
औषधीय प्रयोग, मनोरञ्जन र अन्य कामका लागि विश्वमा शताब्दीऔं अघिदेखि गाजा खेती प्रयोगमा ल्याइएको बोध हुन्छ । पछि यसलाई नशालु पदार्थको रूपमा अंगीकार गरी केही देशहरूमा प्रतिबन्ध लगाइयो । पछिल्ला वषरुमा विश्वका धेरै देशमा गाँजाको उत्पादन, विक्रीवितरण र प्रयोगलाई खुल्ला गरिएको छ । केही देशहरूले मनोरञ्जनसहित विभिन्न प्रयोजनका लागि खुल्ला गरेका छन् भने केहीले चिकित्सकीय र निकासीका लागि खुल्ला गरेका छन् । उदाहरणका लागि पोर्चुगल, जर्मनी, लक्जेमवर्ग, नेदरल्याण्डस्, माल्टा र स्पेनमा गाँजा विभिन्न प्रयोजनका लागि खुल्ला गरिएको छ भने बेलायत, फ्रान्स, इटाली, पोल्याण्ड, ग्रिस, नर्वे, डेनमार्क आदि देशहरूमा चिकित्सकीय प्रयोजनको लागि मात्र खुल्ला गरिएको छ । संयुक्त राज्य अमेरिकाको संघीय सरकारले गाँजालाई पूर्णरूपमा खुल्ला गर्ने नीति नलिए तापनि यहाँको धेरैजसो राज्यहरूमा गाँजालाई मनोरञ्जनात्मक तथा चिकित्सकीय प्रयोगको लागि खुला गरिएको छ ।
वर्तमानमा अमेरिकाका धेरै राज्यमा गाँजा खेतीबाट धेरै फाइदा भएको छ । यी राज्यका सरकारले गाँजाबाट धेरै कर संकलन गरी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास जस्ता क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न सफल भएका छन् । सांस्कृतिक र चिकित्सकीय दृष्टिकोणबाट गाँजा उपयोगी मानिन्छ । त्यसैले नेपालमा सदियौंदेखि यसका खेती वैध थियो । परन्तु, विसं २०३० को दशकमा सरकारले कानुन बनाई यसको खेतीलाई अवैध घोषणा गर्यो । त्यसपछि यसको उत्पादन, प्रयोग र व्यापार घट्न थाल्यो । बदलिँदो परिवेशमा सन् २०२० मा संयुक्त राष्ट्रसंघले गाँजाको प्रतिबन्धलाई खुकुलो पारेपछि गाँजासम्बन्धी बहस चर्चामा आएको छ । संयुक्त राष्ट्रसंघमा गाँजाको पक्ष तथा विपक्षमा मतदान गर्दा नेपाल यसको पक्षमा मतदान गरेको थियो ।
२०७५ फागुनमा नेपालको संसद्मा पहिलो पटक गाँजालाई वैधानिक बनाउन सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४६ सांसदले उक्त प्रस्ताव संसद्मा दर्ता गराएका थिए तर उक्त प्रस्ताव अलपत्र पर्यो । बजेटमा गाँजा खेतीबारे सम्बोधन गरिन्छ तर कानुनी जटिलताको कारण यो वैध हुनसकेको छैन ।
विसं २०७५ फागुनमा नेपालको संसद्मा पहिलो पटक गाँजालाई वैधानिक बनाउन सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको थियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४६ सांसदले उक्त प्रस्ताव संसद्मा दर्ता गराएका थिए तर उक्त प्रस्ताव अलपत्र प¥यो । पछिल्ला केही वर्षयताको नेपालको बजेटमा गाँजा खेतीबारे सम्बोधन गरिए तापनि कानुनी जटिलताको कारण उक्त खेती वैध हुन सकेको छैन । तसर्थ, यसको उत्पादन, उपयोग र बजारीकरण अवैध मानिन्छ । गाँजाको पात, फूल र रेशाबाट धेरै आर्थिक लाभ प्राप्त गर्न सकिन्छ । हाल पनि नेपालबाट हेम्पबाट बनेका सामान निर्यात गरिन्छ ।
यी सामानहरू तयार गर्ने दर्जनौं संस्था रहेका छन् । तर, यहाँ गाँजा खेती गर्नु अवैधानिक भएकोले यी संस्थाहरूले कच्चा पदार्थका लागि चीन तथा अन्य देशहरूमाथि भर पर्नुपरेकाले बेलाबेलामा समस्या भोग्नुपरेको छ । वस्तुतः गाँजाको रेशाबाट बनाइएको कपडा अन्य कपडाभन्दा महँगो हुन्छ । परन्तु, यो कपडा धेरै टिक्ने हुनाले मागनुरूप वितरण गर्न सकिएको छैन । केही विकसित देशहरूको अनुभवबाट गाँजा खेतीबाट प्रशस्त आम्दानी गर्न सकिने कुरा प्रष्ट भएको छ । तसर्थ, नेपाल सरकारले पनि आवश्यक कानुनी व्यवस्था मिलाई उक्त खेतीमा लगाएको प्रतिबन्ध फुकाउने भएको छ । परन्तु, यससम्बन्धी काम अझसम्म पनि अगाडि बढाउन सकिएको छैन ।
संसदीय समितिले गाँजा खेतीसम्बन्धी ऐन बनाउने भनिए पनि सरकारले हालसम्म पनि यसको मस्यौदा बनाउने काम तीव्र रूपले अगाडि बढाउन सकेको छैन । यद्यपि, संसद्मा गैरसरकारी विधेयकको दर्ता गरिएको छ । वास्तवमा उक्त खेतीबाट यथाशीघ्र फाइदा प्राप्त गर्न वर्तमान सरकारको विशेष चासोको खाँचो छ । नेपालमा गाँजाको प्रतिबन्ध लगाउनु अघि यहाँको आर्थिक लाभको लागि यसको प्रयोग गरिन्थ्यो । हाल ग्रामीण क्षेत्रमा यसबाट कपडा, झोलालगायत अन्य वस्तु उत्पादन गरी आयआर्जन गरिन्छ । वस्तुतः गाजाका विभिन्न प्रजाति हुन्छन् । जसमध्ये केहीमात्र नशालु हुन्छन् । विशेषतः आयुर्वेदिक औषधीहरूमा यसको प्रयोग प्रचुर मात्रामा गरिन्छ । नेपालमा पनि आयुर्वेदिक औषधीहरूमा यसको प्रयोग गरिन्छ ।
गाँजाबाट तेल उत्पादन गरिन्छ । जुन महँगो हुन्छ । यो हाड जोर्नी दुःखेका बेला प्रयोग गरिन्छ । गाँजा खेतीबाट धेरै आर्थिक लाभ प्राप्त गर्न सकिन्छ । तसर्थ, आजकाल विश्वका धेरै देशहरूमा यसको खेती गर्न प्रश्रय दिन थालिएको छ । कुनै समय गाँजा खेतीको प्रतिबन्ध लगाउन अग्रसर संयुक्त राज्य अमेरिका हाल यसको प्रतिबन्ध हटाई आर्थिक लाभ गर्न सफल भएको छ । यसै गरी, क्यानडाले पनि यसको खेतीबाट केही आम्दानी गर्न थालेको छ । नेपालमा यससम्बन्धी मनन गर्दा यहाँ धेरै वर्ष अघिदेखि गाँजा खेती गरेको बोध हुन्छ । त्यसै बेलादेखि नै काठमाडौंस्थित सिंहदरबार वैद्यखानामा उत्पादित आयुर्वेदिक औषधिमा प्रयोग गरिएको पाइन्छ ।
यतिमात्र नभई काठमाडौंको ठमेल र झोछेंमा अवस्थित होटल, गेष्ट हाउस, लज र रेष्टुराँहरूमा गाँजाका विभिन्न परिकार तयार गरी विदेशी पर्यटकहरू आकृष्ट गरिन्थ्यो । यसको केही वर्षपछि मात्र यहाँ गाँजाको खेती एवं प्रयोग गर्न गैरकानुनी मान्न थालियो । वास्तवमा लागु औषधिसम्बन्धी विश्वव्यापी सन्धिलाई नेपालले समर्थन गरेपछि यहाँका ग्रामीण क्षेत्रमा गरिँदै आएको गाँजा खेतीलाई गैरकानुनी मान्न थालियो । नेपालमा गाँजालाई लागू पदार्थको रूपमा वर्गीकरण गरिएकोले यहाँ खेती गर्न निषेध गरिएको हो । यद्यपि, यहाँका केही ग्रामीण क्षेत्रमा हालसम्म यसको खेती लुकिछिपी गरिन्छ । जुन कुरा प्रहरीहरूले उक्त क्षेत्रमा उक्त बाली बेलाबेलामा नष्ट गरेको खबरबाट प्रष्ट हुन्छ ।
वस्तुतः लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ (१) अनुसार नेपालको पश्चिमी पहाडी भेगमा प्राकृतिक रूपमा आफैं उम्रने गाँजाको बोटबाट तोकिएको अवधिसम्मका लागि चरेस उत्पादन, संकलन, सञ्चित गर्ने र खरिदबिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियम बनाई उपयुक्त व्यवस्था गर्न सक्नेछ । जसअनुसार अनुमति प्राप्त गरी कसैले कुनै काम गर्दा उक्त दफाअन्तर्गत अपराध गरेको मानिने छैन । यसबाट गाँजासम्बन्धी अनुसन्धानमा सघाउ पुग्नेछ । यसैलाई आधार मानी हालसालै गृहमन्त्रालयले तत्काल अध्ययन अनुसन्धानका लागि मन्त्रिपरिषद्बाट निर्णय गरी गाँजा खेतीसम्बन्धी नियम बनाउने भएको छ । जसलाई आधार मानेर उक्त खेतीसम्बन्धी अनुसन्धान कार्य गर्ने भएको छ । गाँजाको औषधीजन्य प्रयोगका लागि गर्नुपर्ने अनुसन्धानका लागि नियम तथा नियमावली बनाई अगाडि बढ्न गृहमन्त्रालयले अवरोध गर्नेछैन । यसबाट पनि गाँजाको औषधीय प्रयोगसम्बन्धी अनुसन्धानमा टेवा पुग्नेछ ।
यथार्थतः ४० देखि ८ हजार ८ सय ४८ मिटर उचाइमा अवस्थित नेपालमा विद्यमान हावापानीमा विभिन्न किसिमका खेती गर्न सकिन्छ । यहाँ उपयुक्त कानुनी व्यवस्था गरी गाँजा खेती गरिएमा भष्यिमा निकै नै आर्थिक लाभ प्राप्त गर्न सकिनेछ । वर्तमानमा नेपालका धेरै व्यक्तिले गाँजाखेतीलाई वैधानिकता प्रदान गर्न माग गरेका छन् भने थोरैले मात्र यसको विरोध गरेका छन् । परन्तु, यहाँको नीति अनुसन्धान प्रतिष्ठानले उक्त खेतीलाई नियन्त्रित वैद्यता दिन सरकारलाई सिफारिश गरेको छ । जुन निःसन्देह स्वागतयोग्य छ ।
नेपालमा आजसम्म पनि गाँजा खेतीलाई वैध मान्ने÷नमान्ने भन्ने बारेमा निष्कर्षमा पुग्न सकिएको छैन । वास्तवमा यहाँ उक्त खेतीलाई वैध मानी इच्छुक किसानहरूलाई खेती गर्न प्रोत्साहित गरेमा एकतर्फ यहाँ रोजगारीका अवसर प्राप्त हुनेछन् भने अर्कोतर्फ यहाँको अर्थतन्त्र सुदृढीकरणका लागि पनि केही सघाउ पुग्नेछ ।
गाँजा खेतीबाट हानिभन्दा लाभ बढी हुने भएकाले यसको खेतीमा प्रतिबन्ध हटाई औषधीय प्रयोगको लागि बाटो खुलाउन आवश्यक भएकाले उक्त प्रतिष्ठानले वर्तमान सरकारलाई सकारात्मक सुझाव दिएको छ । अतः यसलाई यथाशीघ्र व्यवहारमा उतार्न जरुरी भएकोले सम्बन्धित पक्षको ध्यानाकृष्ट हुनुपरेको छ । नेपालमा प्रत्येक वर्ष झण्डै पाँच लाख युवाहरू श्रम बजारका लागि तयार हुन्छन् तर यिनीहरूमध्ये थोरैले मात्र यहाँ रोजगारी पाउँछन् । बाँकी सबै रोजगारीका लागि विदेश जान बाध्य छन् । वस्तुतः यहाँ रोजगारीको मुख्य क्षेत्र कृषि हो । परन्तु, हालसम्म पनि यस क्षेत्रमा आवश्यक रोजगारीको व्यवस्था गर्न सकिएको छैन । बरू उपयुक्त समयमा मलजलको कमी, बढ्दो दैवीप्रकोप आदिको कारण यस क्षेत्रमा युवाहरूको आकर्षण घट्दो क्रममा छ ।
धेरै वर्षअघिदेखि यहाँका केही जिल्लाहरूमा घरेलु तथा साना उद्योग सञ्चालनमा आए पनि बेलाबेलामा कच्चा पदार्थ तथा बजारको अभावको कारण सुचारु गर्न कठिन भएकाले यहाँका युवाहरूको ध्यानाकृष्ट हुनसकेको छैन । तत्कालीन सरकारले यहाँका बीस लाख युवाहरूलाई स्वदेशमै रोजगारी दिन श्रम बैंकको अवधारणामा सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रममा जम्मा एक लाख असी हजार युवालाई रोजगारी दिइएको कुरा प्रकाशमा आए पनि उनीहरूले औसतमा साढे बाह्र दिनमात्र रोजगारी पाएका थिए ।
वास्तवमा गाँजा खेती जस्तोसुकै जग्गामा पनि गर्न सकिन्छ । त्यसकारण, यहाँका झण्डै सात प्रतिशत जग्गा बाँझो रहेकाले उक्त जग्गामा गाँजा खेती गरिएमा भविष्यमा एकातर्फ यहाँको केही युवाहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिन्छ भने अर्कोतर्फ उक्त खेतीबाट यहाँको अर्थतन्त्रमा पनि केही योगदान पुग्नेछ । परन्तु, यसका लागि सम्बन्धित पक्षको प्रतिबद्धताको आवश्कयता छ । केही वर्षयता रुस-युक्रेन र मध्यपूर्वमा जारी युद्ध र केही मुलुकहरूले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धको कारण विशेषतः इन्धन र खाद्यवस्तुहरूको मूल्यमा उतारचढाव आइरहेको छ । यसको फलस्वरूप पेट्रोलियम, औद्योगिक कच्चा पदार्थ र खाद्यवस्तुहरूको मूल्यमा वृद्धि भई विश्वकै व्यापार गतिविधि एवं पुँजी प्रवाह प्रभावित भएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२४ मा विश्वको अर्थतन्त्रको वृद्धिदर ३ दशमलव २ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०२३ मा विकसित देशहरूको आर्थिक वृद्धिदर १ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो भने सन् २०२८ १ दशमलव ७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । यसैगरी, सन् २०२३ मा ४ दशमलव ३ प्रतिशतले वृद्धि भएको उदीयमान तथा विकासशील देशहरूको अर्थतन्त्र सन् २०२४ मा ४ दशमलव २ प्रतिशतले वृद्धि हुने उक्त कोषको प्रक्षेपण छ । विश्व अर्थतन्त्रमा विद्यमान परिवर्तनको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपाली अर्थतन्त्रमा पनि प्रभाव परेको छ । भविष्यमा यहाँको आर्थिक सुधारका लागि गाँजा खेतीले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
काँडा नभएको गुलाफ हुँदैन भने जस्तै जुनसुकै खेतीको पनि केही न केही गुण तथा अवगुण दुवै हुन्छन् । यसैगरी, गाँजा खेतीको पनि गुण तथा अवगुण दुवै हुन्छन् तर उक्त खेतीको सदुपयोग गर्न सके कुनै पनि देशको अर्थतन्त्र सबलीकरणका लागि केही योगदान प्राप्त हुने कुरा केही विकसित देशहरूको अनुभवबाट ज्ञात भएको छ । नेपालमा आजसम्म पनि गाँजा खेतीलाई वैध मान्ने वा नमान्ने भन्ने बारेमा निष्कर्षमा पुग्न सकिएको छैन । वास्तवमा यहाँ उक्त खेतीलाई वैध मानी इच्छुक किसानलाई खेती गर्न प्रोत्साहित गरेमा एकतर्फ यहाँ रोजगारीका अवसर प्राप्त हुनेछन् भने अर्कोतर्फ यहाँको अर्थतन्त्र सुदृढीकरणका लागि केही सघाउ पुग्नेछ । त्यसैले यस सम्बन्धमा सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनुपरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच