियमितता गरेर कुस्त कमाउनका लागि हो भन्ने व्याप्त आमभावनालाई गलत प्रमाणित गर्न सक्नुपर्छ । सरकारमा जानका लागि च्याँखे दाउ थापेर बस्ने, जसरी भए पनि त्यहाँ पुग्ने र कमाउने भन्ने भावना त्यागेर पवित्र मनले काम गर्नु आफ्नो जिम्मेवारी हो भन्ने सबैले सोच्न सक्नुपर्छ । यस प्रकारको भावना लिनसक्ने हो र राजनीति भनेको व्यापार, पेशा वा व्यवसाय हो भन्ने मान्यता त्यागेर यो त समाजसेवी काम हो भन्ने भावना विकास गर्नसक्ने हो भने सत्तासमीकरण हुनु र नहुनुमा तात्विक भिन्नता रहनेछैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच