
भक्तपुर। स्थापना भएको एक सय बीस वर्षपछि भक्तपुर अस्पतालले पहिलोपटक अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरेको छ। आइतबारदेखि सेवा औपचारिक रूपमा सुरु भएसँगै राजधानी धाउनु परिरहने भक्तपुरबासीको बाध्यता अन्त्य भएको छ।
वीर अस्पतालपछि स्थापना भएको देशको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिएको भक्तपुर अस्पतालमा बागमती प्रदेश सरकारको आठ करोड रुपैयाँको बजेटमा खरिद गरिएको १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याइएको हो।
सेवाको औपचारिक शुभारम्भका लागि अस्पताल गेटमा निर्माण गरिएको अस्थायी एकतले भवनमार्फत बिरामीलाई सेवा दिन थालिएको छ। उद्घाटन कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले अबका दिनमा सेवा प्रवाहलाई गुणस्तरीय बनाउन कुनै कसर नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनु भयो। “सुविधासम्पन्न सेवा सुनिश्चित गर्न आवश्यक सम्पूर्ण जनशक्ति र उपकरणको व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध छ,” मन्त्री थापाले भन्नु भयो, “ढुक्क भएर बिरामीको सेवा गर्नुहोस्।”
स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुमित्रा गौतमले रु आठ करोडको लागतमा जडान गरिएको मेसिन १० वर्षसम्म मर्मतको जिम्मा आपूर्तिकर्ता कम्पनीले लिने सम्झौता अनुसार सञ्चालनमा आएको जानकारी दिनु भयो। “मेसिनसँगै एक करोड दस लाख रुपैयाँ बराबरको मेमोग्राम मेसिन पनि सञ्चालनमा ल्याइएको छ,” डा गौतमले भन्नुभयो,“स्तन क्यान्सरको पहिचान तथा स्क्रिनिङमा यो सेवा उपयोगी हुनेछ।”
प्रदेश सांसद सुरेश श्रेष्ठले आमनागरिकले गुणस्तरीय सेवा पाउने अधिकार सुनिश्चित गर्न अस्पतालका चिकित्सक र कर्मचारीहरूलाई सेवामा दत्तचित्त भएर खटिन आग्रह गर्नु भयो । “भक्तपुरको स्वास्थ्य सेवा क्षेत्रलाई प्रदेशकै नमुना बनाउन हामी सबै मिलेर लाग्नुपर्छ,” उहाँले भन्नुभयो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशीजंग थापाले भक्तपुर अस्पतालको ऐतिहासिक पृष्ठभूमिलाई स्मरण गर्दै अब सेवा प्रवाहमा गुणस्तर र सहजता सुनिश्चित गर्न सबै पक्ष लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेश पूर्वमुख्यमन्त्रीका सल्लाहकार डिपी ढकालले भक्तपुर अस्पतालसँगको आफ्नो आत्मीय सम्बन्ध उल्लेख गर्दै विकासका प्रत्येक चरणमा साथ दिन प्रतिबद्धता जनाउनु भयो । “यो अस्पताल मेरो सालनालको सम्बन्ध भएको ठाउँ हो,” ढकालले भन्नू भयो , “मैले यहीं जन्म लिएँ, त्यसैले यसको हरेक पीडा, अपहेलना र प्रगति म आफ्नै भावनासँग गाँसिएको महसुस गर्छु।”
ढकालले विगतमा उपेक्षा र सुविधाको अभावले थला परेको अस्पतालमा अहिलेको सेवा विस्तारलाई ऐतिहासिक मोडको रूपमा चित्रण गर्नु भयो । “कुनै बेला रिफर सेन्टरको रूपमा चिनिएको यो अस्पताल अहिले अत्याधुनिक सेवा सहितको केन्द्र बन्दैछ,” उहाले थप्नु भयो , “अब हामीले यो अवसर गुमाउनु हुँदैन।”
उहाँले स्वास्थ्य पूर्वाधार, उपकरण, दक्ष जनशक्ति र व्यवस्थापनमा प्रदेश सरकार, नगरपालिका र स्थानीय समुदायबीचको समन्वय अझै मजबुत बनाउनुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्वले नगरपालिकाको सकारात्मक भूमिकाले अस्पतालमा सेवा सुधार आएको बताउनु थियो।
भक्तपुर अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सेवा सुरु भएपछि जिल्लाबासीका लागि सुविधा र सहजताको नयाँ युग सुरु भएको बताउनु भयो । “अब राजधानीका महँगा अस्पतालहरू धाउनु पर्ने अवस्था अन्त्य भएको छ,” उहाले भन्नु भयो , “यही अस्पतालबाटै गुणस्तरीय र पहुँचयोग्य सेवा प्रदान गरिनेछ।”
अस्पताल प्रशासनका अनुसार सिटी स्क्यान सेवा सुरु भएसँगै दैनिक १२०० भन्दा बढी बिरामीले सेवा लिन थालेका छन्। अस्पतालमा हालै तयार पारिएको १० शय्याको डायलिसिस कक्ष समेत सञ्चालनको तयारीमा रहेको छ। डायलिसिस सेवा सुरु गर्न केन्द्र सरकारसँग आवश्यक मेसिनको अपेक्षा गरिएको छ।
पूर्व प्रधानमन्त्री चन्द्रशमशेर जबरा द्वारा चन्द्रालोक डिस्पेन्सरीका रूपमा स्थापना भएको यो अस्पताल लामो समयसम्म रिफर सेन्टरको रूपमा मात्र सीमित थियो। जनगुनासो, संसाधनको अभाव र उपेक्षाका कारण विकासमा पछि परेको यो संस्था अहिले आधुनिक उपकरण, दक्ष जनशक्ति र प्रविधिमार्फत प्रदेशमै नमुना बन्ने दिशातर्फ उन्मुख भएको देखिन्छ।
भक्तपुर अस्पतालले आइतबार सिटी स्क्यान सेवा सुरु गर्दै आफ्नो परिचयमा नयाँ अध्याय थपेको छ। यो सेवा सुरु हुनु स्वास्थ्य सेवा विस्तार, पहुँच सुधार र गुणस्तर अभिवृद्धिको ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच